Logo
Logo

सिक्दै, गर्दै गए अवश्य सफलता मिल्छ : सुरक्षा सेन्चुरी, गायिका


दृष्टि संवाददाता


दार्जिलिङकी सुरक्षा सेन्चुरी नेपाली गीतसंगीतमै करिअर बनाउने उद्देश्यसहित अहिले काठमाडौंमा छिन् । उनी दार्जिलिङबाट नेपाल आएको धेरै भएको छैन । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सिजन–३ मा पार्टीसिपेट हुन पाँच महिनाअघि उनी काठमाडौं आएकी हुन् । सुरक्षाले ‘द भ्वाइस अफ नेपाल’को टाइटल त आफ्ना लागि सुरक्षित गर्न सकिनन् । तर पनि खुसी छिन् । ‘नकआउट’ राउण्डबाट बाहिरिएकी सुरक्षाले त्यसपछि छोटो समयमै ३० भन्दा बढी गीत गाइसकेकी छन् । ‘यो सबै भ्वाइसकै श्रेय हो’ २३ वर्षीया सुरक्षा भन्छिन्, ‘त्यसैले विजेता बन्न नसकेपनि खुसी छु ।’ सुरक्षा बलिउड गायिका श्रेया घोषाललाई आफ्नो ‘आइडल’ ठान्छिन् । उनको स्वरमा बलिउड प्रभाव झल्किन्छ । सुरक्षाले गाएको तीज गीत सोमबारमात्र सार्वजिनिक भएको छ । उनी भन्छिन्, ‘मेरो गीत लाइनमा छन् । निरन्तर रिलिज गर्दै जानेछु ।’ यिनै दार्जिलिङका गायिका सुरक्षा सेन्चुरीसँग एमपी सुब्बाको जम्काभेट :

तपाइँ दार्जिलिङबाट कहिले आउनुभएको हो ?

पाँच महिना भयो । द भ्वाइस अफ नेपालमा सहभागी हुने नेपाल आएकी हुँ । त्यसपछि दार्जिलिङ फर्केकी छैन ।

दार्जिलिङमा गाउनुहुन्थ्यो कि भ्वाइसमा सहभागी पछि मात्र ?

म सानैदेखि गाउथेँ । गीत गाउने मेरो रुचि हो । तर, व्यवसायी रुपमा गाउन थालेको चाहिँ भ्वाइसमा आएपछि नै हो ।

द भ्वाइस अफ नेपालमा सहभागी हुनअघि तपाइँको गीत रेकर्ड भएको थिएन ?

अहँ थिए । गाउथेँ, तर रेकर्ड गर्ने अवसर पाएकी थिएन ।

अहिलेसम्ममा कति गीत गाउनुभयो ?

तीस वटाभन्दा बढी गाइसकेकी छु । यो सबै गीत भ्वाइस अफ नेपालबाट आउट भएपछि गाएकी हुँ ।

उक्त रियालिटी शो मा सहभागी भएर के सिक्नुभयो ?

धेरै कुरा सिकेँ । पहिले थोरैले चिन्नुहुन्थ्यो । भ्वाइसमा सहभागी भएपछि धेरैमाझ चिनिने मौका पाएँ । साथै, गुरुबाट गीतसंगीतबारे पनि धेरै सिक्ने मौका पाएँ ।

भ्वाइसको टाइटल जित्ने सपना लिएर दार्जिलिङबाट आउनुभयो । तर, नकआउटमै बाहिरिनु पर्दा कतिको दुःख लाग्यो ?

नकआउट हुँदा अलि–अलि दुःख लाग्यो । तर, जब नकआउन राउण्डबाट बाहिरिएँ, तब त्यो भन्दा बढी गर्छु भन्ने आत्मविश्वास लिएँ । त्यो भइरहेको पनि छ । त्यसैले अहिले खुसी छु ।

तपाइँको अनुभव भन्नुपर्दा रियालिटी शो हरु निष्पक्ष हुन्छन् ?

मलाई त निष्पक्ष नै हुन्छजस्तो लाग्छ । रियालिटी शो मा प्रतिभा हेर्ने हो । त्यसैले पक्षपात गर्न मिल्दैन ।

तपाइँ के कारणले शोबाट बाहिरिनुभयो ?

मेरो गायन ठीक थियो । अडियन्सले पनि मन पराइएका थिए । मेरो कमजोरी भनेको स्टेज पर्फमेन्स हो । सोही कारण बाहिरिएँ जस्तो लाग्छ ।

यतिखेर रेकर्डिङहरुमा व्यस्त हुनुहुन्छ । कस्तो लागिरहेको छ ?

म अत्यन्त खुसी छु । यो सबै द भ्वाइस अफ नेपालकै श्रेय हो । टाइटल जितेपनि गाउने हो । मैले नजितेर पनि गायनमा व्यस्त भएकी छु । यो मेरो लागि खुसी र ठूलो कुरा हो ।

सानैमा गायनप्रति कसरी प्रभावित हुनुभयो ?

म घरपरिवारबाटै प्रभावित भएकी हुँ । मेरो काका र बुबाहरुले पनि गाउनुहुन्थ्यो । त्यसैबाट प्रभावित भएर गुनगुनाउन थालेकी हुँ । त्यसपछि गायनलाई प्यासनकै रुपमा अँगाल्न सोच आयो ।

तपाइँको गायनमा बलिउड प्रभाव छ भन्ने सुनिन्छ । त्यो साँचो हो ?

हो, मेरो स्वर सुनेपछि धेरैले यस्तै प्रतिक्रिया दिन्छन् । म बलिउड गायिका श्रेया घोषालबाट प्रभावित छु । उहाँ मेरो आइडल पर्सन पनि हो । तर, कतिपयले मेरो स्वर कविता कृष्णमूर्ति र साधना सरगमको जस्तो छ पनि भन्नुहुन्छ ।

म बलिउड गायिका श्रेया घोषालबाट प्रभावित छु । उहाँ मेरो आइडल पर्सन पनि हो । तर, कतिपयले मेरो स्वर कविता कृष्णमूर्ति र साधना सरगमको जस्तो छ पनि भन्नुहुन्छ ।

अहिलेसम्म बजारमा तपाइँका गीत कति वटा आए ?

गाउन त धेरै गाएकी छु । तर, सार्वजनिक भएको चाहिँ पाँच वटा मात्र हो । आजै एउटा तीज गीत सार्वजनिक भएको छ । अब मेरो गीतहरु लगातार सार्वजनिक हुनेवाला छ । सबै तयारी छन् ।

अब दार्जिलिङ जानुहुन्छ कि यतै बसेर संघर्ष गर्नुहुन्छ ?

काठमाडौंमै बसेर नेपाली गीतसंगीतमा संघर्ष गर्ने सोच बनाएकी छु । दार्जिलिङ गएपनि पुनः काठमाडौं आउँछु । संगीतमै केही गरौँ भनेर बाटो तय गरेर यहाँ आएकी हुँ ।

नेपाली गीतसंगीतमा भविष्य देख्नुहुन्छ ?

करिअर र भविष्य बनाउने भनेरै यो क्षेत्रमा आएकी हुँ । भविष्य नै नदेखेको भए आउने थिइनँ ।

गीतसंगीतबाहेक यहाँ के गर्ने सोच छ ?

मेरो लक्ष्य नै गीतसंगीतको हो । त्यसैले गायनमै फुलटाइमर भएर लाग्छु । सिक्दै र गर्दै जाने हो । एक दिन अवश्य लक्ष्यमा पुगिन्छ भन्ने म मा आत्मविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्