Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : २२ सयमा काेराेना पुष्टिदेखि शेयर बजारमा उच्च वृद्धिसम्म


दृष्टि संवाददाता


. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ८३४ परीक्षणमा २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८० हजार ५५६ पुग्यो, पछिल्लो २४ घण्टामा थप २ हजार ५० जना संक्रमणमुक्त, हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ नाघे, थप १८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ पुग्यो ।

२. काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप, कोरोना संक्रमण जोखिमै रहेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकको निष्कर्ष, उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै, पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन भएन ।

३. जनता समाजवादी पार्टीको विवादलाई लिएर निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै अध्यक्ष महन्थ ठाकुरको मागबमोजिम अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार , साउन ११ गते आयोगले जसपाका केन्द्रीय कार्यकारिणी सदस्यलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन साउन ७ गते निर्णय, हेड काउन्टको अघिल्लो दिन उपेन्द्र यादव पक्ष भने रिसोर्टमा ।

. नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकमा एमाले नेता भीम रावलद्वारा विघठित कार्यदलको १० बुँदे प्रस्ताव पेश, प्रस्तावमाथि भोलिबाट छलफल गरिने, पार्टीभित्र कुनै पनि विवाद नरहेको रावलको स्पष्टीकरण, पार्टी एक ढिक्का भएर अघि बढ्ने दावी ।

५. नेपाल वायुसेवा निगम बेच्ने महाप्रवन्धक डिमप्रकाश पौडेलको योजनामा धक्का, निगमलाई निजीकरण गर्ने प्रकृया तत्काल अगाडि नबढाउन सर्वोच्चको अदालतको अन्तरिम आदेश, अधिवक्ता आतिस कार्कीले दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजीकरण गर्ने प्रकृया अघि नबढाउन अन्तरिम आदेश ।

६. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त, प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त, देउवा समक्ष पद तथा गोपनियताको सपथ लिएसँगै पदभार ग्रहण ।

७.सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबीच राय बाँझियो, न्यायाधीश केसी अन्तरिम आदेश जारी गर्ने पक्षमा र श्रेष्ठले विपक्षमा आदेश जारी गर्ने पक्षमा देखिएपछि रिटको सुनुवाई पूर्ण इजलासमा हुने ।

. धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले वृद्धि, गत साता सामान्य अंकले सुधार भएको बजारमा साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४ दशमलव ३१ विन्दुले उकालो लागेर तीन हजार ५८ दशमलव ६३ मा पुग्यो, कुल २२३ कम्पनीको चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री, सुन आयात पुरानै लयमा फर्कियो, अघिल्लो वर्षको तुलनामा ९२ % आयात बढ्दा राजस्वमा १६० प्रतिशतको वृद्धि ।

. राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले औपचारिक रुपमा राजीनामा नगरेको अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा जानकारी, १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न साफद्वारा नेपाललाई औपचारिक प्रस्ताव, टोकियो आलेम्पिकमा घरेलु टोली जापान प्रभावशाली, आइतबार एकै दिन चार स्वर्ण पदक जित्न सफल ।

१०.र, भारतको महाराष्ट्रमा बाढीको कारण १ सय २५ जनाको मृत्यु, भारत–हिमाञ्चलमा गयो भयानक चट्टानी पहिरो, ९ जनाको मृत्यु, भियतनाममा कोरोना संक्रमण दर बढेको भन्दै १५ दिनका लागि लकडाउन घोषणा, ब्राजिलमा एकैदिनमा थपिए १ लाख बढी कोरोना संक्रमित, अमेरिकी थप अधिकारी र संस्थामाथि चीनको प्रतिबन्ध, ‘विचलित नहुने’ अमेरिकी भनाइ ।

भारत–हिमाञ्चलमा गयो भयानक चट्टानी पहिरो, ९ जनाको मृत्यु (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्