Logo
Logo

अभिनेत्री वर्षाको प्रश्न, ‘के यो देशमा न्याय मरिसकेको हो ?’


रासस


काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी देशमा हत्या हिंसा र बलात्कारको घटना बढ्दै गएको प्रति प्रश्न उठाएकी छन् । हालै भएको राउटे युवतीमाथीको यौन दुव्र्यवहारको घटनालाई लिएर अभिनेत्री सिवाकोटीले प्रश्न गरेकी छन्, ‘के यो देशमा साँच्चैै न्याय मरिसकेको हो ?’

अभिनेत्री सिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रश्न उठाएकी हुन् । उनले लेखेकी छन्, ‘के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ? अहिले पछिल्लो समयमा सार्वजनिक दुई घटनाले त्यस्तै देखाउँछन् । आफ्नै बुबा समानका ससुराबाट यौन उत्पिडन व्यहोरेर शंकाष्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएका घटनाले हाम्रो समाजको विकृत पक्षलाई उजागर गर्छन्। न्याय दिने निकाय किन यस्ता घटनामा क्वीक एक्सनमा उत्रदैनन् ?’

उनले यस्तो कारूणिक घटनालाई मसला बनाएर युट्युबरहरू संवेदनशील विषयमा चर्तिकला देखाइरहेको समेत आरोप लगाएकी छन् । ‘राज्यको न्याय प्रशासन भन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु नै हो । अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिङको होडबाजी छ । घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔँ ।’

अभिनेत्री सिवाकोटीले यस्ता घटनालाई लिएर राज्यलाई दवाव सिर्जना गर्नुपर्ने समेत बताएकी छन् । उनले लेखेकी छन्, ‘सक्छौ भने हामी सबै मिलेर राज्यलाई दबाब सृजना गरौँ । व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ । युट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पिडा होला ख्याल गरौँ ।’

प्रतिक्रिया दिनुहोस्