Logo
Logo

भारतको ज्यादतीविरुद्ध प्रतिकारमा उत्रिन चार दलको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । दार्चुलामा नेपाली नागरिक चढेको तुइन भारतीय सीमा सुरक्षा बल एसएसबीले काटेर अमानवीय ज्यादती गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार दलले आपति जनाएका छन् ।

नेकपा महासचिव विप्लव, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्व भक्त दुलाल (आहुति)ले निकालेको संयुक्त विज्ञप्तिमा भारतीय ज्यादतीविरुद्ध प्रतिकारमा उत्रिन आह्वान गरिएको छ ।

‘एसएसबीले काटिदिएर नेपाली नागरिक महाकालीमा बेपत्ता बनाएको घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप हो’, उनीहरुले भनेका छन्, ‘यो घटनामा बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, परिवारलाई न्याय र राहतको व्यवस्था तथा दोषीलाई यथाशिघ्र कारवाहीका लागि विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी माग गर्दछौं ।’

दार्चुलाको मालघाट तुइन काटिनु नेपालीको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारविरुद्धको हेपाहा र षड्यन्त्रमूलक घटना भएको चार दलले जनाएका छन् । उनीहरुले भारतीय पक्षले गराएको यस घटनाको डटेर प्रतिरोध गर्न पनि नागरिकलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्