Logo
Logo
साहित्य

हिंसाको मारमा परेको मुलुकलाई छिचोल्दा


तीर्थ सिग्देल


बंगलादेशबाट केही सिक्ने कि ?
बंगलादेश पुगेपछि पुरानो सोच फेरियो । मुलुक सानो वा गरिब भएर हुने रहेनछ । मान्छे होचो पुड्को र गरिब भएपनि विचार त्यस्तो नहुने रहेछ । जस्तो आज पनि ढाकाका गल्ली गल्लीमा विश्वविद्यालयका बोर्ड देख्न सकिन्छ । मेडिकल कलेजहरुको संख्या उत्तिकै । शिक्षाको बारेमा बंगलादेशले लिएको नीतिका कारण त्यहाँ त्यति धेरै विश्वविद्यालयहरु खुलेका छन् ।

यही कारण नै संसारका धेरै विद्यार्थीले बंगलादेशको यात्रा तय गरेका हुन् । मेडिकल शिक्षादेखि इन्जिनियरिङ लगायत सबै प्रकारका प्राविधिक शिक्षाका कलेजले प्रदान गर्ने उच्च शिक्षा र बंगलादेशी शिक्षा नीतिबारे जानकारी हासिल गर्ने अवसर हामीलाई प्राप्त भइरह्यो ।

यत्तिकै घुम्न निस्कनु र कुनै कार्यक्रमको सिलसिलामा हिँड्नुको फरक नै यही हो । यसै घुम्ने मनसाय मात्र भएको भए सडकतिर भौतारिँदैमा दिन जान्थ्यो । तर, यसरी कतै जाँदा धेरै कुराको जानकारी लिने अवसर पाइयो । खासमा यो एउटा सिक्ने मौका पनि हो । जिन्दगीभरि नै सिक्ने र ज्ञान हाँसिल गरेर नसकिने रहेछ । आज एउटा कुरा सिक्यो भोलि अर्कै चाहिन्छ । नयाँनयाँ प्रविधि र आधुनिकताले मान्छेको ज्ञानको दायरालाई बढाएको मात्र छैन, खोज अनुसन्धान र विकास गर्ने मौका पनि मिलेको छ ।

यही कारण त्यस भ्रमणमा हामीलाई बंगलादेशको सरकारी विश्व विद्यालय ढाका विश्वविद्यालयका डिनहरुसँगको छलफलदेखि ढाकाको सबैभन्दा ठूलो निजीस्तरबाट खुलेको डेफोडिल्स युनिभर्सिटीको मिटिङ हलसम्म पुग्ने मौका मिल्यो ।

शिक्षाभन्दा अरु कुनै विकास ठूलो हुन सक्दैन । यो बुझेर हो या अरु नै कुनै कारण ? बंगलादेशमा खुलेका यस्ता विश्वविद्यालयको ख्यातिले देशको नाम रोशन भएको छ । आजपनि नेपालबाट धेरै विद्यार्थी बंगलादेश पढ्न जान्छन् । यद्यपि, एकपटक नेपालमा बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीबारे ठूलै हल्लिखल्लि मच्चियो । त्यहाँ पढ्न जाने नेपाली युवतीमाथि यौन हिंसा हुने गरेको समाचार बाहिर आए । एकजना नेपाली युवतीले कलेजमै गरेको आत्महत्याको विषयमा नेपालमा धेरै हंगामा भयो ।

यही प्रकरणमा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिन बाध्य हुनु पर्यो । यस्तै अभिब्यक्तिका कारण झापाको बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाइँ धेरै विवादित बने । यस्ता बिषयमा हामीले ती कलेजका संचालक र बंगलादेशी साथीहरुसँग बुझ्यौं । यो विषयको उनीहरुले खण्डन गरे । एकाध दुर्घटना त जहाँ पनि हुन्छ । तर, नियत नै खराब राखेर यस्तो कुनै काम नभएको उनीहरुले प्रष्ट पारे ।

त्यहाँ पुगेपछि मैले नेपालको शिक्षा नीति र बंगलादेशको शिक्षा नीतिका बिचमा अन्तर केलाउने प्रयास गरें । यसरी हेर्दा आजपनि हाम्रो शिक्षा नीति प्रष्ट नभएको प्रष्ट देखियो । शैक्षिक गन्तब्य र दीर्घकालीन सोचको अभावमा बर्षेनि फेरिने क्यालेण्डरजस्तै हाम्रो नीतिमा फेरबदल आउँदा गन्तब्यमा पुगिएला ? सरकारी कि निजी ? यो प्रश्न गम्भीर र पेचिलो बनिरहेको बेला हाम्रो शिक्षा नीतिले कहिले विश्व बजारसँग प्रतिस्पर्धा गर्ला ?
मनस्थितिमा यस्ता सोच पलाइरहेको बेला बंगलादेशको शिक्षा नीतिबारे थप जानकारी प्राप्त भयो ।

