माधव पक्षको बैठक : ओलीले फेरि धोका दिन सक्ने नेताहरुको धारणा « Drishti News – Nepalese News Portal
Logo

माधव पक्षको बैठक : ओलीले फेरि धोका दिन सक्ने नेताहरुको धारणा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुले विवादलाई एउटा निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । बिहीबारदेखि भर्चुअलरुपमा जारी स्थायी कमिटी बैठकमा उनीहरुले यस्तो धारणा राखेका हुन् ।

आज बिहान ११ बजे सुरु भएको बैठक अहिले जारी छ । बिहीबार बोल्न नभ्याएका नेताहरुले आज आफ्नो धारणा राख्नेक्रममा छन् । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य हुन नसक्ने र धोखाधडी हुने विचार व्यक्त गरेका छन् ।

नेता माधव नेपालको पक्षका अधिकांश नेताहरुहरु पार्टीलाई २०७५ जेठ २ मा फर्किदैमा ओलीसँग सहकार्य हुन नसक्ने र धोखाधडी हुने धारणा राखेको एक नेताले बताए । भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यदेखि प्रकाश ज्वाला, राजेन्द्र राई, जगन्नाथ खतिवडाजस्ता नेताहरूले ओलीसँगको विवाद निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् ।

एकथरी भने वशेषगरी माधव नेपालसँग नवौं महाधिवेशनबाट जोडिएका नेताहरू केपी ओलीलाई जेठ २ मा फर्काउन सके एमालेभित्रै रहेर पार्टी बलियो बनाउन सकिने पक्षमा रहेका छन् । यो विचारमा गोकर्ण विष्ट पनि सहमत छन् ।

पार्टी एकताको लागि प्रयत्न गरिरहेका नेता ठाकुर गैरेले जेठ २ को विन्दूबाट पार्टीका सबै संरचनाहरुलाई अघि बढाएपछि सबै समस्याहरु आफैँ समाधान हुँदै जाने बताए ।

एकता वा विद्रोह जे गर्ने हो तत्कालै गर्न नेता नेपालमाथि नेताहरुले दवाव दिन थालेका छन् । ओलीबाट फेरि छलछाम र धोखा हुने आशंका गर्दै नेताहरुले एउटा निष्कर्ष निकाल्नुपर्ने उनीहरुको भनाइ छ । बैठकमा ८८ जना केन्द्रीय सदस्यले सहभागिता जनाएको बताइएको छ । बैठक सकेपछि आधिकारिक रुपमा भनाइ सार्जनिक गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्