गुहरी पर्व भव्यताका साथ मनाइँदै « Drishti News – Nepalese News Portal
Logo

गुहरी पर्व भव्यताका साथ मनाइँदै


हिक्मत बम


धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गुहरी पर्व भव्यताका साथ मनाइने भएको छ । थारु समुदायले मनाउने गुहरी पर्व २९ साउनमा मनाउन लागिएको हो ।

थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुहरी पर्व साउन २९ गते धनगढीको गुहरी चौकमा सामूहिकरुपमा गुरही पर्व मनाइने सखी सञ्जाल कैलालीले जनाएको छ ।

थारु समुदायले आफ्नो हक, अधिकार तथा पहिचानको रुपमा मनाउँदै आएको गुरही पर्वलाई यस वर्ष पनि सो पर्वको संरक्षण सम्वद्र्धनसहित मनाउन लागिएको सखी सञ्जालले जानकारी दिएको छ ।

धनगढीलगायत आसपासका क्षेत्रमा ‘गुरही’ पर्व सामाजिक दुरी कायम गरी भीडभाड मनाइने भएको बताइएको छ । कोभिड–१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरेर, भीडभाड नगरी आ–आफ्नो गाउँघर, टोल समुदायमा ‘आफू बचौँं र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित गुरही पर्व मनाउन लागिएको थारु समुदायका अगुवा जीतबहादुर चौधरीले बताए ।

थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व यस वर्ष जनचेतना फैल्याउने गरी मनाइने उनले बताए । उनले भने, ‘नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकोले देशैभरका थारु समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।’

थारु समुदायमा ‘गुहरी’ मनाउनुको अर्थ, नाग बाबालाई पूजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास रहेको छ ।

‘नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने हो’ उनले भने ।
यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ । थारु समाजमा ‘गुहरी, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ ।

थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ । यस पर्वमा गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहि आएको छ । यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।

गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने जनविश्वास रहेको थारु अगुवाहरु बताउँछन । यसका साथै सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, संकटलगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास रहि आएको छ ।

प्रतिक्रिया दिनुहोस्