Logo
Logo

विनोद चौधरीले लत्याए राष्ट्र बैंकको निर्देशन


दृष्टि संवाददाता


काठमाडाैं । २०५१ सालको आम निर्वाचनको क्रममा विपी कोइरालाले आफूनिकट नेता, कार्यकर्तालाई भनेका थिए– ‘आम निर्वाचनपछि हामी सत्तामा त पुग्छौं, पुग्छौं त्यतिबेला पार्टीको विचार बोक्ने इमान्दार कार्यकर्ताहरु पाखा पर्छन्, तिनको हितमा पार्टीले काम गर्न सकेन भने पार्टी कमजोर हुन्छ ।

हामी सरकारमा पुगेपछि टाइसुट लगाउनेहरुले हामीलाई घेर्छन् । ‘ब्रिफकेस’ बोकेर व्यापारी धाउँछन्, त्यस्तासँग जोगिन सकिएन भने हामी आफैँ सकिन्छौं ।’

वीपी कोइराला कति दूरदर्शी थिए भन्ने कुरा उनले त्यतिबेला भनेका यी कुराबाटै पुष्टि हुन्छ । नभन्दै नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले पार्टी सुकिला मुकिलाकै कारण बदनाम छन् । त्यसमाथि वीपीका उत्तराधिकारीका रुपमा शेरबहादुर देउवा गणतन्त्र नेपालका प्रधानमन्त्रीमा आसिन छन् ।

वीपीकै विचारबाट प्रेरित भएर राजनीतिमा लागेका प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको लागि पार्टी शुद्धीकरण गर्ने अवसर पनि हो । यसका लागि उनी विनोद चौधरीहरु जस्ता दलाल पूँजीपतिबाट जोगिन सक्नुपर्छ । मुलुकको राजस्व मारेर अर्बपति भएका चौधरीहरु जस्ता व्यापारी आफ्नो कर्तुत लुकाउन कहिले कम्युनिष्ट, कहिले कांग्रेसको खोल ओढेर पार्टीकै हुर्मत लिइरहेका छन् ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको छ । सिंगो मुलुक राजनीतिक दुर्घटनाबाट जोगिएको छ । यस्तो बेला पार्टीका इमान्दार नेता, कार्यकर्तालाई मन्त्री बनाउनु पर्ने सुझाव देउवालाई दिएका छन् ।

तर, विपीपुत्र डा. सशांक कोइराला आफ्नो कोटाबाट विनोद चौधरीलाई मन्त्री बनाउन हिँडेको कुराले इमान्दार कार्यकर्ता शिर निहुर्योउनुपर्ने अवस्थामा पुगेका छन् । जसले गर्दा हरेक वर्ष साउन ६ गते वीपी स्मृति दिवस मनाउनु उनका छोरा र आफन्तका लागि ‘गोहीको आँशु’ झार्नु बराबर भएको छ ।

विनोद चौधरी व्यक्तिभन्दा पनि एउटा प्रवृत्ति हो । यो प्रवृत्तिको अन्त्य नभएसम्म नेपालको राजनीति र अर्थतन्त्र सधैँ धमिलो हुनेछ । किनभने, विश्वको खर्बपतिको सूचीमा अहिलेसम्म चाउचाउ उद्यमीको नाम समावेश छैन ।

विश्वमा ‘वाइवाई’ चाउचाउभन्दा बढी बिक्ने लाखौं ब्राण्ड छन् । तर, वाइवाईले चौधरीलाई किन खर्बपतिको सूचीमा चढायो भन्दा त्यसका पछाडि धेरै कथाहरु छन् । जुन कथा उनको आफ्नै आत्मवृतान्तमा पनि लेखिएको छ ।

विनोद चौधरीलाई नजिकबाट चिन्नेहरुले उनको भाग्य चम्कनुमा पानामामा दर्ता भएको एनबी इन्टरनेशनल कम्पनी हो भन्छन् । नबिल बैंकको शेयर खरिद गर्न उनले ट्याक्स ह्यावन कन्ट्री पानामामा आफ्ना छोरा बरुण चौधरीको नाममा यो कम्पनी दर्ता गराएका हुन् । नबिल बैंकको पचास प्रतिशत शेयरमा एनबी इन्टरनेशनल कम्पनीको नाउ छ । एनबी इन्टरनेशनल साउथ एशिया फाइनान्स कम्पनीको सिस्टर कम्पनी हो ।

