Logo
Logo

विवादकाे चाैघेरामा विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान


आनन्द श्रेष्ठ


धरान । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भइरहेको राजनीतिक नियुक्ति र भ्रष्टचारको विरोधमा स्थानीय नागरिक समाज र डाक्टर नर्सहरूको देशव्यापी आन्दोलनको रुप लिन थालेको छ ।

विपी प्रतिष्ठानका पदाधिकारीको राजनीतिक नियुक्ति बन्द गर्नुपर्ने, चारै जना पदाधिकारीले राजीनामा दिनुपर्ने र आर्थिक अनियमितताको छानविन गरिनुपर्ने मागसहित तीन साताअघिदेखि गरिएको आन्दोलन उत्कर्षमा पुगेको छ ।

प्रतिष्ठानका चिकित्सक नर्स, विद्यार्थी र कर्मचारीहरूको सयुक्त संघर्ष समतिले बिहीबार पदाधिकारीहरूसँग वार्तामा बसेका थिए । तर, वार्ता गर्न आएका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मादक पदार्थ खाएर आएपछि वार्ता भाँडिएको थियो ।

तीन सातादेखि आन्दोलन गरिरहेका संघर्ष समितिसँग पहिलोपटक वार्ता गर्न बसेका भिसी गिरीले रक्सी खाएर आएको र बोली लर्बरिएको भन्दै वार्ताबाट समितिका वार्ताकार बाहिर निस्किएर नारा लगाएका थिए । एउटा प्राज्ञिक मान्छे भएर वार्ता गर्न बस्दा मादक पदार्थ सेवन गरेर आउँनु लज्जास्पद र आपत्तिजनक भएको भन्दै उनीहरूले फेरि वार्ता गर्न नआउने निर्णय गरेका छन् ।

प्रतिष्ठानलाई कालो धब्बा लगाउने उपकुलपतिलगायति उनलाई सहयोग गर्ने अन्य शिक्षाध्यक्ष, अस्पताल निर्देशक र रजिष्ट्रारले पनि राजीनामा दिनुपर्ने माग थपेका छन् । र, अब सरकारले गठन गर्ने उच्चस्तरीय वार्ता टोलीसँग मात्र वार्ता गरिने अडान लिएका छन् ।

सोही अडानलाई मागमा परिणत गरी आइतबार संघर्ष समितिले एक वृहत विरोध ¥याली निकालेर धरान नगर परिक्रममा गरेको छ । यसअघि पनि समितिले दिनहँुजसो नारा जुलुस, धर्ना, रिले अनशन बस्ने कार्यक्रम गर्दै आएको छ । प्रतिष्ठानभित्र चर्किएको आन्दोलनलाई सघाउ पु¥याउन पत्रकार नारायण वाग्लेसहितको टोली गत बिहीबार काठमाडौँस्थित माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका छन् । यसैगरी प्रतिष्ठानका पूर्वविद्यार्थी चिकित्सकहरूले झापा, बुटवलमा पनि प्रदर्शन गरेका छन् ।

डा. गोविन्द केसी अनशनमा बस्ने
विपी प्रतिष्ठानमा पछिल्लो चरण झनै भ्रष्टाचार, अनियमितता बढेको भन्दै विपी सुधार्न धरान नागरिक सञ्जाल तथा राजनीतिक संयन्त्र नाममा समिति नै बनाएर दबाब दिँदै आएको छ । ७ बँुदे माग राख्दै सो सञ्जालले ज्ञापनपत्र बुझाएर ७ दिने अल्टिमेटम दिए पनि पदाधिकारीहरूले त्यसको कुनै सुनुवाइ गरेन ।

यता, आन्दोलनरत संघर्ष समितिलाई डा गोविन्द केसीले पनि साथ दिँदै प्रतिष्ठानको चारै जना पदाधिकारीहरूलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने र भिसीको नियुक्तिमा राजनीतिकरण हुनु नहुने भन्दै शुक्रबार एक विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा यसको लागि प्रतिष्ठानका कुलपति तथा सहकुलपति क्रमशः प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई दबाब दिन डा. केसीले विपी सुधारका लागि एकसूत्रीय माग राखेर आवश्यक परे अनसनमा समेत बस्ने जनाएका छन् ।

आन्दोलन दैनिक प्रशासन र पठनपाठनमा गम्भीर असर

२० दिनदेखि आन्दोलन गर्दै आएका संघर्ष समितिले गत बुधवार उपकुलपतिसँग बसेको वार्ता भाँडिएपछि उनीहरूले त्यसै दिन चारै जना पदाधिकारीहरूको कार्यालयमा ताला लगाइदिएका छन् । ताला लगाएपछि दैनिक प्रशासनको काम कारवाहीमा गम्भीर असर परेको एक अधिकृत बताउँछन् ।