बंगलादेशमा वान कलेज, वान युनिभर्सिटी नीति रहेछ । यसको अर्थ एउटा कलेज खोल्ने तयारी गर्नु भनेकै युनिभर्सिटीका लागि अनुमति लिनु हो । हाम्रातिरजस्तो बिना लगानी र बिनायोजना कलेज खुल्ने होइन । त्यहाँ एउटा कलेज खोल्न हज्जारौ एकड जमिन, भवन, पूर्वाधार र जनशक्तिको खाँचो पर्दछ । तबमात्र कलेजले स्वीकृति पाउँदछ । जुन कलेजले यसरी सम्पूर्ण प्रकृया पूरा गरेर जान्छ, उसैले बिस्तारै युनिभर्सिटीको स्वीकृति प्राप्त गर्दछ । बंगलादेशमा ३६ वटा पब्लिक र ६८ वटा प्राइभेट मेडिकल कलेज छन्, जसले विश्वभरका विद्यार्थीलाई मेडिकल शिक्षा प्रदान गरिरहेका छन् ।

जुनसुकै नीति होस्, त्यो दिगो हुनुपर्छ । आफ्नो देशको कमजोरी देखाउने चाहना होइन । तर, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नै पर्ने हुन्छ । हामीले हरेक माविमा प्लस टु खोल्न प्रेरित गर्यौं । विद्यालयलाई समुदायको हातमा दिएर सरकार आफ्नो संविधानप्रदत्त जनताको हकबाट पछि हटेर गयो । संस्कृत शिक्षाप्रतिको सरकारी विकर्षणदेखि नैतिक शिक्षामा उदाशीनता अनुपयुक्त छ ।

संविधानप्रदत्त मौलिक हकभित्र पर्ने शिक्षाको अधिकारबाट आम नेपाली विद्यार्थी बन्चित छन् । जसका कारण प्रत्येक वर्ष नेपाली विद्यार्थी पढ्नका लागि मात्र पनि विदेशिन बाध्य छन् । शिक्षामा नेपाली मौलिकता देखिँदैन । आदिवासी जनजातिका लागि मातृभाषाका पढाईका लागि सोच अगाडि सारिएपनि त्यो शिक्षा प्रभावकारी बन्न सकेन ।

हामीकहाँ शिक्षा क्षेत्रमा लगानी त बढेको छ । सानोसानो लगानीले ब्यावसायिक सुरक्षा हुन नसक्ने रहेछ । केही समय टिक्ने त्यसपछि हराउने उद्योगपति र व्यवसायीहरुका कारण आज ठूला(ठूला उद्योगधन्दा डुबेका छन् भने कपियय मेडिकल कलेज, इन्जिनियरिङ कलेज र प्राविधिक कलेजहरु चल्न सकेका छैनन् । यसमा अलिक सामुहिक लगानीको आवश्यकता पर्ने रहेछ । यस विषयमा कमै बहस र छलफल हुने गरेको छ ।

विकासका लागि जनसंख्या अवसर हो भने त्यो बाधक पनि हो । जनसंख्यालाई ठिक ढंगले परिचालन गर्न सकियो भने त्यो अवसर बन्छ । यद्यपि, बंगलादेशको जनसंख्या नेपालको भन्दा ६ गुना बढी छ । यो भूगोल र जनसंख्याका आधारमा हेर्ने हो भने अधिक जनसंख्या भएको मुलुकमा पर्दछ ।

धेरै जनसंख्या भएको मुलुकमा प्रायः गरिबीको दर उच्च हुन्छ । बंगलादेश धनी र सम्पन्न मुलुक होइन । तर, पछिल्ला कतिपय परियोजनाहरुको तीब्र कार्यान्वयनले बंगलादेशलाई विकासको गतिमा अगाडि बढाउँदै गरेको तथ्य हाम्रा सामु छ । बंगलादेशको दुःख भनेकै गरिबी र अशिक्षा हो, जुन आजको विश्वको समस्या हो ।

एउटा कुरा ठिक भयो भन्दैमा सबै ठिक नै हुन्छ भन्ने हुँदैन । नीतिगत रुपमा शिक्षाका लागि भरपर्दो गन्तब्य बनेपनि बंगलादेशभित्रको शैक्षिक अवस्था भने दयनीय नै छ । यसका लागि स्थानीय विद्यार्थीहरुले धेरै अवसर लिन नसकेको अबस्था छ । यद्यपि, विश्वस्तरिय शिक्षामा चीन, अष्ट्रेलिया, भारत, अमेरिका र युरोपका धेरै मुलुकले गरेको प्रगतिको बाटो समाउन नेपाली विद्यार्थीहरुको लाइन त्यतातिर लाग्दा कमसेकम नेपालले बंगलादेशबाट केही सिक्ने कि ?