एनबी इन्टरनेशनल कम्पनीको ब्यालेन्स सिटमा जगदीश कनोडिया, एल्टन सेन, अब्दुल आवल ‘मिन्टु’ र डेबिड जोजको नाम छ । ‘ट्याक्स ह्यावन’ देशमा कम्पनी दर्ता गरेर नेपालको कम्पनीमा लगानी गरेको देखाउने र राजश्व छल्ने उद्देश्यले यो कम्पनी दर्ता भएको हो । जसका कारण हरेक वर्ष अर्बौ रुपैयाँ मुनाफाको रुपमा विदेशिएको छ । त्यही रकमले चौधरी ग्रुपले हरेक वर्ष दुबई, मुम्बईलगायतका देशमा होटलमा लगानी गरेका छन् ।

यही कुरा बुझेर तत्कालीन नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले नबिलमा रहेको पचास प्रतिशत शेयरको मुनाफा अमेरिकी डलरमा विदेश लैजान रोक लगाएका थिए । तर, विजेपीका नेता भगतसिंह कोशियारीलाई प्रयोग गरेर चौधरीले त्यो निर्णय विफल बनाए । त्यसपछि पनि नेपाल राष्ट्र बैंकभित्र यो मुद्दा जीवित छ । तर, शक्ति केन्द्रलाई रिझाएर चौधरीले विदेशी मुद्राको अपचलन गरेका छन् ।

तिनै विनोद चौधरी देउवा सरकारको मन्त्री बन्ने दाउमा छन् । त्यो पनि परराष्ट्र मन्त्री । परराष्ट्र मन्त्रालय संवदेनशील मन्त्रालय हो । परराष्ट्रको सूचना कसैका लागि उपयोग गर्न उनलाई विदेशी शक्तिले त्यहाँ लैजान खोजेका हुनुपर्छ । जस्तो ओलीले अन्तिम समयमा सत्ता टिकाउन उपप्रधानसहित रघुवीर महासेठलाई परराष्ट्रमन्त्री बनाए । जसलाई परराष्ट्रको ‘प’ पनि थाहा छैन ।

ढाकामा खोलेको एनबी इन्टरनेशनल कम्पनी नेपालमा सन् १९९५ मा दर्ता भएको देखिन्छ । ‘एनबी इन्टरनेशनलको स्वामित्वमा रहेको शेयर तत्काल बाफियाबमोजिम विदेशी बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्न नबिल बैंकलाई एक वर्ष अगाडि पठाइएको थियो । तर, अहिलेसम्म चौधरीले त्यसको जवाफ दिएका छैनन् ।

नेपाल राष्ट्र बैंकले कुनै पनि नेपालीले मुलुकभित्र कमाएको रकम नेपालमै लगानी, सञ्चिती वा खर्चिनुपर्ने भन्दै विदेशी मुद्राको गैरकानुनी विदेश पलायनलाई रोक्न चौधरीलाई सचेत गराएको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) अनुसार नेपाली बैंक तथा वित्तीय संस्थामा विदेशी बैंक तथा वित्तीय संस्थाले मात्र शेयर लगानी गर्न सक्छन् । त्यही आधारमा धेरै अघिदेखि राष्ट्र बैंकले एनबी इन्टरनेशनल र उसको मुख्य लगानीकर्ता चौधरीलाई पटक–पटक नबिल बैंकमा रहेको ५० प्रतिशत स्वामित्व विदेशी बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्न ताकेता गर्दै आएको छ ।

राष्ट्र बैंक सूत्रका अनुसार २०७५÷७६ मा नबिलले ४ अर्ब २४ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो । त्यसमध्ये एनबीले दुई अर्ब १२ करोड रुपैयाँभन्दा बढीको लाभांश रकम विदेशी मुद्रामा परिवर्तन गरी ढाका लगेको थियो । ०७०÷७१ मा २ अर्ब ३२ करोड, २०७१÷७२ मा २ अर्ब ९ करोड, ०७२÷७३ मा २ अर्ब ८२ करोड, ०७३÷७४ मा ३ अर्ब ७४ करोड, ०७४÷७५ मा ३ अर्ब ९८ करोड र ०७५÷७६ मा बैंकले तीन अर्ब ५७ करोड गरी पछिल्लो सात वर्षमा २३ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा गरेको थियो । त्यसमध्ये १२ अर्ब रुपैयाँभन्दा बढीको विदेशी मुद्रा गत वर्षमा मात्र एनबीको नाममा चौधरीले विदेश पु¥याएका छन् ।

प्रतिक्रिया दिनुहोस्