Logo
Logo

सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने निर्णयको चर्को विरोध


दृष्टि संवाददाता


फुङलिङ । ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन् । उनीहरुले विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको निर्णयप्रति चर्को विरोध गर्दै कुनै पनि हालतमा नाम फेर्न नहुने बताएका छन् ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिएको थियो । यसपछि जिल्लावासीले यसमा असन्तुष्टि जनाउँदै आएको छन् । सामाजिक सञ्जालमा विमानस्थलको नयाँ नामकरणका नगर्न सरकारलाई सुझाव दिइएको छ ।

सुकेटार विमानस्थलको नामाकरण परिवर्तन गर्ने सरकारको निर्णयले लिएर सामाजिक सञ्जालमा सर्वसाधारणले समेत चर्को विरोध जनाइरहेका छन् । उनीहरुले सुकेटार विमानस्थलको नाम परिवर्तन गरेर सरकार पहिचान मेटाउने प्रयास गरेको आरोप लगाएका छन् ।

यस्तै, निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का नेता योगेश भट्टराईले सामाजिक सञ्जलमा भनेका छन्, ‘ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ ।’

उनले असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नुपर्ने बताएका छन् ।

निवर्तमान पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले समाजिक सञ्चालमा नै पोष्ट गरेका छन्, ‘सरकार ! पोखरा विमानस्थलको नामकरण रवीन्द्र अधिकारी विमानस्थल राखौँ, हामीलाई सुकेटार विमानस्थलमा नै गर्व छ ।’

नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलले सुकेटार विमानस्थललाई स्व रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामकरण गरेर इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप गरेको टिप्पणी गरेका छन् ।

जिल्लाका राजनीति दल र सरोकारवाला समूहले सुकेटार विमानस्थलको नाम परिवर्तनका विषयमा आज छलफल गर्ने नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय किराँतले बताए ।

विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाग्रस्त भई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, चालक क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्