काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन वर्ष बाँडीचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने बताएका छन् ।
पार्टीको कर्णाली प्रदेश भेलालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले भने, ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ-बज्छ ।’
सभापति लामिछानेले कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्ने भन्दै भने, ‘दलको उम्मेदवारले जित्ने होइन, कर्णालीले जित्नुपर्छ । कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्छ ।’
तर घन्टी बोकेर मात्रै नजितिने पनि कार्यकर्ताहरूलाई सभापति लामिछानेले बताए । उनले भने, ‘पार्टीमा पहिला लागेको भनेर अवसर पाइन्नँ । प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अवसर पाउँछ । घण्टी बोकेर मात्र जितिँदैन, जनताका एजेण्डा बाक्नुपर्छ ।’
ठूला दलहरूले रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेको भए त्यो असम्भव रहेको पनि उनले बताए । ‘२०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौं,’ उनले भने ।