महामारीको बेला क्षणक्षणमा पदाधिकारीहरू बसरे छलफल गरी बिरामीको सेवा सुविधा बढाउनु पर्ने अवस्थामा तालावन्दी गरिदिँदा दैनिक प्रशासन सञ्चालन र विद्यार्थीहरूको पठनपाठन रोकिन पुगेको छ । तर चारै जनाले राजीनामा नदिएसम्म आफ्नो आन्दोलन नरोकिने कुरा संघर्ष समितिका संयोजक एसपी रिमाल बताउँछन् ।

उनी भन्छन् अबको आन्दोलन वार कि पार गरेरै छाड्छौँ नत्र यो प्रतिष्ठान कहिल्यै सुध्रिँदैन । उपकुलपति लगायत चारै जना पदाधिकारीहरूले भने आन्दोलन चर्किँदै गएको देखेर अब आफूहरू सच्चिने भएकाले एकपटकलाई काम गर्ने मौका दिन अनुरोध गरेका छन् ।

भ्रष्टाचारका नाइके डा. बलभद्र दास

दुई वर्षअघि तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको विशेष कृपाबाट उपकुलपति बन्न सफल डा ज्ञानेन्द्र गिरी आएपछि कोभिडको महामारी शुरु भएको थियो । प्रतिष्ठानभित्र एक सय बेडको कोभिड अस्पताल शुरु भएदेखि डा. गिरीमाथि स्थानीय औषधि व्यापारीहरूसँग मिलेर आर्थिक अनियमितता गर्न थालेको आरोप लाग्न थालेको थियो ।

चलिरहेको अक्सिजन प्लान्ट बिगारेर धेरै बिरामीहरूले अनाहकमा ज्यान गुमाउन परेपछि प्रतिष्ठान प्रशासनको व्यापक विरोध हुन थालेको कुरा नागरिक सञ्जालका संयोजक डा. राजेन्द्र शर्मा बताउँछन् । हुन त यो प्रतिष्ठानमा भ्रष्टाचारलाई संस्थागत गर्ने र प्रतिष्ठानभित्र बेथिति भित्र्याउने मुख्य पात्र भनेको यसअघिका उपकुलपति डा. बलभद्र दास हुन् ।

तर, उनीहरूमाथि अहिलेसम्म कसैले कारवाही गर्न सकेन, त्यसैको परिणाम प्रतिष्ठानमा दण्डहीनताको अवस्थाले भ्रष्टाचारले मौलाउने ठाउँ पाएको हो भनी डा. शर्मा बताउँछन् । तत्कालीन उपकुलपति दासले बाल तथा प्रसूतिगृह निर्माण, अक्सिजन प्लान्ट खरिदजस्ता कयौँ विषयमा ठूलो रकमको हिनामिना गरेको भनी अख्तियारले उनीलगायत उनका सहयोगी व्यापारी कर्मचारी रजिष्ट्रारलाई करोडौँ बिगोसहित विशेष अदालतमा मुद्दा हालेको छ ।

तर, सधैँ अख्तियार, अदालतलाई समेत प्रभावमा राख्न सक्ने दासको यो मुद्दाको सबै सुनुवाइ भइसकेको छ तर पनि फैसला सुनाउन अदालतले किन ढिलाइ गरिरहेको छ यो चाहिँ शंकाको विषय भएको प्रतिष्ठानका एक अधिकृत बताउँछन् । भ्रष्टाचारको मुद्दा लागेर निलम्बित भए पनि डा. दास प्रतिष्ठानको भवनभित्र स–परिवार बसेर विभिन्न तीकडम गरिरहेको कर्मचारी बताउँछन् ।

रजिष्ट्रार बन्ने दौडमा दिलीप भट्टराईको नांगो नाच

आन्दोलनकारीले चारै जना पदाधिकारीको राजीनामा माग गरेर आन्दोलन चर्काइरहेको बेला प्रतिष्ठानका रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीको भ्वाइस रेकर्ड पनि चर्चामा आएको छ । गत वर्ष कोभिड अस्पतालको स्वास्थ्य सामग्री खरिद गर्दा उपकुलपति डा. गिरीले धरानका व्यापारी चेतन अग्रवालसँग मिलेर करिब डेढ करोड घोटाला गरेको भन्दै रजिष्ट्रार रेग्मीले एक पत्रकारलाई फोनमार्फत जानकारी दिएको अडियो रेकर्ड सार्वजनिक भएको छ ।

