Logo
Logo

एमाले विधान महाधिवेशन भदौमा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भदौमा विधान महाधिवेशन गर्ने भएको छ । ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको एमाले स्थायी कमिटी बैठकले २७ र २८ भदौमा विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

एमाले सचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र संगठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

यसैगरी संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन भएको छ ।

‘उपरोक्त प्रस्तावहरुलाई अन्तिम रुप दिन र यस सम्बन्धमा अन्य आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको बैठक आगामी हप्ता आयोजना गरिने छ’ प्रवक्ता ज्ञवालीले भने ।

बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरुमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ ।

बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्ने गरी घटित अमानवीय र क्रूर घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न सरकारसंग माग गरेको छ ।

सो घटना सम्बन्धमा भारतीय पक्षसँग जानकारी माग गर्न, दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्