बीबीआइएन यूथ कन्क्लेभ
नेपालबाट गएका ३१ जना सहभागीहरुमध्ये केही प्यानल डिस्कसनमा सहभागी भयौं । नेपालको सहकारी नीति र सहकारिता विषयमा कृष्णप्रसाद मिश्रले लामै कुरा राखे । उनले नेपालको सहकारिता आन्दोलनको बारेमा बोल्दै लघुवित्तको प्रारम्भिक थलो बंगलादेश भएको र यसैको माध्यमबाट जनताले प्रगति गरिरहेको धारणा राख्दा बंगलादेशी साथीहरु थपडी बजाइरहेका थिए ।

सस्टेनेबल मिलेनियम गोलको विषय हामीसँगै गएका अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्लेलले धाराप्रवाह राखेका थिए । बिर्तामोड नगरपालिकाका योजना अधिकृत जय तिम्सिनाले यस विषयमाथि टिप्पणी गर्दा सबै नेपाली सहभागीहरु टेबल ठोकिरहेका थिए ।

खासमा हामीहरु बंगलादेशको साता दिनको भ्रमणका सन्दर्भमा बीबीआइएन यूथ कन्क्लेभमा सहभागी भएका थियौं, सन् २०१९ डिसेम्बर ८ तारिखका दिनदेखि । बंगलादेश, भुटान, इण्डिया, नेपाल । बीबीआइएन यी चारबटा देशहरुको साझा फोरम हो यो ।

उस्तै खाले विकासको गतिमा रहेका र उस्तै समस्याको सामना गरिरहेका यी चारबटा देशका सहभागीहरु मार्फत् त्यस्ता कतिपय विषयले कन्फेरेन्समा प्रवेश पाइरहेको थियो । भारतका सहभागीले आफ्नो देशले प्रविधि र शिक्षाको स्तरमा गरेको प्रगति र बंगलादेशी मित्रहरुले विभिन्न विषयमा प्यानल डिस्कसनमा सहभागिता जनाएका थिए ।

आजको विश्वमा सूचना, संचारको माध्यमबाट हुने जानकारी र त्यसबाट सिक्ने विषय अधिक छन् । जस्तो आजपनि यो रिजनका बंगलादेश, भुटान, इण्डिया, नेपालको साझा मुद्दा उस्तै छ । बाढी, अशिक्षा, गरिबी, बेरोजगारी, हिंसा, युद्ध, वातावरण विनासजस्ता समस्याबाट पार पाएर सामुहिक भावनाका साथ अगाडि बढ्न साझा प्रतिवद्धता आवश्यक हुन्छ । जसरी आज विश्व ध्रुवीकृत भइरहेको छ । यो बीबीआइएनले उठाउन खोजेको सवालले यो क्षेत्रमा बस्ने मानव जातिको कल्याण हुनेछ ।

‘बीबीआइएन’ भनेको सार्कका ८ सदस्य राष्ट्रमध्ये चार देश (बंगलादेश, भुटान, इण्डिया र नेपाल) ले मिलेर बनाउने उप क्षेत्रीय संगठन हो । सन् २०१५मा भुटानको थिम्पुमा भएको बीबीआईएन राष्ट्रहरुबीचको संझौतापछि यो संझौता तिनै मुलुकका संसदबाट पारित भयो । भुटानको तल्लो सदनबाट पारित भएपनि माथिल्लो सदनले यसलाई अस्वीकृत गर्यो । माथिल्लो सदनले बीबीआइएनको मोटर वाहन सम्झौताले आन्तरिक सुरक्षा र ट्रक व्यवसायीहरु प्रभावित हुने कुरा उठाउँदै यसमा असहमति जनाएको थियो ।

उपक्षेत्रीय मुलुकहरुबीच सडक संजालको विस्तारमार्फत् बंगलादेश, भुटान, भारत र नेपालबीच आर्थिक, सामाजिक, साँस्कृतिक कनेक्टिभिटी बढाउन सीमापार सडक संजाल सहज विस्तार गर्ने मुख्य उद्देश्यअनुरुप मोटर वाहन सम्झौतामा सन् २०१५ जुनमा भुटानको राजधानी थिम्पुमा हस्ताक्षर भएको थियो । एमभीए अन्तर्गत उपक्षेत्रमा यात्रुवाहक सवारीसाधन संचालनका लागि तीन राष्ट्र सहमत भएका थिए ।

ती देशहरुले यात्री प्रोटोकलमा हस्ताक्षरका लागि आन्तरिक प्रकृया चाँडै नै गर्ने सहमति गरेका थिए । सम्झौताअन्तर्गत कार्गो सवारीको अधिक परीक्षण गर्नका लागि बैठकमा सहभागी मुलुकहरु तयार भएका थिए । सन् २०१८ जनवरी १०–११ मा भारत सरकारको सडक परिवहन तथा हाइवे मन्त्रालयको अध्यक्षतामा सम्पन्न बैठकमा तिनै मुलुकका उच्च अधिकारीहरुले एमभीए कार्यान्वयनको विषयमा छलफल गरेका थिए ।

