Logo
Logo

बारा र पर्सामा हावाहुरीले २७ जनाको मृत्यु, ५०० बढी घाइते, विद्युत र सञ्चार अवरुद्ध


- दृष्टि न्युज/संवाददाता


बारा, १८ चैत । हावा हुरी र असिनासँगै भएको वर्षाले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति भएको छ । आइतबार साँझ हावाहुरीका कारण बारा जिल्लाको विभिन्न ठाउँमा कम्तीमा २४ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् भने २०० भन्दा बढी घाइते भएको अनुमान गरिएको छ ।


मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । हावाहुरीले बारा र वरिपरि ठूलो क्षति पुर्याएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार २४ जनाभन्दा बढीको मृत्यु भएको छ । उनका अनुसार कलैया अस्पतालमा १३ जना घाइतेको उपचार भइरहेको छ । ‘स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरी त्यहाँको साधनस्रोतले उद्धार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘मृतकको सनाखत हुन बाँकी छ ।’


प्रहरी उपरिक्षक सानुराम भट्टराईले मृतकको संख्या अझै बढ्न सक्ने जानकारी दिए । घाइतेहरुको कलैया र वीरगन्ज अस्पतालमा उपचारको लागि लगिएको उनले बताए । मानवीय उद्धारको लागि स्थानीय जनप्रतिनिधि, नजिकको प्रहरी र सर्वसाधारणहरु खटेका छन् ।
फेटा गाउँपालिकाको भरवलीया टोलमा विद्युतको पोल घरमाथि ढलेर ४ जनाको मृत्यु भएको छ। त्यहाँ २० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको उद्धार गर्दै उपचारको लागि अस्पतालमा र्पुयाउने काम भइरहेको प्रहरी उपरिक्षक भट्टराईले बताए ।

असिनाले बालीनालीमा ठुलो क्षति पुगेको छ । टेलिफोन सेवामा क्षति र्पुयाएको छ । विद्युतको पोलहरुमा ठुलो क्षति भएको छ । सयौं घरका छानाहरु हावाहुरीले उडाएको छ । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्