
काठमाडौं । आज असार १५ । विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ ।
आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ ।
धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तसम्म नभइ नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एसियाली मुलुकमै धानको महत्व बढी छ ।
कोभिड–१९ सङ्क्रमणका कारण पछिल्लो दुई वर्षदेखि भने यो दिन निकै खल्लो रूपमा बितिरहेको छ । निजी क्षेत्रबाट र किसानले आफ्नै तरिकाले स्वतःफूर्त रूपमा हिलो खेलेर छिटफुट रूपमा मनाए पनि सरकारीस्तरबाट हुने कार्यक्रम भने औपचारिकतामा मात्रै सिमित छ ।
गत वर्ष पनि साङ्केतिक रूपमा मनाइएको यो यसपटक पनि त्यसैगरी मनाउनु परेको छ । कृषि विभागका निमित्त महानिर्देशक जानुका पण्डित भन्छन– ‘धानको महत्व जोगाउन, किसानलाई प्रेरित गर्न, प्रचारप्रसार तथा परम्परालाई निरन्तरता दिनका लागि मात्रै आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दिवस मनाइएको हो ।’

राष्ट्रिय कार्यक्रमको रूपमा आज नेपाल कृषि अनुसन्धान परिषद्को खुमल्टार ललितपुरको फार्ममा स्वास्थ्य मापदण्डको पालना गरी दिवस समारोह भएको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री वसन्तकु्मार नेम्वाङले आज सांकेतिकरूपमा धान रोपेर यो दिवस औपचारिकता पूरा गरेका छन् । उनले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गरेका हुन् ।

कृषि कर्मलाई नियमित राख्न नसके निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षा हुने भएकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ कृषिका गतिविधि नियमित गरिएको कृषि मनत्रालयले जनाएको छ ।
सरकारले धानबाली सुरक्षित गर्दै क्षेत्र विस्तार र उत्पादन वृद्धिका कार्यक्रम अघि सारेको छ । जमिनको सुरक्षा, शुद्ध बीउ, सिंचाइ कार्यक्रम, जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने सरकारी लक्ष्य छ ।

नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ ।
विवरणअनुसार अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।
देशमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपामला ९६ लाख खाद्यान्न भयो भने पुग्छ तर वार्षिक ४० अर्ब बढीको चामल आयात भइरहेको छ । मानिसको खाने संस्कृति परिवर्तन भएकाले यस्तो भएको कृषि विज्ञको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, जन्मनु अघिदेखि मृत्युपर्यन्तसम्म धानको प्रयोग हुने मुलुकमा अनुसन्धान गरी नयाँ हाइब्रिड धानको विकास जरुरी रहेको औँल्याउनुहुन्छ । जलवायु परिवर्तन भइरहेकाले त्यसको प्रभावको आधारमा जातको विकास गरी अर्गानिक उत्पादनलाई समेत प्रवद्र्धन गर्नुपर्नेमा उनको जोड छ ।