बंगलादेश, भुटान, भारत र नेपालबीचको यात्री, व्यक्तिगत र कार्गो वाहन यातायात नियमनका लागि मोटर वाहन सम्झौतालाई प्रभाव पार्ने यात्री र कार्गो प्रोटोकलको बारेमा पहिलो पटक जनवरी २०१८ मा भारतको बैंगलोरमा सम्पन्न बैठकमा छलफल भएको थियो ।

एमभीए अन्तर्गत कार्गो सवारी चलाउनका लागि परीक्षण कोलकाता–ढाका–अगरतला र दिल्ली–कोलकाता–ढाका मार्गमा गरिएको थियो । परीक्षण सम्झौताको आर्थिक लाभ लिन सफल मानिएको थियो । कार्गो प्रोटोकल लागू भएपछि उपक्षेत्रीय रुटमा कार्गो बोकेका वाहनहरुको प्रकृया सुनिश्चित हुनेछ ।

भारत र पाकिस्तानबीचको सम्बन्धमा आएको तनावका कारण विमस्टेक र बीबीआईएन जस्ता अवधारणालाई भारतले अघि सारेको मानिएको छ । सम्झौता भएको करिव ३ वर्षपछि बंगलादेश, भारत र नेपालबीच त्रिदेशीय बस सेवा संचालनको परीक्षणका लागि ढाकाबाट नेपाल बस आएको थियो ।

नेपालसहितका चार देश बंगलादेश, भुटान र भारतबीच सोझो बस सेवा संचालनका लागि सन् २०१५ जुनमा बीबीआइएन मोटर भेइकल सम्झौता भएको थियो । बीबीआइएन मोटर भेइकल सम्झौता पछि नै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेको रुपमा विकास गर्ने उद्देश्यका साथ स्तरोन्नति गरिरहेको छ ।

बंगलादेश क्षेत्रको सडक स्तरोन्नति लगभग सकिएको छ । भारतीय क्षेत्रमा भने अझै काम जारी छ । आकासे पुलसहित चार लेनको सडक निर्माण गरिएको छ । तर, नेपालले भने यो काम थालेको छैन । हामीले त्यहाँ यस्ता विषयमा पनि कुरा उठायौं ।

सहभागीहरुमा बीबीआइएनको बारेमा लागेका कौतुहलता मेटाउने प्रयास पूरा भएपछि दोस्रो दिन साँझ हामी साँस्कृतिक कार्यक्रममा सहभागी भयौं । जहाँ पुगेपनि ‘यो मन त नेपाली हो’ भनेजस्तै हामीले नेपाली गीत घन्काएर पालैपालो नाचगान गर्यौं । हाम्रो गीतमा बंगालीहरु पनि मजैले नाचे ।

सुरक्षाकर्मी नै दलाल !
दुःखद् कुरा सोचमा गरिबी भएपछि उन्नति नहुने रहेछ । एउटा विषयमा राम्रो गरेर के गर्नु ? अरु कुनै पनि बिषय बाँकी नरहेपछि ।
भारत–बंगलादेशको बोर्डरस्थित बंगलाबन्द नाकामा प्रवेश गरेपछि हाम्रो सातो गएजस्तो भयो । भारततिरको नाका फूलबारी पार गरेर बल्लतल्ल बंगलाबन्द त पुगियो ।

भारतको इमिग्रेसनको ब्यथा भोगिसकेपछि अब ढुक्क हुने आशामा बंगलाबन्द पुग्दा त्यो पिडा अझ बल्झियो । जस्तो कथा भारततिरको अध्यागमनको थियो, यता पुगेपछि त्यसको चार गुना बढी कठिनाई । अध्यागनममा लाग्ने लाइन हेर्दे रिंगटा छुट्ने । त्यसमा पनि पालो सिस्टम कुनै छैन । जो अगाडि गएपनि हुने । बिचैमा दलालले पैसा लिएर पासपोर्टमा छाप हनाइ पनि दिने ।

यो देखेर हामीलाई ताजुब लाग्यो । अध्यागमनहरुमा यतिसम्म पनि हुन्छ भन्ने मलाई त्यस दिनसम्म थाहा थिएन । किनभने विदेश यात्रा र आवागमनको इतिहास र वर्तमानलाई लिने हो अध्यागमन सबैभन्दा सम्वेदनशील र महत्वपूर्ण हुन्छ । यो देशकै लागि र जनताका लागि पनि । एकै क्षण अगाडि नोमेन्सलेण्डमा दुबै देशतिरका सेनाले दिएको तैनाथीलाई सम्झें मैले ।