रजिष्ट्रारको नजिकको पत्रकार भनी चिनिने एक्सन खबर डटकमका सम्पादक केशव सापकोटासँग गरिएको सो फोन वार्तामा रजिष्ट्रार रेग्मीले कालोसूचीमा राख्नुपर्ने औषधि व्यापारी चेतन अग्रवालकै कम्पनीहरूलाई कम मूल्यामा ठेक्का पारी दिएर प्रतिष्ठानलाई घाटा पार्न उपकुलपतिले नै सहयोग गरेको आरोप लगाएका थिए । सो रेकर्ड तपाईँको डटकममा नआई अरुको अनलाइनमा एक्कासी कसरी आयो भनी दृष्टिले प्रश्न गर्दा पत्रकार सापकोटाले ‘खै ! कसरी आयो म पनि छक्क परेको छु । मैले त दिएको हैन’ भनी जवाफ दिएका थिए । तर, कुरा जे भए पनि रजिष्ट्रार भएर आएपछि डा रेग्मीले नियम मिचेर ल्याइने उपकुलपतिका फाइलहरू रोक्न थालेपछि उनीहरूबीच ठूलो विवाद कायमै छ ।

प्रतिष्ठानभित्र लामो समयदेखि स्त्रीरोग विभागका प्रमुख भएर इमान्दारिताका साथ काम गर्दै आएका रेग्मीलाई हालका उपकुलपति गिरीलेनै सिफारीस गरेर रजिष्ट्रार वनाएका हुन । तर गिरीको सल्लाहकार भएर आएका दिलीप भट्टराईले औषधि व्यापारी अग्रवालसँग सेटिङ मिलाएर आर्थिक अनियमितता गर्न थालेपछि रजिष्ट्रार रेग्मीले त्यसो नगर्न चेतावनी दिँदै फाइल रोक्न थालेपछि शुरुमा सुमधुर सम्बन्ध भएको उपकुलपति र उनका सल्लाहकारबीच ठूलै मनमुटाव हुन थालेको थियो ।

फलस्वरुप उपकुलपतिले २० लाखसम्म भुक्तान गर्न पाउने रजिष्ट्रारको अधिकारलाई कटाएर ५ लाखमा झारिदिएका छन् भने अस्पताल क्षेत्रको सबै खरिद बिक्रीको काम कारवाही अस्पताल प्रमुख डा गौरीशंकर शाहलाई दिइएको छ । तर पनि रजिष्ट्रार रेग्मीले प्रतिष्ठानको सुधारका लागि अािर्थक प्रशासनिक ऐन नियम परिमार्जन गर्नेदेखि लिएर पुराना घरहरू टेण्डरमा लगाएर प्रतिष्ठानको आम्दानी वृद्धि गर्ने धेरै कामहरू गरेको कर्मचारीहरू बताउँछन् ।

तर, उपकुलपति र अस्पताल निर्देशकहरूको गलत काम कारवाहीमा असहयोगी वन्न पुगेका रजिष्ट्रार रेग्मीलाई निकाल्न अहिले रजिष्ट्रार बन्ने र माल कमाउने दाउमा बसेकाहरूले हरेक दिन नयाँ नयाँ आरोप लगाउँदै फेसबुक र अनलाइन पत्रिकामा छपाउने गरेका कुरा प्रतिष्ठानका कर्मचारीहरू बताउँछन् । यसरी प्रतिष्ठानको रजिष्ट्रार पदमा आउन चाहनेहरूमा स्वयं उपकुलपतिका पूर्वसल्लाहकार दिलीप भट्टराई, श्याम लम्साल मुख्य रहेका छन् भने प्रतिष्ठानले आह्वान गरेमा आवेदन दिन चाहनेहरूमा नागरिक सञ्जालका संयोजक डा राजेन्द्र शर्मा, पत्रकार किशोर कार्की रहेका छन् ।

यसैबीच रजिष्ट्रार रेग्मीले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ७ करोड दिएर रजिष्ट्रार बनेको भनी उपकुलपतिका पूर्वसल्लाहकार भट्टराईले फेसबुकमार्फत आरोप लगाएका छन् । व्यापारीहरूसँग हाकाहाकी कमिशन मागेर प्रतिष्ठानलाई वदनाम गरेको आरोपमा सल्लाहकार पदबाट गलहत्याएर निकालिएका भट्टराईले हालका रजिष्ट्रारमाथि लगाएको आरोपको प्रतिष्ठानले हालै प्रेस विज्ञप्तिमार्फत खण्डन गरेको छ ।

विज्ञप्तिमा रजिष्ट्रार नियुक्ति प्रक्रियाअनुसार नै भएको र हरेक प्रक्रियामा भ्रष्टाचार देख्ने प्रवृत्तिबाट ग्रसित कुण्ठाग्रस्त मनसायले प्रेषित सामाजिक सञ्जालको समाचारमा सत्यता नभएको जनाउँदै त्यस्ता सञ्जालमाथि प्रेस काउन्सिलमा उजुरी दिने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्