Logo

…ओके ओके भन्दाभन्दै जापानीको नामै ओकेबाजे बन्यो


गोविन्द भट्टराई/पाल्पा


विशेषतः शुरुमा पाल्पाको पूर्वी भेगका ग्रामीण वस्तीमा ओके बाजेको सहयोगमा सरकारी स्कुलका कक्षा कोठा तथा भवन निर्माण भएका छन् । विद्यालय, क्लब, आमा समूह, स्वास्थ्य संस्था, सञ्चार संस्थाका तर्फबाट दोसल्ला ओढाएर सम्मान गरेका छन् । ७९ वर्षे काकिमीलाई पाल्पालीले ‘ओके बाजे’ भनेर चिन्ने गर्छन् । पाल्पा र नवलपरासीको केही भागमा समेत उनले विगत २५ वर्ष यता शैक्षिक र सामाजिक विकासका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । पाल्पाका विभिन्न गाउँमा विद्यालयहरुको भवन निर्माण, क्लबहरुको भवन निर्माण, खानेपानीका टंकी, सिंचाइका लागि कुलो निर्माण, झोलुङ्गे पुल निर्माण, गरीव तथा विपन्न समुदायका बालवालिकाको शैक्षिक विकास र जिल्लाको स्वास्थ्य क्षेत्रको विकास तथा विपन्न नागरिक उपचारको लागि ‘ओके बाजे’ ले आर्थिक सहयोग गर्दै आएको मूल समारोह समितिका कोषाध्यक्ष तथा गणपति माबिका प्रधानाध्यापक बिष्णु पल्ली मगरले दृष्टिलाई बताए ।

तानसेन, पूर्वी पाल्पा र नवलपरासीको दुर्गम भेगमा समाजसेवामा २५ वर्ष बिताएका जापानी नागरिक काजुमासा काकीमी अर्थात ‘ओके बाजे’ लाई तानसेनमा फागुन ३० गते भव्य समारोहबीच नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन मूल आयोजक समितिका तर्फबाट प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही र समितिका अध्यक्ष सुन्दरप्रसाद श्रेष्ठले सम्मानपत्र, दोसल्लाले ओके बाजेलाई सम्मान गरे । मूल समिति बाहेक करीव २ सय संघसंस्थाले जापानी नागरिक काकीमी ‘ओके बाजे’ लाई सम्मान एवम् अभिनन्दन गरेको समितिकी सदस्य बशुन्धरा केसीले बताइन् ।

सन् १९३९ मा जापानको टोकियोमा जन्मिएर जापानको बासोदा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण काजुमासा काकिमीले टोकियोमै शिक्षकको रुपमा उच्च माविमा २३ वर्ष अध्यापन गरेका थिए । उनले अवकासपछि पदयात्री पर्यटकको रुपमा शुरुमा नेपालमा आए । पछि पाल्पा ढोलीमाराका तिलक आलेसँग पूर्वी पाल्पा पुगेर २०५० सालबाट पाल्पामा बस्न थालेका हुन् । गरिबी, अशिक्षा र चेतनास्तरको कमीका कारण गाउँमा अधिकांश वालबालिका विद्यालय नजाने, सरसफाईमा ध्यान नदिने गरेको देखेपछि ‘ओके बाजे’ यही बसेर समाजसेवा गर्दै आएको साठीकोहलका दानबहादुर ठाडाले बताए । उनले जनताको दुःखका बेला जस्तो सुकै प्रस्ताव राखेपनि ‘ओके’ ‘ओके’ भन्ने भएकोले पाल्पालीहरुले नै उनको नेपाली नाम ‘ओके बाजे’ राखेपछि अचेल जापानमा समेत उनी ओकेबाजीकै नामबाट परिचित हुँदै गएको अभिनन्दन समारोहमा आएकी हिरोकी दिदीले बताइन् ।