सीमामा सवारीसमेत चल्न नदिएर सबै यात्रुलाई लगेजसमेत बोक्न लगाएर चेकजाँच गरेको देखें मैले । भारत र बंगलादेशको सिमानामा लगाइएको काँडेतार, जहाँबाट कोही पनि एक अर्काको देशका नागरिकको अनधिकृत आवागमन नहोस् भनेर बनाइएको योजना पनि सम्झें । तर, दुबै देशका अध्यागमनका कर्मचारीले आ–आफ्ना देशको सपना र योजना नबुझेकोमा भने दुःख मानें ।

राजनीतिकर्मीले सही योजना बनाएर मात्र नहुने रहेछ । मुलुक त कर्मचारीले पनि बनाउनु पर्ने रहेछ । घरपरिबार पाल्ने, सुख सयलमा जिन्दगी बिताउने चाहना त सबैको हुन्छ । तर, तिनै कर्मचारीहरु, जसले जनताको करबाट पेट पालेका छन्, उनीहरुले नै तिनै जनताको पेटमा लात हानेको झल्झली देखें मैले । नेपालका सरकारी कार्यालयहरुमा यदाकदा देखिने यस्ता दृश्य हाम्रा लागि नयाँ नलागेपनि कर्मचारी मनोबृत्ति देखेर हामीसँगै गएका नेपालका कर्मचारी साथीहरु पनि लज्जित बनेका थिए ।

अध्यागमनमा कार्यरत कर्मचारीको ब्यबहार देखेर हैरान भएको बेला त्यहाँ खटिएका सुरक्षाकर्मी नै दलालीको काममा लागेको देख्दा त झन् दिक्क लागेर आयो । नभन्दै बंगलाबन्दस्थित इमिग्रेसनमा एकजना प्रहरीले मसँग ‘कुछ खावारलागे दिबेन न दादा’ भनेको सुनेपछि भने यस्तो महसुस भयो । सोचमै खोट भएपछि कसको के लाग्छ र ?

हिंसा र प्रतिहिंसाको अध्याय
नगरेको पनि होइन । प्रगति नभएको पनि होइन । तर सबै प्रगतिका सूचकहरु नदेखिने रहेछ । हरेक वर्ष बंगलादेश बाढीको चपेटामा पर्छ । मुख्य शहरहरुमा जनसंख्या अधिक छ । मान्छेहरु गाउँमा अवसर नपाएर शहर पसेका छन् । दिनानुदिन शहरको जनसंख्या वृद्धि भइरहेको छ । गाउँमा सम्भावना कम छ । जहाँ सम्भावना कम, त्यहाँ प्रगति कम हुन्छ । गाउँमा सरकारभन्दा पनि लघुवित्त संस्थाहरु बलिया छन् । गाउँ न शहर लघुवित्त संस्थाका ऋणी छन् ।

बंगलादेशका मो. युनूसको देश पनि हो । जसले लघुवित्त संस्थामार्फत् मानिसहरुको जीवन परिवर्तनसम्बन्धी सिद्धान्त प्रतिपादन गरे । जसलाई आजको विश्वले फादर अफ माइक्रोफाइनान्स भनेर चिन्दछ । उनलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको थियो । बंगलादेशमा ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरी ग्रामीण क्षेत्रमा उल्लेखनीय आर्थिक सुधार गरेबापत् त्यहाँको ग्रामीण बैंक तथा युनूसलाई संयुक्त रुपमा सो पुरस्कार प्रदान गरिएको हो ।

विश्वमा शान्ति स्थापनाका निम्ति गरिबीलाई चिर्नु आवश्यक छ भन्ने निष्कर्षका साथ नर्वेको नोबेल कमिटीले डा. युनूस तथा उनले स्थापना गरेको ग्रामिण बैंकलाई नोबेल पुरस्कारका निम्ति सिफारिस गरेको थियो । उनी नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम बंगलादेशी पनि हुन् । यसबाहेक पनि डा. युनूस विभिन्न पुरस्कारहरुबाट सम्मानित भएका छन् ।

सन् २००९ मा उनी संयुक्त राज्य अमेरिकाको ‘प्रेसिडेन्सीयल मेडल अफ फ्रिडम’ तथा सन् २०१० मा ‘कंग्रेसनल गोल्ड मेडल’बाट सम्मानित भए । सन् २००८ मा ‘फरेन पोलेसी’ नामक पत्रिकाले प्रमुख १०० विश्वस्तरीय चिन्तकहरुको सूचीमा दोस्रो स्थानमा राखेको थियो ।

