Logo
Logo

राजनीतिमा त्यागको स्थान


28.6k
Shares

विचार, सिद्धान्त र सामूहिकता कम्युनिष्टहरूका मूल आचरण हुन् । यी तीन आचरणबिनाको नेतृत्व, नेता र कार्यकर्ताहरू असली कम्युनिष्ट पार्टीका अनुयायी हुन सक्दैनन् । अर्थात् आवरणका कम्युनिष्टहरूले कम्युनिष्ट पार्टीको विरासत धान्न सक्दैनन् ।

आज विश्वको कम्युनिष्ट आन्दोलनले गम्भीर संकट बेहोर्नु परिरहेको कारण नै विचारअनुसारको व्यवहार नगर्नाले हो । सिद्धान्तलाई आफू अनुकूल व्याख्या गर्नाले हो । सामूहिकतालाई तिलाञ्जली दिनाले हो ।

यही सन्दर्भ नेपाली कम्युनिष्ट आन्दोलनमा पनि लागू हुन्छ । २००६ सालमा पुष्पलालहरूको नेतृत्वमा गठन भएको कम्युनिष्ट पार्टी आज अनेकन् भागमा विभाजित र छिन्नभिन्न बनेको अवस्थामा छ । नेपाली कम्युनिष्ट आन्दोलन यसरी धरासायी बन्नुमा कति कारण जिम्मेवार छन्, किन यसरी दिनप्रतिनिदिन कम्युनिष्ट आकर्षण घट्दै गइरहेको छ, किन कम्यनिष्टहरूको विरूद्धमा पूँजीवाद र यथास्थितिवादले राज गर्न खोज्दैछन् ? यी र यस्ता कैयन सवालहरूको जवाफ आजका कम्युनिष्टहरू दिनुपर्नेछ । यी जवाफबाट भागेर जाने कतै ठाउँ छैन ।

ठन्डा दिमाग लगाएर सोच्ने हो भने कम्युनिष्ट आन्दोलन खिइँदै जानुको मूल कारण नेतृत्वका गलत रवैया जिम्मेवार देखिन्छ । पार्टी सत्ता र राज्य सत्तामा पुगेपछि जनता र देशको निम्ति काम गर्नुको साटो व्यक्ति, गुट र बिचौलिया, दलाल पुँजीपतिहरूको भलाइका निम्ति काम गर्नाले यो हविगत भएको हो भन्न कुनै आइतबार कुर्न पर्दैन । यससँगै मूलतः विचारअनुसारको नेताको व्यवहार भएन । मुलुक र जनताको निम्तिभन्दा पनि आफ्नो र आफ्नाका निम्ति बाँच्ने, रमाउने गर्नाले आजको दिन भएको हो ।

आज जति पनि राजनीतिक दलका शीर्ष नेताहरू छन्, उनीहरूले मुलुकको लागि अथक प्रयास, मेहनत र पसिना बगाएका छन् । प्रत्येक नेताहरूको बारेमा चर्चा एउटा संक्षिप्त लेखमा सम्भव छैन । तर, केही उदाहरणीय नेताहरूको राजनीतिक जीवनबारे चर्चा गर्नु वाञ्छनीय हुन्छ ।
आज हाम्रो मुलुक र जनताले राजनेतालाई पर्खिरहेको अवस्था छ । भनिन्छ, नेता हरेक आन्दोलन र क्रान्तिले जन्माउँछ । तर, राजनेता युगले जन्माउँछ । हाम्रो देशको निकै लामो राजनीतिक इतिहास छ । खासगरी विसं १९९० को दशकदेखि नेपालमा लोकतान्त्रिक आन्दोलनको सुरूआत भएको देखिन्छ ।

त्यसयता मुलुकले हजारौँ नेता कार्यकताहरू जन्मायो । हजारौँ नेतालाई पदमा पुगायो । खैर, आज मुलुकले खोजिरहेको राजनेता, त्यागी र निष्ठाको प्रतीक कसलाई भन्ने ? यस सवालउपर आ–आफ्नै दाबीहरू छन् । तर, खागसरी यस उपाधिका असली हकदारको नजिक केही नेताहरू मात्रै छन् ।

राजनेता बन्ने अवसर
नेपाली राजनीतिक इतिहासमा पुष्पलाल, गणेशमान, कृष्ण प्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारीलगायतलाई लोकतन्त्रप्रति आस्थावान नेता कार्यतकर्ता र जनताहरूले आदर्श नेता ठान्छन् । त्यसपछि आउँछ जीवित केही नेताहरूको सवाल । आज कसलाई सबैभन्दा असल र सफल नेता मान्ने भन्ने सवाल जोडदार ढंगले उठिरहेको छ ।

त्याग, निष्ठा, पारदर्शिता, गतिशील, इमानदारिताजस्ता राजनीतिक कसीमा उभ्याएर हर्ने हो भने माधवकुमार नेपाललाई प्रस्ताव गर्न सकिन्छ । तर, नेता नेपालका सामु एउटा महान् अभिभारा आइपुगेको छ । त्यसको सामना कसरी गर्छन् ? त्यसले नेता नेपालको राजनीतिक इतिहास थप सुन्दर अक्षरले लेखिने छ ।

भनिन्छ, गणेशमान पछि प्रधानमन्त्री पद अस्वीकार गर्ने नेता हुन् माधव नेपाल । जनयुद्धको बलमा राज्यसत्ता कब्जा गर्न बन्दुक उठाएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने मुख्य भूमिका खेलेका नेता नेपालले मुलुकलाई योगदान त दिए नै, साथै, दुई सय ४० वर्षे इतिहास बोकेको जहानियाँ, निरंकुश राजतन्त्रको अन्त्य गर्नमा प्रमुख भूमिका खेले पनि ।

