Logo
Logo

मन मनमा बाँचेकी शिवाता



काठमाडौं । जीवन नै कलामा समर्पण गरेकी रागिनी उपाध्यायको जीवनमा कहिले नमेटिने घाउको खाटा बस्यो । अहिले पनि मुटुको घड्कनसँगै उनी धड्की रहेकी छिन् । उनी आफैँलाई भुल्न सक्छिन् तर, त्यो धड्कनलाई भुल्न सक्दिनन् । ‘के पर्छ चोट ढुंगालाई, जति पर्छ मान्छेलाई… भने जस्तै रागिनीको जीवनमा छोरी गुमाउनुको पीडा जस्तो ठूलो चोट सायद अरु केही छैन होला ।

शिवाता, रागिनीको एक्ली छोरी थिइन् । सानै उमेरदेखि अत्यन्तै चञ्चल स्वभावकी छोरी बाबुआमाको घड्कन थिइन । तर, अचानक उनले २९ वर्षकै उमेरमा संसारबाट बिदा लिइन् ।

भौतिक रुपमा शिवाता हामी सामु नभए पनि उनको नाममा स्थपित ‘शिवाता लभ फाउण्डेशन’ले बेलाबेला आयोजना गर्ने कला प्रदर्शनीबाट उनी हामी सबैको मनमा बाँचिरहेकी छिन् ।

गत साता मात्र उनको सम्झनामा स्थापित फाउण्डेशनले रोयल सिंगी होटलमा फोटो तथा आर्ट प्रदर्शनी आयोजना गरेको थियो । उक्त प्रदर्शनीमा भारतका प्रोफेसर जय किसन अग्रवाल र बेल्जियमका स्व. फोटोग्राफर वील्ली ग्रेलको फोटोग्राफी प्रदर्शनमा राखिएको थियो ।

नेपालस्थित बेल्जियमका अवैतनिक राजदूत आङ छिरिङ शेर्पाले उक्त प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । प्रदर्शनी नेपाली तथा विदेशीले अवलोकन गरेका थिए भने, ग्रेलको पुरानो फोटो युरोपियनहरूको नजरमा परेको थियो । जुन बेल्जियमकै पुरानो फोटोमध्ये पर्दछ । शिवाताको जन्मदिन अर्थात वैशाख ९ गतेका दिन पारेर उनको सम्झनामा उक्त प्रदर्शनी आयोजना गरिएको थियो ।

फाउण्डेशनले ४५ जना छात्राहरूलाई मोरङ, दोलखा, रामेछापलगायतका विद्यालयमा छात्रवृद्धि प्रदान गरेको छ । त्यसैगरी फाइन आर्ट पढ्न नेपाली छात्राहरूलाई चीनमा छात्रावृत्ति दिइएको छ । अहिलेसम्म फाउण्डेशनबाट ७ जना छात्राले चीनमा अध्ययन गरिसकेका छन् ।

त्यसैगरी नेपाली छात्राहरूलाई आर्ट सम्बन्धी अध्ययन, अनुसन्धान गर्न फाउण्डेशनले ललितकला क्याम्पसमा पनि छात्रावृत्ति उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्