माइक्रोक्रेडिट सिद्धान्त अर्थात् विकासशील अर्थशास्त्रका प्रर्वतकका रुपमा चिनिएका मो. युनूसले भनेका थिए । अब संसारमा गरिबी संग्रहालयमा हुनेछ, जुन संग्रहालयको उद्घाटन संसारकै अन्तिम गरिबले गर्नेछ । यस्ता महान् अर्थशास्त्रीको देशमा पुग्दा एकप्रकारले गौरब महसुस गरेपनि सिद्धान्त र ब्यहारमा तालमेल हुन सकेन भने त्यसको कुनै अर्थ नहुने निश्कर्ष निकाल्न बाध्य हुन्छौं हामी । सरकारको गति एउटा र सहकारी, निजी क्षेत्रको गन्तब्य अर्को भयो अथवा मुलुक बनाउने रणनीतिमा सबै क्षेत्र समेटिएन भने भद्रगोल हुने रहेछ ।

राजनीतिको केन्द्र भागमा लामो समयसम्म एउटै नेतृत्व बसिरह्यो भने त्यो कताकता तानाशाहीतिर ढल्किन्छ । एउटा जाज्वल्यमान इतिहास बोकेर उदाएको बंगलादेशको इतिहासमा यतिबेला वर्तमान नेतृत्वप्रति असन्तुष्टिका स्वरहरु पनि सुनिने गरेका छन् ।

मानव अधिकार र प्रेस फ्रिडमका सन्दर्भमा शेख हसिनाको सरकार चुकेको निष्कर्ष निकाल्न बाध्य हुनुपर्छ । सबै इतिहासको सही बैठान हुन्छ भन्ने छैन । जस्तोेः कठिन संघर्ष र विद्रोहबाट उदाएको बंगलादेशले आज लिएको नीतिले कतै जनविद्रोहलाई निम्ता त दिएको होइन ? बंगलादेशका पत्रकार र मानव अधिकारकर्मीहरुसँगको भेटको निष्कर्ष यस्तै यस्तै आउँछ ।

उदाहरणका लागि लिऊँ । खालिदा जिया जेल प्रकरण । बंगलादेश नेशनल पार्टीकी प्रमुख उनले भ्रष्ट्राचारको मामलामा १७ वर्षको जेल सजाय भुक्तान गर्नुपर्यो । जिया सन् १९९१ पछि ३ पटक बंगलादेशको प्रधानमन्त्री भइसकेकी नेतृ हुन् । टुहुराहरूको एक कोषमा भएको भ्रष्टाचार मामिलामा अभियुक्त ठहर्याइयो ।

उक्त मामिलामा दोषी ठहर्याइएका जियालाई ५ वर्षको जेल सजाय दिइयो । जियाका पति र पूर्व सैन्य शासक तथा राजनेता बनेबा जियाउर हरमानका नाममा बनेको उक्त ट्रष्टका लागि प्राप्त कोषमा हिना मिना भएको आरोप जियामाथि लगाइयो ।

जियाउर रहमान एउटा बंलादेशी राजनीतिज्ञ हुन् । जो बंलादेशका ७औं राष्ट्रपतिको रुपमा सन् २१ अप्रिल १९७७ देखि उनको मृत्यु हुन्जेल ३० मे १९८१ सम्म सेवा प्रदान गरेका थिए । उनी जियाको नामले बढी प्रसिद्ध थिए । उनलाई बंलादेश मुक्ति युद्धका उद्घोषक मानिन्छ । उनले सन् १९७८ मा बंलादेशको सबैभन्दा ठूलो पार्टी बंगलादेश राष्ट्रियता पार्टीलाई निर्माण गरेका थिए । बंगलादेश मुक्ति युद्धमा उनको अहम् भूमिका थियो ।

बंगलादेशको स्वतन्त्रतापछि उनी बंगलादेश सेनाको सह–सेनाप्रमुख बने । त्यो बेलाको नव(स्वतन्त्र बंगलादेशको राजनीतिमा एउटा मुख्य अनुहार बने । जतिबेला बंगलादेशमा सैन्य शासन थियो । राष्ट्रपति रहँदा उनले बंगलादेश जातीय पार्टी गठन गरे । आज पनि बंगलादेशका मुख्य पार्टी हो, त्यो ।

आज पनि बंगलादेशमा जियाउर रहमानले स्थापना गरेको पार्टीलाई जातीय पार्टीको आरोप लगाइन्छ । जसको नेतृत्व खालिदा जियाले गरिन् । उनका पति जियाउर रहमानको हत्यापछि उनले सम्हालेको नेतृत्वलाई शेख हसिनाको तानाशाही उन्मुख नेतृत्वले धरासायी बनाएको बुझ्न सकिन्छ ।
हिंसाबाटै जन्मिएको मुलुक हो बंगलादेश । जहाँ आज पनि हिंसा र प्रतिहिंसाको अध्याय चलिरहेको छ ।

