Logo
Logo

उपत्यकामा निषेधाज्ञा एक साता लम्बाउने तयारी


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा पुनः एक सता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । गत १६ बैशाखदेखि जारी निषेधाज्ञाको पछिल्लो थप म्याद ३१ जेठमा सकिँदैछ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच पुनः निषेधाज्ञा थप्ने विषयमा छलफल भइरहेको छ ।

हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने अवस्था रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले निषेधाज्ञालाई जारी राख्नुपर्ने रायसुझाव आएको उनको भनाइ छ । निषेधाज्ञा लम्बाउने अवस्था आएपछि केही खुकुलो हुने बताइएको छ ।

जारी निषेधाज्ञामा तरकारी तथा किराना पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न दिइएको छ । तर, अब एक घन्टा थप्ने भएको छ । ‘मृत्युदर घटे पनि संक्रमणदरमा सुधार नआएको विश्लेषणका आधारमा निषेधाज्ञा लम्बिन्छ,’ प्रजिअ पराजुलीले भने । यसअघि जेठ ३१ सम्म जारी निषेधाज्ञापछि मोडालिटीमा परिवर्तन गर्न सकिने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्