Logo
Logo

वैदेशिक रोजगारीको व्यवस्थापन जरुरी : बराल


- दृष्टि न्युज/संवाददाता


रुपन्देही, २० चैत । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले वैदेशिक रोजगारीको व्यवस्थापन र स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन् ।
बुधबार रुपन्देहीको तिलोत्तमामा गरिएको ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उनले विदेशबाट फर्किएपछि पनि युवाहरुले सिकेका सीप र प्रविधिको सदुपयोग गर्न सक्ने अवस्था सिर्जना हुन नसकेको बताए । उनले भने, ‘वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन युवाहरु सीप सिकेर मात्रै जानुपर्छ ।’
मन्त्री बरालले श्रम र रोजगारीका सम्बन्धमा सञ्चारमाध्यमबाट आम नागरिकलाई सुसूचित गर्न कार्यक्रम महत्वपूर्ण हुने उल्ल्ेख गरे ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले वैदेशिक रोजगारीका कारण पहाडमा बस्ती खाली हुन थालेकाले स्वदेशमै रोजगारी सिर्जना गर्न जरुरी रहेको बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा जानेहरुका पीडा धेरै छन्, अब स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।’ तिलोत्तमा नगरपालिकाको एक लाख २४ हजार जनसङ्ख्यामध्ये १३ हजार १४ वैदेशिक रोजगारीमा रहेको तथ्यांक प्रस्तुत गर्दै उनले त्यसमध्ये अधिकांश खाडी मुलुकमा रहेको जानकारी दिए ।
वैदेशिक रोजगार बोर्डका निर्देशक दिनबन्धु सुवेदीले संघीय संरचनाअनुरुप बोर्डबाट प्रदान गरिने सेवा प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने काम भइरहेको बताए ।
पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले देश सङ्घीयतामा गएपछि केन्द्रमा हुने कार्यक्रम प्रदेशमा आयोजना हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । पत्रकारले सामाजिक सुरक्षा र रोजगारीका विषयमा खोजमूलक समाचार लेख्न यस्ता कार्यक्रमले सहयोग गर्ने धारणा राखेका थिए ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले संविधानको प्रस्तावना, नीति निर्देशक सिद्धान्तका आधारमा टेकेर समाजवाद निर्माण गर्न सकिने विचार व्यक्त गरेका छन् ।
समृद्धि सरोकार केन्द्रले मंगलबार बुटवलमा आयोजना गरेको समाजवादको पूर्वाधार र हाम्रो दायित्व विषयक अन्तरक्रियामा उनले विभेद समाप्त पार्दै समन्यायिक समाज बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘नेपाली समाज सहिष्णुपूर्ण छ, निकारागुवा, ब्राजिल, क्युवा, सोभियत संघका अनुभवहरु सिक्दै अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्