उनको सहयोगमा अहिले पाल्पा जिल्लाका २ सय ५० भन्दा बढी विद्यालयहरुमा कक्षा कोठा र कतिपयको पक्की भवन बनेका छन् । आय आर्जनका लागि बाजेले आमा समूह, क्लवलाई बीउ पूँजी समेत उपलव्ध गराएका छन् । बालक्लवहरुले उनको सहयोगमा क्लवको भवन बनाई रचनात्मक काम गर्दै आएका छन् । आर्थिक अभावले पढ्न नपाएका बालबालिकाहरुले समेत ‘ओके बाजे’ कै सहयोगमा उच्च शिक्षा हासिल गरेका तथा गरिव तथा विपन्न समुदायका ब्यक्तिहरुले सहज रुपमा स्वास्थ्य सुविधा लिएको मुल आयोजक समितिका संयोजक सुन्दरप्रसाद श्रेष्ठले बताए । तानसेन मिसन अस्पतालमा बाजेले धेरैपटक उपचारका लागि बिरामी पठाएर बिरामीको खर्च समेत तिरिदिएको अस्पतालकी निर्देशक डा रचेल कारखले बताइन् ।

उनको अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरप्रमुख अशोककुमार शाहीले सम्मानस्वरुप तानसेन नगरको साँचो र हाम्रो तानसेन नामक प्रकाशन हस्तान्तरण गरे । बाजेसँगै नगरपरिक्रमा पश्चात बाजेलाई सम्मान गर्दै मेयर शाहीले काजुमासा काकिमीले निस्वार्थ रुपमा २५ वषदेखि नेपाल र नेपालीको सेवा गरेकाले नेपाल सरकारले उनलाई मानार्थ नेपाली नागरिकता दिनुपर्ने बताउँदै त्यसको लागि आवश्यक प्रक्रियामा सहयोग गर्न आफू तयार रहेको बताए । जापानको टोकियो शहरका करीव १ सय जापानीहरु समेत तानसेन र ग्रामीण भेगमा उनले गरेको काम हेर्न आइपुगेका थिए । अभिनन्दनका क्रममा संघसंस्था तथा सर्वसाधारणहरुले ‘ओके बाजे’ को कामको प्रशंसा गरेका थिए । अभिनन्दन कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले जापानमा जन्मेर ओकेबाजीले पाल्पालीको शैक्षिक र सामाजिक विकासका लागि महत्वपूर्ण योगदान गरेको समेत बताए । नेकपा नेता ठाकुर गैरेले आवासीय भिसा पाइसकेकाले अब उनलाई मानार्थ नागरिकता दिलाउनेतर्फ सबैको सहयोग आवश्यक रहेको बताए । नेता गैरेकै पहलमा ‘ओके बाजे’ ले नेपाल सरकारबाट आवासीय भिसा पाएको सुन्दरप्रसाद श्रेष्ठले बताए । समितिका सचिव देवराज देवकोटाले रामपुरमा बाजेको ८४ पूजा गरिने बताए । समारोहमा बरिष्ठ पत्रकार मेघराज शर्मा, नेकपाका नेता धनेन्द्र राज घिमिरे, नेपाली कांग्रेसका सचिव झपेन्द्र गहिरे, राप्रपाका नेता डुलबहादुर कुँवर लगायतले जापानी नागरिकको समाजसेवाबाट पाल्पाली जनताले ठूलो सहयोग पाएको बताए । ‘ओके बाजे’ को सम्मानमा गाउँलेहरु आउन नपाएको गुनासो गरेका थिए । बन्दका क्रममा केही जापानी जल्पा, जव्गादी लगायतका स्थानबाट घण्टौँ हिँडेर आउनु परेको थियो । ‘ओके बाजे’ को काम र उनका अनुभवहरुलाई समेटेर तयार पारेको ‘पाल्पालीका प्यारा काजुमासा काकिमी अर्थात् ओकेबाजे’ (संक्षिप्त शव्दचित्र, लेखक सुन्दर श्रेष्ठ, सम्पादक गोविन्द भट्टराई) नामक पुस्तकको बिमोचन गरियो । ५ वर्ष अघि पनि पाल्पाको रामपुरमा ओके वाजेलाई नागरिक अभिनन्दन गरिएको थियो ।

पाल्पा जिल्लामा बसेर ग्रामिण विपन्न, जनताको लागि शिक्षा, स्वास्थ्य क्षेत्रमा ५० करोड बढी लगानी गरिसकेका छन् । पढ्न नसक्नेलाई पढ्न पठाउने, घरमा खान छैन भने खान दिने, आवश्यकता अनुसार सहयोग गर्ने वानी उहाँको छ । ७ सय बढी चर्पी बनाउन सहयोग गरेका छन् । मासिक सयदेखि दुईहजारसम्म छात्रवृत्रि प्रदान गर्ने विद्यार्थी १ सय ५० बढी छन् । उनको सहयोगमा पढेका विद्यार्थी डाक्टर समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्