सोही कारण तत्कालीन नेता स्व.गिरिजाबाबुले नेता नेपाललाई अन्तरिम सरकारको नेतृत्व लिन अनुरोध गरेका थिए । तर, नेता नेपालले आफू नभएर उल्टै गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री बनाएर मुलुकलाई शान्ति कायम गर्ने काममा लागे । त्यसभन्दा पहिले मनमोहन अधिकारी प्रधानमन्त्री बनेको बेला माधव नेपाल उपप्रधानमन्त्रीसहित रक्षा तथा पराष्ट्रमन्त्री बनेका थिए ।

जुन बेला नेता नेपालको उमेर असाध्यै उर्जाले भरिएको थियो । नौं महिने एमाले सरकारले जति काम ग¥यो, त्यही कामलाई आज पनि निरन्तरता दिइएको छ । जुन काम नेता नेपालले देश, जनता र भावी पुस्ताकै निम्ति गरेका थिए ।

दुई ठाउँबाट चुनाव हार्दा केही दुखी बनेको नेता नेपाललाई शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका निम्ति उनको भूमिका अपरिहार्य बन्यो । त्यसपछि प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेपछि लडाकु व्यवस्थापन, अनमिन बिदाजस्ता काम गरे । जुन काम कुनै दल र व्यक्तिको निम्ति थिएनन् । ती कामहरू विशुद्ध मुलुक, जनता र भावी पुस्ताकै निम्ति थिए ।

७० को दशकको नेपाली राजनीतिले नेता नेपाललाई केही किनारा लगाउनेसमेत खोज्यो । तर, क्रियाशीलता र इमानदारिताले उनको राजनीतिक यात्रा रोक्न दिएन । एमाले र माओवादीबीच हठात एकता हुँदा केपी—प्रचण्डको छायाँमा परेको टिप्पणीसमेत भए । तर, जब ओलीले संविधानविपरीत संसद् विघटन गरे, त्यसपछि नेता नेपालले लोकतन्त्र र संविधानको रक्षा गर्न विद्रोहको झण्डा उठाए ।

जुन ऐतिहासिक काम थियो । पछिल्लो सत्ता समिकरण फेरबदल हुँदा काँग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको सुनिएको थियो । तर, कम्युनिष्टको एकता र ध्रुविकरण विरुद्ध जान नसकिने अडान लिए । जो नेता नेपालको दोस्रो प्रधानमन्त्री पदको अफर थियो ।

अन्त्यमा, अब उनी अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टी आफ्नो दशौँ महाधिवेशनको पूर्वसन्ध्या छ । यस घडीमा उक्त पार्टीभित्र नेतृत्व हस्तान्तरण प्रसंगले जबरजस्त स्थान लिएको छ । चौतर्फी अघिल्लो पुस्ताप्रतिको जनआकर्षण घटिरहेको, पद लोभी, सत्ता लोभीको आरोप लागिरहेको बेला नेता नेपाल आफैँ अध्यक्ष बन्छु भन्छन् वा दोस्रो पुस्ताको कुनै नेतालाई उत्तराधिकारीका रूपमा अघि सार्छन् ? त्यो भने हेर्न बाँकी छ ।

यत्तिको विरासत बोकेको अर्को कुनै जीवित नेता छैनन् । यही अवस्थामा एकीकृत समाजवादी नामको जहाजको ककपिटमा बस्ने र उत्तराधिकारीलाई जहाजको पाइलट बनाउने त्याग गरे भने नेता नेपालको हाइहाई हुनेछ । त्यति मात्र होइन, उनको राजनीतिक इतिहास गर्विलो बन्नेछ । कुनैबेला प्रचण्डलाई राजनेता बन्ने अवसर थियो । उनले त्यो चिन्न सकेनन् र आज उनी सबैभन्दा बढी आलोचनाको पात्र बनिरहेका छन् । आफन्तवादको चुङगुलमा फसेको अवस्था छ ।

त्यस्तै, आज नेता नेपाललाई निक्कै लामो समयपछि आफ्नो राजनीतिक यात्रालाई सुरक्षित र सुन्दर ढंगले अवतरण गर्ने अवसर आएको छ । सगरमाथा आरोहण गरेको व्यक्ति सगरमाथामा पाल टाँगेर बस्दैन भन्ने कुरा नेता नेपाललाई ज्ञात छ । त्यस्तै माधव नेपालले राजनीतिक जीवनमा गर्न बाँकी केही छैन । बाँकी भनेकै सहज र सरल रूपमा नेतृत्व हस्तान्तरण हो ।

दोस्रो र तेस्रो पुस्ताका नेतालाई अबको आन्दोलन र पार्टीको नेतृत्व गर्न सक्छन् भन्ने विश्वास गर्नुपर्याे । अभिभावक बनेर हार्दिकताका साथ एकीकृत समाजवादी नामक जहाजलाई सुरक्षित रूपमा उडान मैदान गर्नमा सहयोग गर्नुपर्याे । मोहनविक्रम, ओली, प्रचण्ड, वैद्य, विजुक्छे, चित्रबहादुर केसीहरूले आजीवन पार्टी अध्यक्ष बन्ने दाबी गरिरहेका बेला नेता नेपालले आसन्न महाधिवेशनमा नेतृत्व हस्तान्तरण गरे भने साँच्चिकै त्यो त्यागको भावी पुस्ताले मूल्यांकन गर्नेछन् । ऐतिहासिक हुनेछ । यस्ता उदार, दिलदार, त्यागी र निष्ठामा बाँच्ने कम्युनिष्ट नेता पनि छन् भनेर इतिहासमा माधवकुमार नेपालको नाम लेखिने छ ।

प्रतिक्रिया दिनुहोस्