Logo
Logo

आगो तापेरै रात कटाउँछन् मुसहर बस्तीका बासिन्दा


रासस

1.4k
Shares

जलेश्वर । पुसको कठ्याग्रिँदो जाडो । मुटु नै कमाउने चिसो सिरेटोले कक्रिएको शरीरलाई चारैतिर परालको कुन्यू, परालबाटै बनेको गुन्द्री र जुटको बोरामा पराल कोचिएर बनाइएको ओढ्ने ओछ्याउनेमा गुट्मट्याएर रात कटाउनुपर्ने बाध्यता छ उनीहरुलाई ।

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया गाउँका मुसहरहरुको जीवन वर्षौंदेखि यही बाध्यताले थिचिएको छ ।
खर र परालले नै छाएको सानो झुपडीमा उमेरले ६० वर्ष नाघिसकेका हुकुमा सदा आफ्ना १३ जना लालाबालासहित चिसो स्याँठसँग जुध्दै आएका छन् । उनको शरीरमा चिसो छल्न सक्ने जति लुगाफाटा छैन । फाटेको पातलो एकसरो कपडाले पनि ढाकेको छैन उनका छोराछोरी र श्रीमतीको शरीर ।

फाइल फोटो

उनको झुपडीमाथि टुटेका झिक्राझिक्री थिए भने बारबेरसमेत केही थिएन । तिनै झिक्रा दाउरा बालेर त्यसकै वरपर रात बिताउनुपर्ने उनको अवस्थाले हुकुमाको आर्थिक अवस्थालाई झल्काउने मात्र नभई भटौलिया गाउँमा बसोबास गर्ने अन्य मुसहर समुदायको गरिबीलाई देखाउँछ ।

यस बस्तीमा कोही नयाँ व्यक्ति पुग्यो भने बालबालिकाहरु केही बाँड्ने मान्छे आयो भन्दै दगुर्दै झुम्मिन आइपुग्छन् भने उनीहरुका बाबुआमा पनि केही पाइने आशमा तत्काल आइपुग्दै भन्छन्, ‘हजुर जे लाइलछी से ओकरेसबके ददिऔँ ।’

स्थानीय सीतादेवी सदा आफ्ना पाँच छोराछोरीसहित परालको ठुट्टो (लार)ले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लास्टिकबाट ठाउँठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रोमा चिसोसँगै लड्दै समय बिताउँदै आएका छन् ।

उनले घरभरि न्यानो पार्न पराल ओछ्याएका छन् भने ओढ्नका लागि जुटको ठूला–ठूला बोरामा पराल कोचेर बनाइएको सिरक राखेका छन् । उनी भन्छन्, ‘हाम्रो ओढ्ने, ओछ्याउने सबै परार नै हो ।’ आँगनमा खेल्दै गरेका उनका कुनै छोराछोरीका जीउमा पूरा कपडा थिएन ।

घरभित्रैबाट चिसोले काप्दै सीताले दुखेसो गर्दै भने, ‘हजुर हमरा सब लग केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है’ (हजुर हामी कहाँ कोही आउँदैनन् । मरिरहेछौ तर पनि कसैलाई कुनै मतलब छैन) ।

विगत चार वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै यसै झुप्रोमा दिन बिताउन बाध्य रहेको उनको भनाइ छ । ‘ठूलो परिवार भएकाले खानपानकै जोहो गर्न सकिँदैन भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनु’ भन्दै उनले थप पीडा पोखिन् ।
सोही गाउँमा पाँच वर्षदेखि दमको रोगबाट ग्रस्त बकेकी ६५ वर्षीया अनरिया देवी सदा झोत्रो कम्बल ओढेर काप्दै थिइन् । उनले आफूलाई पति र छोराछोरीले समेत राम्ररी हेरचाह नगरेको भन्दै सहारा मागेका थिए ।

उनी भन्दै थिइन्, ‘हजुर मलाई पनि आफूसँगै लैजानोस्, नत्र यहाँ केही दिनमै मर्छु । मलाई बिरामीले धेरै च्यापिसकेको भए पनि मेरो उपचार न त पतिले गराउँछन् न त छोराछोरीले नै मलाई माया गर्छन् ।’ उनले आफूलाई चिसो बढेसँगै दमको समस्या बढ्न थालेको तर तातो न्यानो र पोषिलो खाना पर जाओस् दुई÷तीन दिनसम्म भोकभोकै पनि रहनुपरेको गरेको दुखेसो सुनाइन् ।

