Logo
Logo

निषेधाज्ञामा प्रहरीमा अनेक काण्ड


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारीको समयमा प्रहरी कर्मचारीहरू जनताको ज्यान जोगाउन विगत १६ महिनादेखि अग्रपंक्तिमा खटिएका छन् । पर्याप्त स्रोत साधनबिना पनि बिना कुनै गुनासो उनीहरु लडेका छन् ।

महामारी नियन्त्रणमा प्रहरीको भूमिकाको सर्वत्र प्रशंसा भइरहेको छ । निषेधाज्ञाको पालनादेखि अक्सिजन सिलिन्डर संकलनसम्म उनीहरुको सक्रियता देखिन्छ । तर, त्यसका बाबजुत पनि केही प्रहरीको गल्तीले पछिल्लो समय प्रहरी संगठन नै बदनाम हुन पुगेको छ । पछिल्लो दुई सातामा प्रहरीका एकपछि अर्काे गल्ती बाहिर आएका छन् । जसले प्रहरीका हजारौं राम्रा काम छायाँमा परेका छन् ।

वीरगञ्जको डीएसपीको कुटाई काण्ड

प्रहरीका तल्लो तहबाट सामान्यतया कमजोरी हुन्छन् । तर, कतिपय अवस्थामा सिनियर अधिकृतले नै आफ्नो जिम्मेवारी भुल्नेगर्दछन् । गत साता वीरगञ्जमा त्यस्तै भयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी प्रल्हाद कार्कीले एउटा सर्जिकल पसलमा पसेर त्यहाँका कर्मचारीलाई लौरो र बुटले कुटेका थिए । त्यो पनि भिडियो खिचेको आरोपमा ।

वीरगन्ज महानगरपालिका–८ आर्मी ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसमा उनले कर्मचारी अफरोज अहमदलाई कुटपिट गरेका हुन् ।
प्रहरीले निषेधाज्ञा पालनाको क्रममा बल प्रयोग गरेको भिडियो अहमदले मोबाइलमा खिचेका थिए । त्यसकै रिसमा डीएसपी कार्कीले लौरो र बुट बजारेका हुन् ।

रमाइलो के भने भिडियो खिचेको आरोपमा त्यसरी कुटपिट गर्दा सिसीटीभी भिडियोकै कारण डीएसपी कार्की समस्यामा परेका छन् । उनले कुटेको भिडियो सो पसलमा रहेको सिसी क्यामेरामा रेकर्ड भएको थियो । जुन सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि छानिबन सुरु भएको छ । सो भिडियो भाइरल भएपछि प्रदेश प्रहरी कार्यालयले एसपी कृष्ण प्रसाईको नेतृत्वमा छानबिन समिति गठन गरेर अनुसन्धान थालेको छ ।

भीड नियन्त्रणमा बाहेक त्यसरी सामान्य अवस्थामा प्रहरीले लाठी प्रयोग गर्न नपाउने भएकाले डीएसपी कार्कीमाथि कारबाही हुने निश्चित छ । त्यसो त डीएसपी कार्की पहिलेदेखि नै अराजक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । यसअघि नगर प्रहरीमा कार्यरत रहँदा मदिराले लठ्ठ भएर टेलिभिजन नै फुटाएको आरोपमा उनीसहित तीन अधिकृत कारबाहीमा परेका थिए ।

त्यसो त सर्वसाधारणको व्यवहारले पनि प्रहरीलाई आक्रोशित बनाउने गर्दछ । गत जेठ ७ मा वीरगञ्जमा स्थानीय व्यापारीले प्रहरीलाई नै आक्रमण समेत गरेका थिए । निषेधाज्ञा उल्लघंन गरी वीरगन्ज महानगरपालिका–१२ स्थित मुर्ली पोखरीमा माछा बिक्री गर्ने क्रममा भीडभाड बढेको थियो ।

