Logo
Logo

पहिरो जोखिमका बासिन्दालाई सुरक्षित ठाउँ जान आग्रह


नन्दा थापा



बाजुरा । जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले यस वर्षको मनसुनको पूर्वतयारी गरिरहेको छ । वर्षातको समयमा हुने संकटलाई मध्यनजर गर्दै जिल्ला व्यवस्थापन समिति बाजुरा पूर्वतयारी गरिहेको हो ।

जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य सडक साँफे–मार्तडी सडक खण्डमा विगतका वर्षदेखि धेरै ठाउँमा पहिरो बग्दै आएकोले वर्षातको सिजन सुरु हुनुभन्दा अगावै उपकरणहरु र जनशक्ति प्रयाप्त मात्रामा व्यवस्थापन गर्नको निमित्त सडक डिभिजन कार्यालयलाई भनिसकेको र तत्काल सुचना दिनको निमित्त सुरक्षा निकायलाई पनि आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

साँफे मार्तडी सडकका विभिन्न ठाउँमा पहिरो बग्नेक्रम रोकिएको छैन् । वर्षात समयमा त झनै विभिन्न स्थानमा पहिरो लाग्ने गर्दछन् । पहिरोका कारण सवारी साधन ठप्प हुन्छन् । यो अवस्थामा उपभोग्य बस्तुको अभाव हुुने सम्भावनालाई मध्यनजर गर्दै जिल्लामा उपभोग्य बस्तुको अभाव नहोस् भनेर यथासमयमै केही सामाग्री ल्याएर भण्डारण गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।

खाद्य कम्पनी अन्तरगतका कार्यालयहरुमा पनि प्रयाप्त खाद्यान्नको मौजात राख्नसमेत पहल गरेको अधिकारीको भनाइ छ । त्यस्तै, स्थानीय बासिन्दाले पनि विपद् ननिम्त्याउन सजग र सचेत भइदिन अनुरोध गरेको छ । वर्षातको समयमा बाढी पहिरोले ठूलो क्षति व्यहोर्नुभन्दा कुनै आफ्नो ठाउँमा नाली, कुलो विग्रिएको छ भने यसलाई अहिले नै संरक्षण गर्न नागरिकलाई आग्रह गरेको छ ।

यस्तै पहिरोको उच्च जोखिममा रहेका बासिन्दाहरुले पनि सुरक्षित स्थानमा गएर बस्न नागरिकलाई अनुरोध गरेको छ । अधिकारीले भने पहिरोले क्षति पर्र्याएका घरहरु पुनः निमार्ण गर्नका निमित्त प्राधिकरणले कार्यविधि स्वीकृत गरिसकेपछि घर बनाउन बजेट प्राप्त भएको छ, जो पहिरो पीडित छ, उनीहरुले आ–आफ्नो गाउँपालिका–नगरपालिकामा सम्पर्क राखेर समयमै सजक भएर त्यस तर्फपनि लाग्न आग्रह गरे ।

विश्वभर नयाँ भेरियन्टको रुपमा फैलिरहेको कोरोना भाइरसले गर्दा काम गर्न कठिनाई भएको बताइएको छ । कोरोनाबाट बच्दै विपद् निम्त्याउन र जिल्लामा संकट उत्पन्न हुन नदिन सबैसँग सल्लाह गरेको बताए । सम्बन्धित क्षेत्रमै गएर त्यहाँका स्थानीय तहका प्रमुख, सुरक्षा निकाय, गैरसरकारी संस्था, राननीतिक दलहरुलगायतसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारीले बताए ।

वर्षातको समयमा जिल्लामा विपद् आइलागेमा जोखिम पूर्ण ठाउँहरुको पहिचान गर्ने र सञ्चार, विद्युतजस्ता सेवाहरुलाई क्षति कम हुन दिन त्यस तर्फपनि प्रयासरत रहने तथा आगामी दिनमा विपद् आइलागि यस्ता सेवाहरु बाढी पहिरोले बगाएपछि यथासिघ्र्र सेवा सुचारु गर्नको लागि आवश्यक तयारी गर्ने गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्