Logo
Logo

समयमै पुल बनेकाे भए बाँच्ने थिए जयसिंह धामी


हिक्मत बम


तस्वीर : सामाजिक सञ्जाल

धनगढी । नदी तर्नेक्रममा शुक्रवार दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटमा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भए । उनको खोजीका लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

‘गाउँबाट दार्चुला सदरमुकाम जान हिँडेका धामी शुक्रवार बिहान भारतको बाटो हुँदै तुइन तर्दै थिए,’ प्रत्यक्षदर्शी जनक सिंह धामीले भने, ‘तुइनबाट किन तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुइन खोल्न लगाउँदा तारले तानेपछि उनी नदीमा हुत्तिए, भारतीय सुरक्षाकर्मीको ज्यादती निकै बढेको छ, हामी सास्ती भोग्दै छौँ ।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बेपत्ता धामीको खोजी कार्य जारी रहेको बताए । ‘हामीले घटना भए लगत्तै उनको खोजी कार्य सुरु गरेका थियौँ,अहिले सम्म भेटेका छैनौँ, खोजी कार्य जारी छ,’ उनले भने । बेपत्ताको खोजी र घटनाको अनुसन्धान गर्न घटनास्थलमा सुरक्षाकर्मी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी चन्दले घटनाको वास्तविकता खुल्न नसकेको बताए ।

तुइन काटेर जयसिंह धामी बेपत्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्राचार गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धारचुलालाई सत्य तथ्य छानबिन गर्न पत्राचार गरेको निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताइन् ।

कहिले हुन्छ तुइन विस्थापन ?
दार्चुलाका व्यवसायी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्छन् । महाकाली नदीमा झोलुङ्गे पुल बनाउन वर्षौँदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ । ‘हामी तुइनको भरमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ,’ व्यास गाउँपालिका–२ का नरेन्द्र धामीले भने, ‘केपी ओली नेतृत्वको सरकारले तुइन विस्थापनको घोषणा गर्दा निकै खुसी भएका थियौ, तर अहिले तुइनबाट छिमेकी बेपत्ता भए ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने निर्णय गरेका थिए । तर उनी तेस्रो पटक प्रधानमन्त्री बन्दा पनि निर्णय कार्यान्वयनमा ल्याउन सकेनन् ।

दार्चुलाको महाकाली नदीमाथि आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन् । ‘बर्खाको उर्लंदो महाकालीमा हामीले ज्यानकै बाजी थापेर आवतजावत गर्नुपरेको छ,’ व्यास ३ का उत्तम बुढाथोकीले भने, ‘किनमेल तथा गाउँमा उत्पादित कृषि उपज बिक्री वितरण र औषधि उपचारका लागि अस्पताल पनि तुइनबाटै जानुपर्छ ।’

पुल नबन्दा सबैभन्दा बढी सकस स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ । बालबालिका र ज्येष्ठ नागरिकले तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तार्न सहयोगी आउनै पर्ने बाध्यता छ ।

तुइनको डोरी चुँडियो भने सामान डुब्छ, मान्छेको ज्यान पनि जान्छ । ‘कति जना त महाकालीमा बेपत्ता पनि भएका छन्,’ ६० वर्षीय पदम धामीले भने,‘ फलामे तार खोलावारिपारि लगाइएको हुन्छ । तारमाथि रसीकोे प्रयोग हुन्छ । कैयौँले यही तुइनमा अड्काएको रसी चुँडिएर ज्यान गुमाएका छन्,धेरै बेपत्ता भए ।’

स्थानीय गोविन्द खडायत तुइन नभए खानलाई अन्न नहुने बताउँछन् । ‘चामल त्यही भारत गएर ल्याउनु पर्छ,’ स्थानीय गोविन्द खडायतले भने, ‘नेपालतिरबाट खच्चड आउने बाटोसमेत भत्किसक्यो। व्यासको सुनसेराको तुसरपानीमा पहिराले बाटो अवरुद्ध भएको छ । गाउँमा चामल पाउँदैन। तुइन लगाएर पारिपट्टिबाट ल्याउन पनि निकै समस्या छ ।’

महाकालीमा मात्रै छन् ११ तुइन

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा पदभार ग्रहण गरेकै दिन घोषणा गरेका थिए- अबको दुई वर्षभित्र नेपाल तुइनमुक्त देश बन्छ। तर, दार्चुलाका बासिन्दाको जीवन भने अहिले पनि तुइनकै सहारामा छ।

गत जेठमा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार अहिले पनि देशभर १४ वटा तुइन प्रयोगमा छन्। नदीहरू तर्न नेपालीहरू तुइनको भर पर्न बाध्य छन्। अनि यी १४ मध्ये महाकालीमा मात्र ११ तुइन रहेको सर्वेक्षणमा देखिएको छ। 

प्रतिक्रिया दिनुहोस्