Logo
Logo

पूर्वराजाको सन्देशपछि रविन्द्र मिश्रले अघि सारे १२ बुँदे व्याख्यात्मक टिप्पणी


3.1k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जारी गरेको सन्देश राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शान्तपूर्ण ढङ्गबाट नवीन समझदारी जाने बाटोको रुपमा लिएका छन् । प्रजातन्त्र दिवसका अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशपछि मिश्रले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सन्देशबारे सामाजिक सञ्ञ्जालमा १२ बुँदे आफ्नो दृष्टिकोण राख्दै नेता मिश्रले ठूला दलका ठूला नेता राजाको प्रजातन्त्र दिवसको सम्वोधनप्रति सकारात्मक हुन नितान्त जरूरी रहेको जनाएका छन् ।
उनले भनेका छन्, ‘राजाले त्यसै बोलेका छैनन् । सबै मिल्नुको विकल्प छैन ।’

उनले लेखेका छन्–

१। राजसंस्थाबाट गल्ती नै भएन भन्ने हुँदै होइन । राजासंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएका छन्। तर ती हजार गल्ती यति गम्भिर भए कि तिनले देशमा # नैतिक संकट र # ज्ञानको संकट चरम अवस्थामा पुर्‍याएर देशलाई नै # अस्तित्वको संकट उन्मूख बनाइ दिए ।

२। तसर्थ देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटीबाट शिक्षा लिँदै राजा र राजनीतिक दलहरू एक ठाऊँमा आउन अत्यावश्यक छ। राजाको सन्देशमा सबैले सबैका कमजोरीलाई क्षमा गर्दै # नवीन समझदारी मा जाने मनसाय भएको स्पष्ट भाव छ ।

३। राजाको आह्वानलाई ठूला दलहरूले पहिलेजस्तै अहंपूर्ण ढङ्गबाट लिने र राजालाई तथानाम गर्ने हो भने अब नेपालको राजनीतिमा हुने Systemic Overhauling पद्दतिपूर्ण र शान्तिपूर्ण हुने छैन । त्यो कसैका लागि पनि हितकर हुँदैन ।

४। ठूला दलका ठूला नेता राजाको प्रजातन्त्र दिवसको सम्वोधनप्रति सकारात्मक हुन नितान्त जरूरी छ । राजाले त्यसै बोलेका छैनन् । सबै मिल्नुको विकल्प छैन ।

५। छिमेकी भारतले पनि नेपालबारेको आफ्नो दृष्टिकोणलाई समिक्षा गरी पुनः दुई खम्बे नीति (संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र) मा फर्किन जरूरी छ । विश्वको सर्वशक्तिमान बन्ने दिशामा रहेको भारतका लागि साँध जोडिएको शदियौँको छिमेकी कमजोर, अविश्वासिलो, अस्थिर र अन्तर्राष्ट्रिय भूराजनीतिको क्रीडास्थल हुनु राम्रो हुँदै होइन ।

६। जहाँसम्म देशभित्रका राजसंस्थावादीहरूको कुरा छ, सबै राजसंस्थावादी पार्टी र समूहहरूले तत्काल आ–आफ्नो बैठक बोलाएर अब राजाको आह्वानमा कसरी परिणाममुखी ढङ्गबाट साथ दिने भनेर गहन छलफल गर्न अत्यावश्यक छ।

७। मैले पहिले पनि बोलेको र लेखेको हुँः झण्डै ८० वर्ष पुग्न लागेका राजाले राजसंस्थाको गरिमालाई कायम राख्दै र देशभरी राजसंस्थाको पक्षमा माहोल बनाउँदै जाने, र, अपवादलाई छोडेर, हामी – झगडिया, स्वार्थी, पदलोलुप, घमण्डी, अहमले पूर्ण-राजसंस्थावादीहरूले चाहिँ त्यो माहोल बिगार्दै जाने काम निरन्तर रूपमा भएको छ। अब त्यो कार्य तत्काल रोकौं । नत्र राजसंस्थावादीहरूले, अरू त कुरै छोडौँ, राजसंस्था पुनस्र्थापनाको श्रेय पनि पाउने छैनन् ।

८। ठूला दलहरूभित्र राजसंस्था फाल्नु गल्ती भयो भन्ने प्रशस्त साना÷ठूला नेताहरू छन् । अब ती नेताहरूले कुरा नचपाइ बोल्न पर्छ ।

९। त्यस्तै अनौपचारिक भेटघाट÷चिया गफमा राजसंस्था अत्यावश्यक भइसक्यो भन्ने तर ‘पश्चगामी’ को ट्याग लाग्ला, विवादमा परिएला भनेर बाहिर चाहिँ शब्दहरू तौलि–तौलि बोल्ने कयौँ नागरिक समाजका अगुवाहरू अब मौन बस्न हुँदैन ।

१०। अनि राजालाई झापा गएर भेटेर “राजसंस्था पुनस्र्थापना गर्ने पार्टी स्थापना गर्दा ठूलै रकम लाग्छ, त्यो प्राप्त हुन्छ कि हुँदैन?” भनेर राजासँग घुमाउरो प्रस्ताव गर्ने र रकम नआउने देखेपछि देशै हल्लाउने गरेर घनघोर गणतन्त्रवादी बन्दै पार्टी खोल्ने (हरू) ले अब के गर्ने हुन्, कुन्नी! तिनको पनि बुद्धि फिरोस् भन्ने कामना गर्दछु ।

११। जसरी देशको भलाइका लागि अनगिन्ती कमजोरीका अलावा लोकतन्त्र जोगाउनु जनताको दायित्व हो, त्यसैगरी आ–आफ्ना विचारभन्दा माथि उठेर कयौँ कमजोरीका अलावा देशको भलाइकै लागि राजसंस्था जोगाउनु जनताकै दायित्व हो ।

१२। छिटै शान्तपूर्ण ढङ्गबाट नवीनसमझदारी र Times New Roman को बाटोमा देश गएको देख्न पाइयोस् ! प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ! # विचार भन्दामाथि देश, # देशका लागि नरेश, # नवीन समझदारी

पूर्वराजा शाहले राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्ने देशको समृद्धि र उन्नतिका निमित्त आफूलाई साथ दिन देशवासीहरुलाई आह्वान गरेका थिए । उनले नेपालको उन्नतिकोे लागि अरु के के त्याग गर्नु पर्ने हो तयार रहेको पनि जनाएका छन् । उनले भनेका छन्–अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्