Logo
Logo

बजेट भाषण सुनिरहेका श्यामलाल एक्कासी नाच्न थालेपछि…


हिक्मत बम


धनगढी । शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासी हौसिँदै खुशीले नाच्न थाने ।
यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दंग भए । खुशीले नाँचिरहेका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाएर भने, ‘आजदेखि मेरो पेन्सन एक हजारले बढ्यो ।’

यो सुनेर छोराबुहारी पनि खुशी भए । आफ्नो सक्रिय जीवन सामान्य खेतीपातीमै बिताएका आफ्ना बुबाको पेन्सन कहाँ बढेछ भन्ने उनीहरुमा लाग्यो । श्यामलालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत बृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाएको सुनाएपछि छोराबुहारीले बल्ल थाहा पाए, बुबाको पेन्सन त सरकारले दिने बृद्धभत्ता पो रहेछ ।

श्यामलालमात्रै हैन, आर्थिक वर्ष २०७८–७९ को लागि आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वृद्धभत्ता भत्ता बढाएपछि यहाँका सबैजसो बुढापाकाहरू खुशी भएका छन् ।

मासिक तीन हजारका दरले भत्ता बुझिरहेका बृद्धबृद्धा त्यसमा थप एक हजार बढेर चार हजार पाउने भएपछि खुशी भएका हुन् । सरकारले भत्ता बढाएको खबर छोराबाट थाहा पाएका कैलालीको गौरीगंगा नगरपालिकाका ७५ वर्षीय हरिबहादुर रोकाया निकै खुशी देखिए ।

मासिक ३ हजार रुपैयाँ बुझ्दै आएका हरिबहादुर मासिक ४ हजारका दरले वृद्धभत्ता पाउने भएपछि आफ्ना छोरालाई अब त मेरो पनि भत्ता बढेकाले आफूलाई चाहिने समान आफैँले किन्न पाउने भएँ भन्दैथिए ।

‘हाम्रो सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुरीमुरी धन्यवाद । अब तैँले हेला गरिस् भने पनि सरकारले पाल्छ केटा हामीलाई’ पिताको भनाइ उल्लेख गर्दै छोरा कमल रोकायाले भने ।

विसं. २०५२ सालमा नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धभत्ता कार्यक्रम थालनी भएको थियो ।
बृद्धावस्था लागे देखि घरपरिवारमै हेलाँको पात्र हुने गरेका आफूहरूका लागि सरकारले दिँदै आएको भत्ता सन्तानसरह भएको र यही भत्ताका कारण आफूहरूको जीवन चलिरहेको ज्येष्ठ नागरिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्