Logo
Logo

आरजुको आडमा अर्बको धन्दा


दृष्टि संवाददाता


काठमाडौं । ललितपुरको युलेन्स स्कुल नेपालकै सबैभन्दा महंगो स्कुलमा रुपमा चिनिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको समेत लगानी रहेको यो बिद्यालय चर्काे शुल्कका कारण बेला–बेलामा विवादमा समेत तानिन्छ ।

त्यही स्कुलका नाममा आरजु मात्र होइन त्यहाँको व्यवस्थापनमा रहेका व्यक्तिहरुले समेत करोडौं कमाएको खुलेको छ । बिद्यालयका अध्यक्ष सोम पनेरुले स्कुलका नाममा विदेशबाट ल्याएको सहयोग समेत दुरुपयोग गर्दै आएका छन् ।

पनेरु यूलेन्स स्कुल र युलेन्स फाउन्डेसन दुवैको अध्यक्ष हुन् । विदेशबाट फाउन्डेसनका नाममा करोडौं सहयोग ल्याउने र त्यसको दुरुपयोग हुने गरेको छ । त्यसरी दुरुपयोग गरिएको रकमबाट त्यहाँका सञ्चालकहरुले सम्पत्ति जोड्दै गएका छन् ।

यूलेन्स र नेपाल युथ फाउन्डेसनका नाममा विदेशबाट करोडौं ल्याएर दुरुपयोग हुँदै आएको छ । फाउन्डेसनको नाममा काभ्रेको पनौतीमा करिब चार सय रोपनी जग्गा खरिद गरिएको छ । त्यही जग्गाको वरिपरी पनेरुले समेत करिब ४० रोपनी जग्गा किनेको स्रोत बताउँछ । पनेरुले हालै भनिमण्डलमा एक महंगो घर समेत खरिद गरेका छन् ।

अर्काेतर्फ सो बिद्यालयले बिद्यार्थीमाथि समेत शोषण गर्दै आएको छ । कतिसम्म भने महामारीकै बेलामा समेत फार्ममा घुमाउन लगेर पैसा असुल्ने गरिएको छ । गोदावरीमा पनेरु आफैंले ‘एडु फार्म’ नामक कृषिसम्बन्धि फार्म खोलेका छन् । बिद्यार्थीलाई लक्षित गरि यस्तो फार्म खोलिएको हो । पैसा असुल्नै लागि यूलेन्सका बिद्यार्थीलाई कोरोना महामारीको बेला पनि त्यहाँ घुमाउन लाने गरिएको छ । एक बिद्यार्थीसँग १४ सय रुपैयाँ लिने गरिएको एक अभिभावकले बताए ।

यूलेन्स फाउन्डेसन र नेपाल यूथ फाउन्डेसन दुवैमा आरजुले नै अमेरिकाबाट सहयोग ल्याउने गरेको स्रोतले बताएको छ । साइमन्ड नामक एक अमेरिकी नागरिकसँग पछिल्लो समय ठूलो सहयोग लिइएको र त्यसको दुरुपयोग भइरहेको स्रोत बताउँछ । शैक्षिक सहयोगका नाममा आएका ल्याबटप, कम्प्युटर लगायत सामान आफु निकटका व्यक्तिहरुलाई बाढ्ने गरेको स्कुलका एक कर्मचारी बताउँछन् ।

गोरखा स्थायी घर भएका पनेरु आरजुसँग भाइटिका लगाउने गरेका छन् । आरजुकै आडमा उनले करिब एक अर्ब बराबरको सम्पत्ति जोडिसकेको स्रोत बताउँछ । साथी, रुडुक, युथ फाउन्डेसन लगायत आधा दर्जन संस्थामा उनी आबद्ध छन् । अभिभावक ठगेर कमाएको उनको सम्पत्तिको छानबिन हुनुपर्ने यूलेन्सकै कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्