Logo
Logo

विपक्षी गठबन्धनको ड्राफ्ट तयार, देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग


दृष्टि संवाददाता


काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै ‘प्रधानमन्त्री घोषणा’ गर्न परमादेश माग गर्दै रिटको ‘ड्राफ्ट’ तयार पारेका छन् ।

अहिले गठबन्धनका नेताहरुको हस्ताक्षर संकलन सिंहदरबारमा भइरहेको छ । अहिलेसम्म ११० जना सांसदले हस्ताक्षर गरिसकेको कांग्रेस नेता तथा अधिवक्ता रमेश लेखकले बताए । उनका अनुसार कांग्रेसका ६१ र माओवादीका ४९ सांसदको हस्ताक्षर भइसकेको छ ।

हस्ताक्षर संकलन भइसकेपछि आजै सर्वोच्च जाने तयारी भइरहेको उनले बताए । सर्वोच्च अदालतले बहुमत सांसदको आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्दै संसद विघटन खारेज गर्नुपर्ने आफूहरुको माग रहेको उनको भनाइ छ ।

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले देउवाको दावी खारेज गरेकाले अदालतबाट देउवालाई प्रधानमन्त्री घोषणा गरी सपथग्रहणको बाटो खुल्ला गर्नुपर्ने गठबन्धनका नेताहरुको भाग छ ।

दलहरुको आन्तरिक तयारीपछि नयाँ बानेश्वरको संसद भवनमा सबै सांसदहरुलाई बोलाएर रिटमा हस्ताक्षर गराइने लेखकले बताए । एमालेको माधव नेपाल पक्षका केही सांसद बानेश्वरमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्