Logo
Logo

ठाकुर समूहका तीन जनाद्धारा यादवको पक्षमा हस्ताक्षर


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवको पक्षमा राजकिशोर यादव, मनिष सुमन र गौविन्द चौधरीले हस्ताक्षर गरेका छन् ।

जसपामा आधिकारिता विवाद भएपछि निर्वाचन आयोगले सनाखतका लागि कार्यकारिणीलाई आयोगमै बोलाएको थियो । निर्वाचन आयोगले बोलाए पछि आयोग पुगेका मनिष, राजकिशोर र गोविन्दले पनि अध्यक्ष यादवकै पक्षमा हस्ताक्षर गरेका हुन् । आयोगले ‘हेट काउण्ट’का आधारमा आजै आधिकारिता विवाद टुंगो लगाउँदै छ ।

लामो समयदेखि अध्यक्ष ठाकुरलाई साथ दिँदै आएका कार्यकारिणी सदस्य तथा प्रदेश २ का सांसद मनिष, विगतमा तटस्थ रहँदै आएका कार्यकारिणी सदस्य तथा सांसद राजकिशोर र कार्यकारिणी सदस्य गोविन्द अन्तिम समयमा यादव पक्षमा खुलेका हुन् । यादव पक्षले आधिकारिता पाउँने निश्चित भएपछि ठाकुर–महतो पक्ष छोडेर दुई जनाले यादव समूह रोजेका हुन् ।

आयोगमा पुगेर हस्ताक्षर गरिसकेपछि राजकिशोरले भने– ‘म पार्टी एकताकै पक्षमा छु, जसपाको मूलधारसँग छु । अरु साथीहरुसँग पनि मेरो अनुरोध छ पार्टी एकताको पक्ष उभौं, पार्टीलाई फुटबाट जोगाऔं ।’

जसपा ५१ सदस्यीय कार्यकारिणी समितिमा ३५ भन्दा बढी सदस्य यादवको पक्षमा रहेका छन् । ठाकुर पक्षमा १६ नेता रहेका छन् । त्यस्तै ३४ सांसद मध्ये दुई जना निलम्बित हुँदा जसपामा सांसद संख्या ३२ छ । त्यसमध्ये २० जनाभन्द धेरै सांसद यादव पक्षमा छन् । यसैको आधारमा यादव पक्षले आधिकारिता पाउँने निश्चित भएको छ ।

निर्वाचन आयोगको इजलासले आज दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत सकेर आयोगको इजलासले आजै आधिकारिता सम्बन्धी फैसला सुनाउँने छ ।

प्रतिक्रिया दिनुहोस्