काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।
अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका छन् । उनी बिदामा बसेपछिका लागि सरकारले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रूपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन् । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रूपमा चिनिन्छन् ।
शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । उनले भारतबाट राष्ट्रिय प्रतिरक्षा र अमेरिकाबाट आतंकवाद सुरक्षा, थाइल्याण्ड, पाकिस्तान र बंगलादेशबाट उच्चस्तरीय तालिम तथा सेमिनाहरु पूरा गरेका छन् ।
रथी शर्माले आफ्नो ३७ वषे लामो सैनिक सेवाको दौरानमा संयुक्त राष्ट्र संघको शान्ति मिशनको पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तराष्ट्रिय कामाण्ड सम्हालेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।
शर्माको मुख्य प्राथमिकता कोभिड-१९ का कारण प्रभावित भएका तालिमहरुलाई सुचारु गर्ने। सेनाको क्षमतालाई अभिवृद्धि गर्ने र तीन जोड एक अवधारण अनुसारको पुनर्संचनालाई व्यवस्थित ढंगले कार्यान्वयनमा ल्याउने रहेको छ ।











