Logo
Logo

दुई किशोरीद्वारा आत्महत्या


- दृष्टि न्युज/संवाददाता


गौशाला, १० चैत । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया सांग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन् ।
सांग्रिलाले आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा र कञ्चनले घरभन्दा २०० मिटर पर रहेको आँपको रुखमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी उपरीक्षक कार्कीले बताए । दुई किशोरी एकै दिन किन, के–कति कारणले झुण्डिएर आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ भने दुवै किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जनाइएको छ ।
यस्तै, महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरमा आफ्नै जीउमा आगो लगाएका एक पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर–५ कञ्चनपुरका ६० वर्षीय सूर्यदेव मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरि कपडा बेरी मट्टितेल छर्केर आफैँले आगो लगाएका मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेका थिए । उनको गए राति उनको करीब ८ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।
मुखिया के–कति कारणले आफँैले जीउमा आगो लगाए भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । मृतकको शव परीक्षणपश्चात परिवारजनलाई बुझाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्