प्रेम प्रस्ताव आएको थाहै हुन्न : सब्बु गुरुङ, थिएटर आर्टिस्ट « Drishti News – Nepalese News Portal
Logo

प्रेम प्रस्ताव आएको थाहै हुन्न : सब्बु गुरुङ, थिएटर आर्टिस्ट


दृष्टि संवाददाता


पोखराकी सब्बु गुरुङ सानैदेखि फिल्म क्षेत्रमा रुचि राख्थिन् । तर, अहिले उनी रंगमञ्चमा रमाइरहेकी छन् । बरिष्ठ रंगकर्मी सुनिल पोखरेलसँग नाटक अभिनय सिकेपछि सब्बु रंगमञ्चमा रमाउन थालेकी हुन् । ‘रंगमञ्चकै बेग्लै दुनियाँ छ’ विभिन्न चार नाटकमा अभिनय गरेकी २३ वर्षीया सब्बुले भनिन्, ‘अहिले त नाटकमै रस बिझ्यो, यही रमाइलो लागिरहेको छ ।’ सुनिल पोखरेलकै ‘हरियो ढुंगा’, ‘अर्को अर्थ नलागेमा’ जस्ता नाटकहरुमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी सब्बु नाटकलाई जीवनसँग तुलना गर्छिन् । उनी भन्छिन्, ‘नाटक भनेकै जीवन हो । हामी रंगकर्मीले अर्काको जीवन बाँच्ने हो ।’ आफूले सोचेजस्तो कथावस्तु र स्क्रिप्ट पाए फिल्ममा समेत अभिनय गर्ने सब्बुको इच्छा छ । उनै थिएटर आर्टिस्ट सब्बु गुरुङसँग दृष्टिको जम्काभेट :

हिजोआज दिन कसरी बिताउँदै हुनुहुन्छ ?

निषेधाज्ञाले गर्दा बाहिर निस्किने अवस्था छैन । त्यसैले अहिले फिल्महरु हेर्छु । अन्तर्वार्ताहरु पनि हेर्ने पढ्ने गरेकी छु । तीबाहेक नेपाली र अंग्रेजी पुस्तकहरु पढिरेहकी छु ।

कस्तो किसिमको पुस्तकहरु पढ्नुहुन्छ ?

म धेरैजसो जीवनीहरु पढ्छु । चर्चित र प्रतिष्ठित व्यक्तिहरुको जीवनी पढ्दा आनन्द आउँछ ।

थिएटर क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?

तीन वर्ष भयो । मैले सुनिल पोखरेलको थिएटरमा अभिनय सिकेकी हुँ । अहिले त उहाँको गुरुकुल छैन । गुरुकुल नभएपछि उहाँले अहिले थिएटरको नाम ‘ज्ञ’ राख्नुभएको छ ।

रंगमञ्चमा कसरी लाग्नुभयो ?

मलाई सानैदेखि फिल्म क्षेत्रमा रुचि थियो । तर, फिल्म क्षेत्रमा नभएर रंगमञ्चबाट अभिनय सुरु गरेँ । अहिले त मलाई रंगमञ्च नै रमाइलो लाग्न थालेको । रंगमञ्चको बेग्लै दुनियाँ छ ।

अहिलेसम्म कति वटा नाटकमा काम गर्नुभयो ?

चार वटा नाटक गरेकी छु । मैले पहिलो पटक सुनिल पोखरेलकै ‘हरियो ढुंगा’ नाटकमा अभिनय गरेँ । त्यसपछि भारतको नेशनल स्कुल अफ ड्रामा ‘एनएसडी)को ‘दय माया’ नाटकमा काम गरेँ । उक्त नाटकमा कुनै समय भारत र वर्माबाट नेपालीहरुलाई खेदाएको विषयलाई उतारिएको छ । त्यसपछि ‘अर्को अर्थ नलागेमा’ नाटकमा अभिनय गरेँ । त्यसमा चाहिँ नेपालको राजनीति व्यवस्थालाई ब्यंग्य गरिएको छ ।

नाटकमै रमाउने हो कि फिल्म क्षेत्रमा लाग्ने सोच छ ?

यो प्रश्न आउनेवित्तिकै सिनियर थिएटर आर्टिस्टहरुले भनेको कुरा याद आउँछ । उहाँहरुले थिएटरमा मात्र अल्झिएर हुन्न भन्नुहुन्छ । हुन पनि रंगमञ्चमा फिल्ममा जस्तो चर्चा हुँदैन । थुपै्र रंगकर्मीहरु फिल्म क्षेत्रमा प्रवेश गरे चर्चामा आएका छन् । त्यसैले राम्रो स्क्रिप्ट र कथावस्तु बोकेको फिल्ममा प्रस्ताव आए काम गर्ने सोच बनाएकी छु ।

तीन वर्षसम्म काम गर्दा रंगमञ्चबामट के सिक्नुभयो ?

रंगमञ्चबाट सिक्ने भन्दा पनि सिक्दै जानेको हो । रंगमञ्च जीवन हो, जो अर्काको जीवन बाँचिरहेको हुन्छ ।

मोडलिङमा रुचि छ कि छैन ?

एउटा कलाकार भएपछि मोडलिङ, अभिनय इत्यादी गर्नुपर्छ भन्ने मरो पनि सोच हो । तर, मलाई ¥याम्प मोडलिङमा चाहिँ इच्छा छैन । हुन त ¥याम्प मोडलिङको पनि बेग्लै दुनियाँ छ । तैपनि मेरो त्यतातिर ध्यान छैन । म्युजिक भिडियोहरुमा चाहिँ मोडलिङ गर्छु ।

घरपरिवारको सर्पोट छ कि छैन ?

मलाई एकदमै सर्पोट छ । पहिले मेरो बुबा पनि रंगमञ्चमा इच्छा राख्नु हुन्थ्यो । तर, उहाँले गर्नुभएन ।

पोखरादेखि काठमाडौं कहिले आउनु भएको नि ?

६/७ वर्ष भयो । मेरो पुर्खौली घर गोरखा हो । म जन्मेहुर्केचाहिँ पोखरा । काठमाडौं आएर ८ र ९ कक्षा होस्टेलमा बसेर पढेँ । त्यसपछि आमा–बुबाहरु पनि काठमाडौं सिफ्ट हुनुभयो । त्यसपछि हामी सँगै बस्न थालेका हाँै । अहिले ब्याचुलर गर्दैछु ।

भविष्यको उद्देश्य के छ ?

मेरो अध्ययनको विषय ‘बिबिए’ हो । मेरो इच्छा विजनेशतिर पनि छ । मुख्य कुरा रंगमञ्चबाटै नाम कमाउने इच्छा छ ।

अहिले कति वर्ष पुग्नुभयो ?

२२/२३ वर्षकी भएँ । यही आउने साउनदेखि २३ वर्षमा लाग्दैछु ।

यो उमेर नै चन्चले । कतिको प्रेम प्रस्तावहरु आउँछ ?

खोई, मलाई त प्रेम प्रस्ताव आएकै थाहा हुँदैन । आएर हो कि नआएर हो ।

प्रतिक्रिया दिनुहोस्