भीड नियन्त्रणका लागि गएको प्रहरी टोलीमाथि माछा व्यापारी र स्थानीयले आक्रमण गरे । मोटरसाइकलमा रहेका प्रहरीलाई भुईंमा लडाएर इँटाले हिर्काए, ती प्रहरी जवानको टाउको फुटेको पर्साका एसपी बेलबहादुर पाण्डे बताउँछन् ।

डिउटीमा रक्सी चोरी
कानुन कार्यान्वायन गराउने प्रहरी आफैं अपराधमा संलग्न भएको समेत पाइयो । सिरहामा डिउटीको क्रममा रक्सी चोरेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलार्य जिल्ला प्रहरी कार्यालय सिराहाले निलम्बन गरेको हो ।

असई ठाकुरसहितको टोली जेठ ९ गते आइतबार राति १० बजे लहान नगरपालिका–२३ गढिया चोकमा खटिएको थियो । निषेधाज्ञाको कार्यान्वयन गराउन खटिएको उक्त टोलीले आसपासका पसल बन्द गराएको थियो । त्यसै क्रममा सोही स्थानमा रहेको पुजा मदिरा होटल (एस.के मदिरा)मा केही व्यक्तिहरू होहल्ला गरिरहेका थिए ।

प्रहरीले होहल्ला गर्नेहरूलाई नियन्त्रणमा लियो । त्यहाँ रक्सी पसल पनि खोलिएको थियो । निषेधाज्ञाको बेला रक्सी पसल खोलेकोमा पक्राउ पर्ने डरले रक्सी पसल सञ्चालक भागे । सञ्चालक भागेपछि पसलमा कोही नभएको मौका छोपेर असई ठाकुरलगायतले पसलबाट केही भोड्का रक्सी लिएर गएका थिए ।

प्रहरीहरूले रक्सी चोरेको भिडिओ स्थानीयले खिचेर फेसबुकमा हालिदिएका थिए । त्यसपछि उनीहरुको चोरी बाहिर आएको हो । सोही भिडियोका आधारमा अनुसन्धान गरी तीन जना निलम्बनमा परेका हुन् । भिडियोमा केही प्रहरीले भोड्का बोतल आफ्नो खल्तीमा हालेको देखिन्छ । यो घटनाले सिंगो प्रहरी संगठनकै छवि गिराएको छ ।

जब गाउँलेले नै प्रहरीलाई पक्राउ गरे

गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लागेका दुई प्रहरी निलम्बित भएका छन् । स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसीलाई स्थानीयको उजुरीका आधरामा जिल्ला प्रहरी कार्यालय गुल्मीले निलम्बन गरेको हो ।

उनीहरुले प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले निलम्बन गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेको भनाई छ ।

जेठ ७ गते राति आपत्तिजनक अवस्थामा फेला परेको भन्दै स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । गाउँकै एक जना महिलासँग अनैतिक सम्बन्ध राखेको खुलेपछि स्थानीयले रंगेहात पक्राउ गरेर बुझाएका थिए । नैतिकता सिकाउने प्रहरी नै अनैतिक भएपछि गाउँले प्रहरीसँग रिसाएका थिए ।

डीएसपीलाई अनियमितताको आरोप

डीएसपीका लागि सबैभन्दा आकर्षण पोष्टिङ महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे हो । त्यहाँका डीएसपी दीपक खड्कालाई पनि आइतबार अनियमितताको आरोप लगाएर हटाइएको छ ।

ठमेलका व्यवसायीसँग पैसा लिएको आरोप प्रहरीका अधिकारीले नै प्रचार गरेका छन् । तर, कसरी अनियमितता गरे भन्ने खुलेको छैन । वृत्त स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपाखेरीका एआइजी हरी पालले उनलाई हटाइएको हो । यद्यपि, खड्का वृत्तमा गएको एक वर्ष भइसकेको थियो । डीएसपीमाथिको कारबाहीको यो घटनाले पनि प्रहरी बदनाम हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्