Logo
Logo

सरकार फेरिएसँगै प्रहरीमा हलचल


दृष्टि संवाददाता


काठमाडौं । सरकार फेरिएसँगै एक्कासी प्रहरीभित्र ठूलो हलचल आएको छ । केपी शर्मा ओली सरकारले भावी महानिरीक्षकका रुपमा अघि बढाएका एआइजी सहकुल थापालाई नयाँ सरकारले जिम्मेवारविहिन बनाएको छ भने, तल्लो तहको बढुवामा पनि नयाँ समिकरण देखिएको छ ।

सरकारमा आएलगत्तै देउवाले एआइजी सरुवा रोकेका थिए । जसअनुसार प्रशासन विभागमा पदस्थापन भएका एआइजी थापा हाल जिम्मेवारविहिन बनेका छन् । उनीविरुद्ध ब्याचकै अन्य डिआइजीहरु लागेका छन् । थापा पनि कांग्रेस नेताहरु फकाउन घरदैलोमा लागेका छन् ।

यता डिआइजीमा पनि केही पद थपेर नयाँ ब्याचबाट बढुवा गर्ने तयारी थियो । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचबाट बढुवा गरियो । वरिष्ठताका आधारमा बढुवा गरिएपनि सबैभन्दा विवादास्पद व्यक्तिलाई बढुवा गरेपछि प्रहरी संगठन चरम निराशा देखिएको छ ।

प्रहरीमा सधैंभरी बदनाम पात्र शौरभ राणालाई डिआइजी बढुवामा सिफारिस गरिएको छ । गत वर्ष बलात्कार अभियोगमा उनी प्रहरी हिरासतमा बसेका थिए । पछि पीडित महिलालाई उजुरी फिर्ता गर्न लगाएर उनले उन्मुक्ति पाएका थिए ।

त्यो विषयमा सुरुमा गृह मन्त्रालयले छानबिन गरेर निलम्बन गरेको थियो । जसमा उनी आर्थिक अनियमिततामा समेत मुछिएको पुष्टि भएको थियो । विगतमा पनि उनी पटक पटक छानबिनमा परेका थिए । प्रहरी महानिरीक्षककै ब्याचका अन्य सोझा एसएसपीलाई अन्याय गरी राणालाई बढुवा गरियो । स्रोतका अनुसार गृहमन्त्रीपत्नी मञ्जु खाणको समेत दबाबमा उनको बढुवा भृएको हो । साथै प्रधानमन्त्री शेरबहादुर देउवाले समेत राणालाई नै बढुवा गर्न सहमति दिएका थिए । यो घटनाले प्रहरी बढुवामा कुन तहको हस्तक्षेप बढेको छ भन्ने प्रष्ट भएको छ ।

सइ बढुवामा पनि त्यस्तै देखिएको छ । पूर्व सभामुख कृष्णबहादुर महराका पिएसओ डबल बमदेखि प्रधानमन्त्री शेरबहादुर देउवाका पिएसओ हिमालय शाहसम्म बढुवामा परेका छन् । केही विवादास्पद अधिकृत बढुवा हुँदा इमान्दार र सिनियरहरु भने छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्