Logo
Logo
एमाले विवाद

दोस्रो तह एकता खोज्दै, ओली-नेपाल घोचपेचमा रम्दै


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको विवाद झनझन चर्किदै गएको छ । दोस्रो तहका नेताहरु पार्टी एकताका लागि आन्तरिक छलफलमा रहेका बेला पार्टी अध्यष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भने आरोप-प्रत्यारोप झनै बढेको छ ।

वरिष्ठ नेता नेपाललाई ‘लाल गदार’को संज्ञा दिईसकेका अध्यक्ष ओलीले शनिबार काठमाडौं जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टीमा उनका लागि कुनै ठाउँ नभएको बताए । वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिनेहरुलाई पार्टीमा ठाउँ नहुने ओलीको भनाइ थियो ।

उनले भने– ‘माधव नेपालजस्ताका लागि पार्टीमा अब कुनै ठाउँ छैन् । आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, २७ जनालाई लिएर बाहिर जाने । दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’ यसअघि पनि ओलीले सरकारी निवास बालुवाटारबाट नीजि निवास बालकोट पुगेर बार्दलीबाट नेता नेपाललाई यसै भनेका थिए ।

अध्यक्ष ओली निरन्तर प्रहार गर्दैछन् । वरिष्ठ नेता नेपाल पनि ओलीविरुद्ध त्यसरी नै प्रस्तु हुँदै आएका छन् । नेता नेपालले ओलीलाई निरंकुश, स्वेच्छाचारी र अराजक भएको टिप्पणी गर्दै आएका छन् । ओलीका यस्ता अराजक गतिविधिविरुद्ध अझै कडा रुपमा उत्रिन आफूहरु तयार रहेको समेत नेता नेपालले भन्दै आएका छन् ।

शनिबार बबरमहलमा नेपाल निकट अनेरास्ववियुले आयोजना गरेको ‘अखिल फोर्स भेला’लाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरु सधैं लड्न तयार रहेको बताए । उनले भने– ‘म नै सर्वेसर्वा भन्ने भावनालाई अस्वीकार गर्ने हो । सबै खालका अराजक प्रवृत्तिलाई अन्त्य गर्ने हो । संविधान र लोकतन्त्रको रक्षाका लागि लड्न हामी सधै तयार छौं ।’

ओलीलाई इंगित गर्दै नेता नेपालले फेरि पनि प्रधानमन्त्री बन्छु कि भन्ठानेर जालझेल गरिरहेको भन्दै त्यसो नगर्न चेतावनी दिए ।

यसरी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एकअर्काविरुद्ध खनिँदै आएपनि एकठाउँमा बसेर छलफल गर्न दोस्रो तहका नेताले दबाब दिईरहेका छन् । ओली छलफलका लागि तयार भएपनि नेपालले अस्वीकार गर्दै आएका छन् । ओली नसुध्रेसम्म वार्ता गर्न नसकिने नेपालले अडान राख्दै आएका छन् ।

पार्टी एकताका लागि विगठित कार्यदलले गरेको १० बुँदे प्रस्तावमा छलफल गरेर आवश्यक परिमार्जनसहित अगाडि बढेर पार्टीलाई एकताबद्ध बनाउँन भन्दै दोस्रो तहका नेताहरुले दबाबा भने कायमै राखेका छन् ।

ओली निकट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बिहीबार र महासचिव विष्णु पौडेलले शुक्रबार वरिष्ठ नेता नेपाललाई भेटेर पार्टी एकताका लागि पहल गरेका थिए । दुवै भेटमा नेता नेपालले पार्टी अध्यक्षले आफ्नो कार्यशैली सुधार्नुपर्ने बताएका थिए । पार्टी एकताप्रति ओली इमन्दारीका साथ नलागेको बताउँदै उनले जालझेल अझै जारी नै राखेको आरोप लगाए ।

नेता नेम्वाङले पार्टीलाई एकताबद्ध बनाउँने विषयमा छिटै नै ओली र नेपालबीच छलफल हुने विश्वास व्यक्त गरे । तर, पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउँनका नेताहरुले खोचपेचको शैली त्याग्नुपर्ने उनको धारणा छ ।

नेपाल निकट स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी एकताका लागि औपचारिक÷अनौपचारिक छलफल जारी नै रहेकाले छिटै टुंगोमा पुग्ने विश्वास व्यक्त गरे । अहिले विभिन्न प्रस्तावहरुमा खुला रुपमा छलफल जारी रहेकाले पार्टी एकताका लागि छिटै सहमतीमा पुग्ने उनको भनाइ छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउँने गृहकार्य जारी रहे पनि परिस्थिति सहज बन्न सकेको छैन । र, पनि दोस्रो तहका नेताको प्रयास जारी छ । अध्यक्ष र वरिष्ठ नेताबीचको आरोप–प्रत्यारोप धेरै दिन नचल्ने र छिट्टै पार्टी एकताबद्ध हुने उनीहरुले आशा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्