माग्नेहरुको देश !
कतिपय विषय यस्ता हुँदा रहेछन् । त्यो देश अनुसारको पहिचान बन्छ । दुःखद् बिषय, हामीले बंगलादेश बसुन्जेल एउटा कुराको मसिनो गरी अध्ययन गर्यौं । के बंगलादेश माग्नेहरुको देश हो ? तपाई बंगलादेशको सडकमा जताततै पुग्नुस्, त्यहाँ माग्नेहरु हात पसारिरहेको देख्न सक्नु हुन्छ । यस्ता दृश्यलाई नियाल्दै गर्दा, यस्तो लाग्छ, बिस्तारै बंगलादेशको पहिचान फेरिएर माग्नेहरुको देशको रुपमा दरिदैछ ।

हुनतः माग्नु मान्छेको बाध्यता होला । अभाव र रोगले मान्छे सडकमा आउँछ । खान, लाउन, पढ्न र बिरामी पर्दा नै मान्छेलाई पैसाको खाँचो पर्छ । कतिपय अवस्थामा अपाङ्ग, अशक्त र कमजोर मानिसलाई यस्तो बाध्यता पर्छ । उसले बाध्य भएर माग्नु पर्छ । तर, त्यहाँको दृश्यले यो भन्दैन । सडकमा मागिरहेका मान्छे, जसको पेशा नै माग्ने बनेको छ ।

कतिपय अल्पविकसित मुलुकहरुको हविगत हो यो । नेपालमै पनि यस्ता दृश्य पर्याप्त देखिन्छन् । नेपाल बिर्सेर बंगलादेशलाई मैले यसरी आरोप लगाउन मिल्दैन । भारततिरका कथा अगाडि नै वर्णन भइसकेको छ । रेलमा माग्नेहरुले दिएको दुःखलाई बंगलादेशको सडकमा माग्न हतारिएका मान्छेहरुलाई देखेपछि बिर्सिएजस्तो भान हुन्छ ।

तैपनि स्मरण हुने बिषय बन्यो यो । किनभने नेपालमा पनि केही बर्ष अगाडि सडकमा माग्न नपाइने नियम आयो । यो पूरै कार्यान्वयन नभएपनि नियम भनेको नियमै हो, जसको पालना गर्ने काम त जनताको पो हो त । त्यता पनि माग्न नपाइने नियम होला नै । नभएपनि आफ्ना जनता सडकमा मागिरहेको दृश्यले त्यहाँका शासकको मन पोल्छ कि पोल्दैन ? त्यो त थाहा भएन ।
यस्ता अनेकन् प्रश्नको उत्तरको खोजीमा मनले सवाल जवाफ गरिरहेको समयमा कसैले कुममा हात राख्यो ।
र, भन्यो, ‘कुछ दिबेन न दादा’
तर, मैले त्यहाँ बसुन्जेल कुनै पनि माग्नेलाई पैसा दिइँन । कारण खुद्रा पैसा नभएर पनि होइन र दिन मन नलागेर पनि होइन । कतिजनालाई दिने ? कतिपटक दिने ? खास कारण यो हो ।

मान्छे जन्मदै गरिब हुँदैन । समयले, परिवेशले र कतिपय अवस्थामा आफ्नै कारणले ऊ गरिब हुन्छ । गरिबीलाई आर्थिक बिषयसँग मात्र जोड्ने प्रचलन छ । खासमा मान्छे पैसा नभएर वा पैसा कमाउन नसकेर गरिब भएको हुनसक्छ । अथवा, उसमा त्यो क्षमता नभएर पनि हुन्छ । तर, गरिबीलाई पैसासँग मात्र नजोड्ने हो भने मानिसहरुको मेहनत र परिश्रमको कदर गर्नुपर्ने हुन्छ । मेहनती मान्छे कहिले पनि भोकभोकै पर्दैन भनिन्छ । परिश्रमीले कुनै दुःख भोग्नु पर्दैन भनिन्छ । सडकमा माग्नेहरुका लाइन देख्दा मैले प्रोफेसर उनै डा. मोहमद युनूसलाई सम्झिएँ ।

अब गरिबी संग्रहालयमा हुनेछ र संसारको अन्तिम गरिबले त्यो संग्रहालयको उद्घाटन गर्नेछ भन्ने उनको भनाई पनि फेरि सम्झिएँ । उनले बंगलादेशका गरिबहरुका लागि गरेका काम, उनकै कारण लघुवित्त मार्फत बंगलादेशका महिलाहरुले गरेको प्रगतिका कथा सुनें ।

करोडौं बंगलादेशीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरेका घटना सम्झिएँ । त्यसै कारण प्रोफेसर डा. मोहमद युनूसलाई नोबेल पुरस्कार दिइएको स्मरण गरें । गरिबहरुका नायक प्रोफेसर डा. मोहमद युनूसलाई नभेटेपनि उनको बारेमा पढेका बिषयसँग सडकमा मागिरहेका मानिससँग तुलना गरें । र, मनमनै भने, भनेर मात्र नहुने रहेछ । भनेको कुरा पालना पनि गर्नुपर्ने रहेछ ।

