Logo
Logo

सोह्र दिनदेखि सडक अवरुद्ध, दुग्ध ढुवानीमा समस्या


रासस


बलेवा । बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्कविहीन छ । एउटै पहिराले जिल्लाको दक्षिण जोड्ने चार सडकमा क्षति पु¥याएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिमामा समेत सवारी आवतजावत बन्द छ ।

गत असार १८ गते राति आएको पहिराले बागलुङ –१० एक्लेशालमा चार सडकमा क्षति पु¥याएको थियो । कालिगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड, बागलुङ कुश्मीशेरा सडक, करिडोरको वैकल्पिक सडक र एक्लेशाल–भकुण्डे सडक पहिरोले बगाएको हो । सडकको गहिराईबाट नै पहिरोले बगाएकाले सडक मर्मतमा समस्या भएको नगरपालिकाले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि दूध ढुवानी गर्न नपाउँदा यहाँका किसान मर्कामा परेका छन् । नगरपालिकाको बलेवा क्षेत्र र जैमिनी किसानले उत्पादन गर्ने दूधको ढुवानीमा समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा दूध उत्पादक किसान मर्कामा परेको कालिगण्डकी दूध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताए । बलेवाका किसानले उत्पादन गरेको दूध पर्वतको सदरमुकाम कुश्मा, पोखरा र बागलुङ बजारमा बिक्री हुने गरेको छ ।

बलेवा कुश्मा यान्त्रिक पुलको प्रयोग गरेर किसानले दूध बजार पु¥याएका छन् । पुलको प्रयोग गर्दा लाग्ने भाडाले उत्पादन खर्च बढाएको किसान गुरुदत्त आचार्यले गुनासो गरे । चिस्यान केन्द्र पर्याप्त नहुँदा र समयमा बजारमा दूध नपुग्दा फाट्ने समस्या रहेको उनको भनाइ छ ।

बलेवाका किसानले दैनिक २०० लिटरभन्दा धेरै दूध उत्पादन गरेर बजार पठाउने गरेका छन् । ‘हाम्रो मुख्य पेसा नै यही हो’, उनले भने, ‘एक दिन दूध रोकिँदा व्यावसायिक किसानको हजारौँको क्षति हुन्छ ।’ वैकल्पिक सडकको व्यवस्था हुनुपर्ने उनको माग छ ।

कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालय बागलुङलेसमेत आआफ्नोतर्फबाट सडक खुलाउने प्रयास गरिरहेका छन् । ‘काम निरन्तर भइरहेको छ, पहरो नै खसेकाले समस्या छ’, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने, ‘विकल्पसमेत केही छैन् ।’

प्रतिक्रिया दिनुहोस्