Logo
Logo

माधवको उदय र केपीको पतन


मिलन लिम्बू


भन्दा र सुन्दा राम्रो लाग्दैन । तर, वास्तविक हो । अब नेकपा एमाले एक छैन । एमाले विभाजनको सिकार भयो । भलै अर्को पार्टी घोषणा भएको छैन । त्यो प्राविधिक कुरा रह्यो । एमाले विभाजनको फेहरिस्त लामो छ । तर, जति नै लामो भएपनि केपी शर्मा ओलीको पेरिफेरि नै घुम्छ । किनकि, एमाले विभाजनको कारक केपी ओली हुन् ।

एक सयम केपी ओली र राष्ट्रवाद पर्यायवाचीझैँ मानिन्थ्यो । तर, अहिले केपी ओली र राष्ट्रघात पर्यायवाची बनेको छ । प्रतिगमन त ओलीको नशा नशामा बग्दैछ । संसद र संविधान शब्दसँग ओलीलाई एलर्जी छ । त्यसैले त संविधान मिच्दै दुई पटक संसदको हत्या गर्ने प्रयास गरे ।

जोक सुनाउने कलाले ओली ‘बेष्ट कमेडियन’ हुन् । जालझेल र तिकडमहरुले ओली ‘प्रो सकुनी’ हुन् । महाभारतका ‘मामा सकुनी’ र वर्तमान युगका ‘बा सकुनी’ उस्तै हुन् । जसको तिकडमले देश दुनियाँ संकटमा धकेलियो । तर, सकुनीहरुको सत्यानाश त्यो युग र यो युगमा उस्तै तरिकाले हुनेछ । महाभारतको रणसंग्राममा जसरी ‘सकुनी ग्याङ’का कौरवहरु पतन भए त्यसरी नै संविधान रक्षाको संग्राममा ‘बा ग्याङ’का कौरवहरु पतन हुने दिन टाढा छैन ।

पतनको अन्तिम–अन्तिम समय आइपुग्दा आइतबार साँझ ‘बा सकुनी’ले माधव नेपालहरुविरुद्ध ६ बुँदे ‘पासा’ फ्याके । जुन पासाको पहिलो बुँदामा नेकपा एमालेलाई २०७५ जेठ ३ को पूर्व अवस्थाबाट अगाडि बढाइने भनिएको छ । योभन्दा ‘झेली कुरा’ अरु हुँदैन । किनकि, २०७५ जेठ ३ गते नेकपा माओवादीसँग पार्टी एकता गर्नुभन्दा एक दिन अगाडि अर्थात २०७५ जेठ २ गते ओलीले ३८ जना नयाँ केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

उक्त संख्यालाई यथावत राखेर आफ्नो पक्षमा बहुमत पुर्याउने ओलीको चालबाजी हो । सर्वोच्चले २०७७ फागुन २३ गते नेकपा खारेज गरेदखि नै माधव समूहले ‘२०७५ जेठ २ को पूर्व अवस्थाबाट पार्टी अगाडि बढ्नुपर्छ’ भन्नुको अर्थ यो हो । त्यसैले, ओलीको ‘जाली प्रस्ताव’ माधव समूहले स्वीकार्नुपर्ने कारण छैन ।

ओली आह्वानको अर्को ‘झेली प्रस्ताव’ बुँदा नम्बर ५ हो । जहाँ, लेखिएको छ, ‘यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन…।’ ओलीले यो प्रस्तावमार्फत आफ्ना सम्पूर्ण असंवैधानिक र राष्ट्रघाती कदमहरु ‘मिनिमाइज’ गर्न खोजेका हुन् । २०७७ पुष ५ देखि आजको मितिसम्म ‘बा ग्याङ’बाट जे जस्ता कदम चालिएका छन्, ती सबै राष्ट्रघात हुन् । त्यसैले यो ‘झेली प्रस्ताव’ हो । यो प्रस्ताव स्वीकारेर आफूलाई ‘ओली घात’को भागीदार बनाउन माधवहरुलाई छुट हुँदैन ।

होटल मेरियटको उपल्लो तलामा भएको दुई भेट ओलीले दृश्यावलोकन गरेरै बिताए । दुबै भेटमा ‘२०७५ जेठ २ को पूर्व अवस्थामा फर्कन सकिन्न, धेरै अगाडि बढिसकियो’ मात्र भने । त्योभन्दा बढी एक शब्द पनि बोलेनन् । माधवलाई सँगै दुवैपटक मेरियटबाट दृश्यपान गराएर फर्काए ।

सोही दिनबाट माधव नेपालले ‘अब एमाले एकता सम्भव छैन’ भन्ने अन्तिम निष्कर्ष निकालेका हुन् । त्यसबीच पार्टी एकताका लागि पहल गरेको देखाउन ‘बुढानिलकण्ठ भेट’ रचियो । जुन भेटले समस्याहरु समाधान गर्न कार्यदल बनाउनेसम्म बाटो तय गरेकै हो । तर, ओलीको चाहना र योजना फरक भएकाले कार्यादल ‘पङ्गु’ भयो । जुन ओलीकै ‘झेली योजना’ अन्तरर्गत तय भएको थियो ।

ओलीले एमाले एकता चाहेको भए एकपछि अर्को गर्दै गलत कदम चाल्दैन थिए । कार्यदल बनाएर समस्या समाधानको बाटो खोज्दै गर्दा मध्यरातमा बालुवाटार र शीतल निवासको अनैतिक समागममा प्रतिनिधिसभा विघटन हुँदैनथ्यो । सत्ता जोगाउनकै लागि राष्ट्रघाती कदम चाल्नु एमाले एकताको पक्षमा थिएन र हुँदैन ।