जसरी प्रोफेसर डा. मोहमद युनूसले बंगलादेशलाई केन्द्र बनाएर माइक्रोफाइनान्सलाई एउटा मोडेल बनाए, त्यसरी नै मान्छेहरुले आत्मसात गरे त ? किन अझैपनि ती मानिसहरु सडकमा मागिरहेका छन् ? के उनीहरुलाई युनूसको त्यो माइक्रोफाइनान्सलाई मोडेलले समेट्न नसकेकै हो त ?

उताको मात्र कुरा के गर्नु ? हाम्रै देश मै हेरौं न । नेपालमा चलेका माइक्रोफाइनान्स र सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको क्षमता अभिबृद्धि र आर्थिक उपार्जनमा धेरै काम गरेका छन् । तैपनि बेलाबेला त्यस्ता संस्थाहरु विवादमा पर्ने गरेका छन् । कतिपय आफ्नै कारणले र कतिपय सदस्यहरुले गर्दा समस्या बढिरेहेको छ ।

सदस्यले लिएको कर्जाको सही सदुपयोग भएन भने सबैको गति उही हुन्छ । त्यस्तै कथा यतापनि नदोहोरिएला भन्न सकिन्न । सामान्य मान्छेहरुको मात्र के कुरा गर्नु ? ठूल्ठूला कारोबार गर्नेहरुले पनि बैक तथा बित्तीय संस्थाहरुबाट लिएको कर्जाको सदुपयोग गर्न नसकेका उदाहरण पर्याप्त छन् । त्यसरी टाट पल्टेर सडकमा पुगेका घटना उत्तिकै छन् ।

फेरि अन्र्तमनले भन्छ, प्रोफेसर डा. मोहमद युनूसले अगाडि ल्याएको माइक्रोफाइनान्स मोडेललाई आज विश्वले आत्मसात गरेको छ । आज हेर्न सकिन्छ, नेपालमा पनि धेरै यस्ता माइक्रोफाइनान्स कम्पनीहरु खुलेका छन् । जसले सहकारिताको मूल्य र मान्यताभित्र रहेर काम गरिरहेका छन् ।

गरिबका अर्थशास्त्री प्रोफेसर डा. मोहमद युनूसले प्रतिपादन गरेको यो सिद्धान्तले बंगलादेशले धेरै प्रगति गरेको छ । त्यै भएर पनि होला । नेपालका धेरै सहकारी संस्था र सहकारीकर्मीहरुले बंगलादेशको सहकारी क्षेत्र र माइक्रोफाइनान्सको मोडेलको अध्ययनका लागि योजना बनाउने गरेका छन् ।

इट इज अ ग्रेट अपर्चुनिटी
साथीहरुलाई प्यास लागेपछि चित्तगोङको सडक धेरै नाप्यौं हामीले । तर, हात लाग्यो शून्य । केही उपाय लागेन । साँझपख झण्डै चार पाँच किलोमिटर जति भिडभाड छिचोल्दै अगाडि बढ्दा पनि प्यास मेटिने सम्भावना देखिएन । दिनभरि सडकतिर माग्नेहरुको भिड, बिहान सडकमा सागसब्जीको मेला, साँझतिर किनमेल गर्ने र घर फर्किनेहरुको हतार । सडकमै लागेको बजार र असरल्ल पोखिएका मान्छेहरुसँग ठोक्किएला र झगडा पर्ला भन्ने पिर ।
यति लामो प्रयास गर्दा पनि त्यस्तो ठाउँ भेटिएन ।
अचम्म, बंगलादेश अल्पविकसित मुलुक भएपनि एउटा मामलामा भने सजग रहेछ । बरु जताततै सिगरेट खान पाइने । तर, जाँडरक्सीको बिक्री बितरणमा कडाई । मुस्किलले एउटा शहरमा चार पाँचबटा मात्र बारलाई स्वीकृित दिइएको हुँदो रहेछ । त्यो पनि साँझ ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने गरी । त्यसमा पनि एउटा मान्छेले आधा घण्टा भन्दा बढी बसेर खान र पिउन नपाइने । खानेकुराको पनि लिमिट तोकिने ।
अझ आम बंगलादेशीलाई यो छुट छैन । टुरिष्टलाई केही सहज भएपनि फाइभस्टार होटलतिर छिरेर कोकको जत्रो बोतलको बियर पिउँदा कसको मन मान्छ र ?

सिग्देलकाे प्रकाशित पुस्तक यात्रा संस्मरण : एक दिन (समय कथा) बाट

प्रतिक्रिया दिनुहोस्