स्थानीय ४५ वर्षीया कोशिला सदाले पनि दुई सातादेखि राति सुत्न पाएको छैन । उनले भने, ‘हजुर दिनभरि जसोतसो काटे पनि राति जाडोले सुत्न सकेको छैन । यही आगोकै भरमा रात बिताउनुपर्छ ।’ दुई सातादेखि ह्वात्तै चिसो बढेपछि बालबालिका र आफू समेतलाई बचाउन रातभिर पातपतिङ्गरको घूर जलाएर सुत्ने गरेको उनी भन्छिन् । आगो बालेर सुत्दा जल्ने पोल्ने डरले बालबालिकाहरुलाई सुताउँदै आफू जाग्रामै बस्ने गरेको उनको भनाइ छ ।

गरिबीको कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उनका श्रीमान दिनभरि मजदुरी गरेर कमाएको पैसामध्ये आधाभन्दा बढी मदिरामा उडाइदिने र बाँकी पैसाले उनको परिवारको धान्न मुस्किल हुने गरेको छ ।

हातमुख जोर्न नै धौधौ भएको बेला बालबालिकाहरुका लागि न्यानो लुगाफाटा र पोषिलो खानेकुरा धेरै परको कुरा बनेको छ । यस वर्ष मात्रै नभएर उनीहरुले वर्षौंदेखि जाडोयाममा यसैगरी समय काट्ने गरेको कोशिलाले सुनाए । दिनमा घाम लागे खुसी हुने र बेलुका घाम ढल्दै जाँदा दुःखी हुँदै रातभरि घूरमा आगो ताप्दै रात बिताउनुपर्ने उनको बाध्यता छ । उनको घरमा पतिसहित पाँच साना बालबालिका छन् ।

बाक्लो हुस्सु र डम्म परेको कठ्याग्रिँदो जाडोकै बीच बस्तीनजिकै धान खेतमा अर्काको धान बढार्दै गरेकी ७२ वर्षीया भुटीदेवी सदा टाढैबाट कराउँदै आफ्नो पीडा सुनाउन थाले । ‘हजुर, खान पाएकी छैन । घरमा अन्नपात केही छैन, जीउमा लुगा छैन, छानामाथि ओत छैन र यस्तोमा निष्ठुरी जाडोले ज्यानै लिन लागेको छ । केही सहयोग भए बाँच्ने आश पलाउने थियो ।’

कहाँ जाउँ, के गरुँ र कसरी बाँचु भन्ने चिन्ताले पिरोलिएकी उनी घरी आगो ताप्दै र घरी धान बढार्दै थिइन् । उनको सात बालबालिकासहित ११ जनाको परिवार छ । दैनिक रुपमा मजदुरी गरेपछि मात्रै उनको घरमा चुलो बल्छ ।

एक दिन पनि मजदुरी नभएमा त्यस दिन भनेकै भोकभोकै बस्नुपर्छ । जाडो याममा कहिले काम पाइन्छ भने कहिले कामै पाइँदैन । भुटीले भनिन्, ‘हजुर कोही दाता छन् भने हामीलाई कम्तीमा एक महिनाका लागि राहत दिलाइदिनुस् । एक महिनामा जाडो हटेर गएपछि पुनः रोजगारी गरेर खान्छौँ । अहिले ज्यान जोगाउनै धौधौ प¥यो ।’

उनीसँगै खेतमा एउटा हात नभएका शारीरिक रुपले अशक्त ११ वर्षीय किसन सदाले पनि जीउमा च्यातिएको आधा लुगा मात्रै लगाएका थिए भने कठ्याङ्गिँ्रदै एउटै हातले धेरथोर धान बटुल्दै थिए । उनको पनि उही पीडा थियो, ‘हजुर राहतमा मेरो पनि नाम लेखिदिनुस् मैले पनि दुई दिनदेखि केही खान पाएको छैन् । मेरो पनि घरमा आमा, तीन दिदीबहिनी र मलगायत पाँचजना छौँ । कमाउने कोही नहुँदा एउटै हातले भए पनि भोको पेटमा काम गरिरहेको छु ।’