२०७७ पुष ५ यता ओलीबाट जे जस्ता कदम भएका छन् ति सबै कदमले ओलीलाई अब फर्कन नसक्ने र नमिल्नेगरी धेरै टाढा धकेलेको छ । ओली जहाँ पुगेका छन्, त्यहाँ पतन र समाप्तीभन्दा अरु सम्भव छैन । त्यसैले तहसनहस भएको एमालेलाई फेरि कमलझैँ फूलाउने जिम्मेवारी माधवहरुकै काँधमा आएको छ । यसको मतलव मुलधारको एमाले माधव नेपालहरुले नेतृत्व गर्नेछन् ।

बजारका हल्लाहरु सुन्दा आज वा भोली नै माधव समूहले नयाँ पार्टी गठन गर्छ झैँ लाग्छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालहरु ओलीजस्तै हठात् निर्णय गर्दैनन् । किनकि, सत्ताको आडभरोसामा ओलीले बनाएको शक्तिको घेरा सरकारबाट बाहिरिने वित्तिकै भत्किँन्छ भन्ने उनीहरुलाई राम्ररी थाहा छ । अब त्यो दिन टाढा छैन । सर्वोच्च अदालतको संवैधानिक इजलासमार्फत हुने फैसलाले ओलीको आडम्बरी भविश्य निर्दिष्ट गर्नेछ ।

ओलीले सम्भावित परिणाम आकलन गरिसकेका छन् । आइतबारको ‘झेली आह्वान’ त्यसैको ‘रियाक्सन’ हो । आगामी परिदृश्य ओलीका लागि अनुकूल छैन । २०७७ असोज ५ को असंवैधानिक कदम बदर गरेर आम नागरिकमा न्यायालयप्रति विश्वास जगाएको सर्वोच्चले आफ्नै फैसला विपरित निर्णय गर्छ भन्ने विश्वास ओलीलाई मात्र होइन अरु कसैलाई पनि छैन ।

यसको मतलव ओलीको सत्ता यात्रामा पूर्णविराम लाग्नु हो । जुन दिन ओलीको सत्ता यात्रामा पूर्णबिराम लाग्छ त्यो दिन ‘बा ग्याङ’ रित्तिने प्रकृया सुरु हुन्छ । त्यो अवस्थामा माधव नेपालहरुलाई नयाँ पार्टी आवश्यकता पर्दैन । माधव नेपालहरुकै नेतृत्वमा हजारौं नेता कार्यकर्ताको रगत र पसिनाले स्थापित ‘नेकपा एमाले’ माधव नेपालहरुले नै नेतृत्व गर्नेछन् ।

‘बा ग्याङ’को पतन त्यतिमा रोकिँदैन । त्यसको ‘फुल रियाक्सन’ अबको निर्वाचनमा देखिने छ । ओली प्रतिगमनविरुद्ध संघर्षमा रहेका शक्तिहरुको गठबन्धन बन्दा ‘बा ग्याङ’ देशभरबाट ‘क्लिन स्वीप’मा पर्नेछ । त्यो ओली पतनको अन्तिम झलक हुनेछ ।

‘ओली प्रतिगमन ठीक’ भन्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवा ओलीविरुद्ध मैदान उत्रनुको अर्थ आगामी निर्वाचनमा बन्ने गठबन्धन हो । कांग्रेस, माओवादी र माधव समूह एमालेबीच आगामी निर्वाचनमा मिलेर जाने सहमति भएपछि देउवा ओलीविरुद्ध मैदान उत्रेका हुन् ।

संसदीय राजनीतिमा भूगोल महत्वपूर्ण हुन्छ । भूगोलबाट निर्वाचित नभएसम्म राजकीय पदको सम्भावना कम हुन्छ । त्यसैले निर्वाचन जित्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । देशभर प्रतिगमनविरोधी पार्टीहरुबीच गठबन्धन बन्नुको अर्थ बुझ्नेहरु बाँकी समय ‘बा ग्याङ’मा रहँदैनन् । ओली सत्ताबाट बाहिरिनेवित्तिकै निर्वाचन जित्नकै लागि पनि धेरै नेता कार्यकर्ता माधवहरुसँग जोडिनेछन् ।

माधव समूहमा लागे भविष्य सिध्याइदिने ‘बा ग्याङ’को धम्कीका कारण धेरै खुलेका छैनन् । जागिर जोगाउने बाध्यताले ‘ओली समूहमा छु’ भन्नेहरु ओली सत्ताबाट ओर्लनेवित्तिकै वास्तविक रुपमा उत्रनेछन् । त्यस्तो अवस्थामा मुलधारको एमाले माधव नेपालहरु नै हुनेछन् ।

एमाले एकताको सम्भावना सकियो भन्दै गर्दा एउटा ‘असम्भव सम्भावना’ भने छ । जुन सम्भावनामा ओली सहमत हुने हो भने नेपाली राजनीतिमा ओलीले एउटा परम्परा बसाल्नेछन्, एउटा इतिहास लेख्नेछन् । त्यो भनेको आफ्ना सम्पूर्ण गल्तीहरु स्वीकार गर्दै पार्टी माधवहरुलाई जिम्मा लगाएर राजनीतिबाट सन्यास लिनु हो । तर, त्यो ओलीबाट सम्भव छैन, किनकि ओलीको आडम्बरी अन्तरमनले पतन यात्रा रोक्नु भन्दैन ।

प्रतिक्रिया दिनुहोस्