Logo
Logo

साना उद्योगको विकासमा आर्थिक विकास सम्भव छः अर्थमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका साना तथा मझौला उद्योगको विकासले मात्रै आर्थिक विकास सम्भव रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंका पदाधिकारीसँग मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले भने– ‘साना उद्योगको सङ्ख्या कति छ ? अवस्था के छ र समस्या के छ ? बजारको अवस्था के हो ? उत्पादनको अवस्था के छ ? सबै कुराको अध्ययन गरेर के के गर्न सकिन्छ छलफल गरौँ ।’ आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार भएको भन्दै उनले देशभरका साना तथा मझौला उद्योगको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगको विकास गर्न सकिन्छ, त्यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्ने उल्लेख गरे ।

साना उद्योगको विकासको लागि सहुलियत कर्जाको व्यवस्था गर्न सकिने भन्दै मन्त्री शर्माले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्ने नै सरकारको प्रयास रहेको बताए ।

मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दिगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने बताउँदै मन्त्री शर्माले आम नागरिकको जीवनमा रूपान्तरण ल्याउनका लागि मूल तहमा अनुभूत हुनेखालका उद्यमशीलता विकास कार्यक्रम लागू गर्ने ती उद्यमको दिगो सञ्चालन आफ्नो प्राथमिकतामा रहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्