त्यही बस्तैभित्रै सानो खर (पराल)को झुप्रोभित्रै पराल ओछ्याएरै दुईमहिने बालकलाई झुत्रो लुगामा बेरेर सुताइएको देखाउँदै सिकिन्दर सदा भन्दै थिए, ‘आफैँ त कसैगरी जाडो सहन सकिरहेको छु । सानो बच्चालाई कसरी जोगाउनु । घरमा चारैतिरबाट हावा पस्छ । जाडोले मुटु नै हल्लाउँछ । बाक्लो ओढ्ने ओछ्याउने नहुँदा बच्चा जाडोले रुन थाल्छ । कसैगरी कतैबाट राहत दिलाइदिनुस् ।’

गरिबीको पीडामा परेका यस्ता थुप्रै उदाहरणहरु यस गाउँमा भेट्न सकिन्छ । बस्तीका झन्डै एक सय परिवार मुसहरको अवस्था त्यस्तै रहेको छ । जुनसुकै घरमा जाँदा पनि सबैको उस्तै पीडा देखिन्छ ।

अभावै अभावमा जीवन काटिरहेका उनीहरुको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ । चिसो छल्न समयमै उनीहरुलाई न्यानो लुगाफाटा र पोषिलो खानेकुरा सहितको राहतको व्यवस्था गरिएन भने बस्तीमा मानवीय क्षति हुनसक्ने स्थानीय जोगिया सदाले बताए ।

सधैँ गाँस, बास र कपासको अभाव रहेको सम्पूर्ण बस्तीभरि नै जाडोको कहर रहेको तथा उनीहरुको ज्यान कुनै पनि बेला जान सक्ने अवस्था रहे पनि उनीहरुलाई केही राहत दिनसक्ने अवस्था नभएको वडाध्यक्ष रामविलास राय बताउँछन् ।

उनले आफू चाहेर पनि मुसहरहरुका लागि तत्कालै केही गर्न नसक्ने तर यस विषयमा गाउँपालिका अध्यक्ष दीपनारायण मण्डलसँग सहयोगका लागि आग्रह गरे । जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने यस क्षेत्रबाट सङ्घीय संसद्मा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् । प्रदेश नं २ को प्रदेशसभा सदस्यमा लोसपा नेत्री रानीकुमारी तिवारी निर्वाचित भएका छन् ।

जोगियासहित बस्तीका सम्पूर्ण पीडितहरुले स्थानीय मुसहरहरुलाई बढ्दै गरेको चिसोबाट जोगाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा सरकारी र गैरसरकारी प्रत्येक सरोकारवालासमक्ष ध्यानाकर्षका लागि आफूहरुको दुःख र पीडाको कुरा पु¥याइदिन सञ्चारकर्मीसँग आग्रह गरेका छन् । जाडोकै कारण यस गाउँमा बर्सेनि दुई/चार जनाले अकालमै ज्यान गुमाउनुपरेको छ ।

विगतमा आफूहरुलाई झूटो वाचा कसम खाएर विभिन्न प्रलोभनमा पार्दै भोट लिने गरेको तर जितेर गइसकेपछि कुनै वास्ता नराख्ने गरेको स्थानीयवासीहरु बताउँछन् । निर्वाचन जितेर गएपछि बस्तीमा कुनै पनि नेताहरु फर्केर आउँदैनन् भने आजसम्म मुसहरहरुलाई लक्षित गरेर कुनै कार्यक्रम सञ्चालन नगरिएको बस्तीका अगुवा रजिन्द्र सदाले बताउँछन् ।

मुलुकमा अनेक राजनीतिक परिवर्तन भए, तर यस गाउँका बासिन्दाले त्यसको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । रोग, भोक र कठ्याङ्गिँ्रदो चिसोबाट ज्यान गुमाउन लागेका मुसहरहरुको उद्धार र राहतका लागि जननिर्वाचित प्रतिनिधिहरुले ध्यान दिनुपर्ने स्थानीयवासीहरु माग गरेका छन् । देशमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि आफूहरुको पीडामा कुनै ध्यान नदिएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्