Logo
Logo

नेकपा खारेज गर्ने न्यायाधीशको इजलासमा जसपा विवाद


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको आदेशविरुद्ध सर्वोच्च अदालत दर्ता गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ तोकिएको छ ।

आधिकारिकता विवाद निरुपण गर्न आयोगले केन्द्रीय कार्यकारिणी समितीको सनाखत गराउने निर्णय गरेपछि सो विरुद्ध ठाकुर सर्वोच्च पुगेका हुन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को विवादमा क्षेत्राधिकार बाहिर गएर आदेश दिने मध्ये एक न्यायाधीश रेग्मी पनि रहेकाले न्यायीक निरुपणमा अर्को अध्यक्ष यादव पक्षले आशंका गरेको छ ।

नेकपा जस्तै जसपा आधिकारिकताको विवाद पनि अदालतमा पुगेको छ । यो मुद्धाको सुनुवाइ पनि रेग्मीकै इजलासमा तोकिएको छ ।

के हो जसपाको विवाद र अदालतको झमेला ?
जसपाको आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले गठन गरेको इजलासले केन्द्रीय कार्यकारिणी सदस्य गनेर आधिकारिकता दिने निर्णय गरेपछि सो निर्णय रोक्न माग गर्दै ठाकुर पक्ष सर्वोच्चमा गत शुक्रबार रिट दर्ता गराएका थिए । रिटमा आयोगको निर्णय रोक्न परमादेश जारी गर्न माग गरिएको छ ।

आयोगले सोमबार दुबै पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर हेड काउन्ट अर्थात् मान्छे गनेर आधिकारिकता दिने बताएको छ । सोही निर्णयविरुद्ध ठाकुर पक्षका अधिवक्ता प्रदीप पाठकले दायर गरेको रिटमा कार्यकारिणी समितिमा गरेको हेरफेरलाई अद्यावधिक नगरी विवाद निरुपण प्रक्रिया अघि बढाउँदा पार्टी नेतृत्वको प्रयोजन नै समाप्त हुने दाबी गरिएको छ ।

आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले २०७७ असार १२ गते दर्ता भएको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि साउन ११ गते (सोमबार) बोलाउने निर्णय गरेको थियो । यसरी हेड काउन्ट हुँदा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाउने पक्का भएकाले ठाकुर पक्ष सोका विरुद्ध सर्वोच्च पुगेका हुन् ।

आयोगले आधिकारिकता विवाद समाधानका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरूको ५ सदस्यीय इजलास गठन गरेको छ । इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकी कुमारी तुलाधर र सगुनशम्शेर जबरा छन् ।

जसपा कार्यकारिणी समिति ५१ सदस्यी रहेको छ । अध्यक्ष यादव पक्षमा ३२ जना सदस्य छन भने ठाकुरको पक्षमा १८ जना सदस्य रहेका छन् । एक जना सदस्य (राजकिशोर यादव) तटस्थ रहेका छन् । तर राजकिशोर पछिल्लो अवस्थामा यादव पक्षमै खुल्न थालेको जसपा स्रोतको दावी छ ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच १० बैशाख २०७७ मा रातारात पार्टी एकीकरण भएको थियो । पार्टी एकता भएको १ बर्ष नबित्दै पार्टी भित्र सरकारमा सहभागि हुने बिषयमा तीब्र विवाद शुरु भएपछि पार्टी फुट नजिक पुगेको हो ।

पार्टी एकता पश्चात ५१ सदस्यीय कार्यकारिणी समिति र पाँच सदस्यीय पदाधिकारी बनेको थियो । पाँच सदस्य पदाधिकारीमा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राई एकातर्फ छन् भने अर्कोतर्फ अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्