काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे स्पष्टीकरण सोधेका छन् । तीनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गरिएको स्पष्टिकरण पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको भन्दै प्रश्न गरिएको छ ।

पहिलो बुँदामा सोधिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको ?’
यस्तै , पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदा हुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको ? भन्दै महतोमाथि प्रश्न गरिएको छ ।
अध्यक्ष यादवले ‘पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा तपाईं किन र के आधारमा संसदीय दलको नेता स्वयम् घोषित हुन पुग्नुभयो ? भन्दै पत्रमा प्रश्न गरेका छन् ।
यस्तै, पार्टीको आधिकारिक निर्णयबिना सरकारसँग वार्ता गर्ने भनि लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कार्यदल भएको कुरालाई किन र के आधारमा समर्थन गरी पार्टी नीति निर्णय विपरितको कामलाई प्रश्रय किन दिनुभयो ? भन्दै नेता महतोमाथि प्रश्न गरिएको छ ।
नेता महतोले पार्टी विधानको व्यवस्था विपरित पार्टीभित्र स्वेच्छाचारिता लाद्ने र पार्टीलाई पकेट बनाउने काममा निरन्तर सहयोग तथा सघाउने कार्य किन गरेको भन्दै प्रश्न सोधिएको छ । यी प्रश्नहरुको चित्त बुझ्दो जवाफ प्राप्त नभएका पार्टी विधानबमोजिम अनुशासनको कारबाही हुनेछ पत्रमा जानकारी गराएको छ ।












