वन तस्करी रोक्न ‘ड्रोन गस्ती’ « Drishti News – Nepalese News Portal
Logo

वन तस्करी रोक्न ‘ड्रोन गस्ती’


हिक्मत बम


धनगढी । कोरोना महामारीको बेला कञ्चनपुरका वन क्षेत्रबाट चोरी, निकासी र तस्करी बढेपछि अवैध गतिविधि नियन्त्रण गर्न ड्रोनको सहायता लिइएको छ ।

काठ तस्करी, जग्गा अतिक्रमण, वन्यजन्तुको चोरी सिकारीलगायतका गतिविधि नियन्त्रण गर्न ड्रोन क्यामेराबाट निगरानी गर्न थालिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयबिक्रम मानन्धरले जानकारी दिए । वन क्षेत्रको निगरानीका लागि दुई वटा क्यामेरा सहितको ड्रोन प्रयोग गरिएको छ ।

कोरोना महामारीका बेला सबै ठाउँमा कर्मचारी परिचालन गरी गस्ती गर्न नसकिने भएकाले ड्रोन क्यामेरामार्फत् गस्ती कार्य गरिएको प्रमुख मानन्धर बताउँछन् । उनले भने, ‘पहिला पैदल हिँडेर, घोडा, हात्ती, साइकल र गाडीको प्रयोग गरी वन गस्ती गरिँदै आएको थियो, अब पुरानो शैलीलाई छाडेर नयाँ अभ्यास गर्न थालेका हौं ।’

चुरे क्षेत्रमा निगरानीसंगै अनुगमन गर्न सडक तथा बाटो नहुँदा चोरीसिकारी र काठ तस्करी रोक्न निकै गाह्रो हुने भएकाले ड्रोन प्रयोग गरी सहजै त्यस क्षेत्रको वस्तु स्थितिबारे जानकारी लिन सकिने उनको भनाइ छ ।

वन कार्यालयले अहिले भाडामा लिएर ड्रोनबाट गस्ती सुरु गरेको हो । ड्रोन प्रयोगको प्रभावकारिताका आधारमा आउँदो आर्थिक वर्षमा कार्यालय आफैँले ड्रोन खरिद गरी प्रयोगमा ल्याउने योजना रहेको प्रमुख मानन्धर बताउँछन् ।

गत वर्षको लकडाउनका बेला डिभिजन वन कार्यालयले चोरी शिकारी र काठ तस्करी रोक्न स्वचालित क्यामेरा र क्यामेरा ट्रयापिङ जडान गरेको थियो । क्यामेरा ट्रयापिङको सहायताले केही काठ र वन्यजन्तुको तस्करी गर्ने व्यक्ति पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्