Logo
Logo

राजदूत नियुक्तिले परराष्ट्रमा खैलाबैला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । उर्जामन्त्रीलाई थाहै नदिई गत महिना बिद्युत् नियमन आयोगका अध्यक्ष नियुक्त भए । गत साता परराष्ट्रमन्त्रीको जानकारीबिना नै चार देशका राजदूतमा सिफारिस भएका छन् ।

दावाफुटी शेर्पा

देशको शासनसत्ता यसरी व्यक्तिमा केन्द्रित भएको छ कि सम्बन्धित मन्त्रीहरुलाई समेत जानकारी नदिई मन्त्रालयसँग सम्बन्धित निर्णयहरु हुन थालेका छन् । शक्तिकेन्द्रहरुको चलखेल र आर्थिक लेनदेनको प्रभावले सरकारका मन्त्रीहरुसमेत निरीह बनेका छन् ।

विधि र मापदण्ड मिचेर चलखेलका आधारमा सरकारले चार देशमा राजदूत नियुक्ति सिफारिस गरेपछि परराष्ट्रकै अधिकारीहरुले अचम्म मानेका छन् । परराष्ट्रकै अधिकारीले यसपटक मिडियामार्फत् राजदूत नियुक्त भएको थाहा पाएका थिए । जबकि परराष्ट्र मन्त्रालयले नै राजदूत नियुक्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउनुपर्दथ्यो ।

ठूला नेताहरुको चलखेलका कारण राजदूत नियुक्तिबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समेत छलफल गरिएन । राजदूत नियुक्तिसम्बन्धी कार्यविधिलाई हेर्दा समेत हेरिएन । जसले यो नियुक्ति निकै विवादमा परेको छ ।

९ महिनाअघि मात्र नेकपामा प्रवेश गरेका चितवनका महेश दाहाललाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गरिएको छ । उनी विगतमा कांग्रेसको राजनीतिमा थिए । कांग्रेस सरकारमा भएका बेला नेपाल टेलिभिजनको अध्यक्ष भएका थिए । कूटनीतिसम्बन्धि कुनै ज्ञान नभएका उनी प्रचण्डसँगको निकटताकै कारण राजदूत हुने मौका पाएका छन् ।

त्यस्तै स्पेनका लागि राजदूत सिफारिस भएकी दावाफुटी शेर्पाको बारेमा यसअघि कसैलाई पनि थाहा थिएन । प्रथम सगरमाथा आरोही पासाङल्हामु शेर्पाकी छोरी हुन् उनी । शेर्पा परिवारको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकटताकै आधारमा उनले राजदूत बन्ने अवसर पाएकी छन्् । जबकि परराष्ट्र मन्त्रालयले स्पेनमा नेपाली दूतावास नै आवश्यक नभएकाले त्यसलाई अन्यत्र सार्नका लागि प्रक्रिया अघि बढाएको थियो ।

कतारका लागि राजदूत नियुक्त भएका नारद भारद्वाज वाग्ले प्रधानमन्त्री केपीका साथी भएकाले राजदूत हुने अवसर पाएका हुन् । ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा उनको नाम श्रीलंकाको राजदूतमा सिफारिस भएको थियो । तर, सरकार फेरिएपछि उनको संसदीय सुनुवाई भएन ।

कतारमा यसअघि पनि चलखेलका आधारमा राजदूत नियुक्त हुँदा दुई देशको सम्बन्धमै समस्या आएको थियो । कृषि विकास बैंककी कर्मचारी मायादेवी शर्मालाई कतारको राजदूत बनाउदा उनले कतार खुला जेल हो भनेर अन्तर्वार्ता दिएपछि उनलाई हटाउनुपरेको थियो ।

त्यस्तै बंगलादेशका लागि सिफारिस भएका डा.बंशीधर मिश्र पूर्व स्वास्थ्य मन्त्री हुन् । माधव नेपालको कोटामा उनले राजदूत बन्ने अवसर पाएका छन् । यसअघि कांग्रेस नेतृ पुष्पा भुषालका श्रीमान डा.चोपालाल भुषाल बंगलादेशको राजदूत रहेकोमा सरकारले फिर्ता बोलाएको थियो । स्पेनका राजदूत भरत रायमाझीलाई पनि फिर्ता बोलाएर खाली गराइएको थियो ।

कांग्रेस सरकारले नियुक्त गरेका धेरै राजदूतलाई फिर्ता बोलाए पनि जापानकी प्रतिभा राणा लगायतलाई भने फिर्ता बोलाइएको छैन । प्रतिभा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु भएकाले देउवाकै दबाबमा उनलाई नहटाइएको हो ।

अब दक्षिण कोरिया र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासमा राजदूत पद रिक्त छ । त्यहाँ नियुक्तिका लागि समेत चलखेल भइरहेको छ । रिक्तमध्ये आधा पदमा परराष्ट्रका कर्मचारीलाई राजदूत बनाउने कार्यविधि भएपनि सरकारले त्यसलाई मिच्दै गएपछि परराष्ट्रमा असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्