Logo
Logo

रेशम चौधरी तटस्थ, कसैको पक्षमा हस्ताक्षर गरेनन्


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य रेशम चौधरीले तटस्थ बसेका छन् । जसपा अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुर कसैको पक्षमा हस्ताक्षर नगरी उनी निर्वाचन आयोगबाट बाहिरिएका हुन् ।

पार्टीमा विवाद भएपछि कार्यकारिणी समितिका सदस्य रहेका चौधरीलाई आयोगमा उपस्थित गराइएको हो । कैलाली –१ बाट निर्वाचन प्रतिनिधिसभाका सदस्य समेत रहेका चौधरी अहिले टिकापुर काँण्डमा सहभागी भएको आरोपमा डिल्लीबजारस्थित जेलमा रहेका छन् ।

जसपाका निलम्बित सांसद चौधरी आयोग पुगेर जसपा संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव, वरिष्ठ नेता अशोक राईसँग भेटेर आयोगकै कार्यालयमा छलफल गरेका छन् ।

यस्तै आयोगको छुटै कोठामा रहेका जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसंग छलफल गरेका थिए । दुबै पक्षसंग लामो छलफल पश्चात चौधरीले कसैको पक्षमा हस्ताक्षर नगरी तटस्थ बसेका हुन् ।

पार्टीभित्र अध्यक्षद्धय यादव र ठाकुरबीच पार्टी आधिकारिता सम्बन्धी विवाद भएपछि आयोगमै चौधरीलाई ल्याएर हस्ताक्षर गराउँने व्यवस्था मिलाईएको हो । आयोगमा रहेका यादव र ठाकुर दुबै समुहका नेताहरुले चौधरीलाई स्वागत गरेका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार जसपा कार्यकारिणी समितिमा रहेका ५१ सदस्य मध्ये यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । एक जना चौधरी तटस्थ बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्