Logo
Logo

रेणु दाहालको नेतृत्वमा भरतपुर महानगरले फेरेको मुहार


27.8k
Shares

चितवन । पवित्र नारायणी नदी किनारमा अवस्थित भरतपुर शहर । नेपालका ६ वटा महानगरपालिका मध्येको एक महानगरपालिका ।

यो महानगरपालिका भौगोलिक हिसाबले चार सय ३२ दशमलव ९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७८ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या तीन लाख ६९ हजार ३७७ पुगेको छ । नेपालका छ महानगर मध्ये जनसंख्याको हिसाबले काठमाण्डौं, पोखरा पछि तेस्रो स्थानमा छ भरतपुर ।

नेपालको क्षेत्रफलको शुन्य दशमलब २९ प्रतिशत मात्र क्षेत्रफल र नेपालको जनसंख्याको एक दशमलब २६ प्रतिशतको हाराहारीमा जनसंख्या रहेको भरतपुर महानगर चर्चाको हिसाबले नेपालकै केन्द्रमा छ । स्थानीय तह निर्वाचनले भरतपुरलाई चर्चाको शिखरमै पुर्याको छ ।

भरतपुर चर्चाको कारण रेणु दाहाल हुन् । प्रचण्डको गृह जिल्ला, प्रचण्डको छोरी रेणु दाहालको महानगर भएर मात्र नभइ मेयरको रुपमा पाँच वर्षमा नेणुको नेतृत्वमा भएका कामका आधारमा पनि भरतपुर चर्चाको विषय बनेको हो । भरतपुरले विकासमा लिएको गतिबारे धेरैलाई जानकारी नहुन सक्छ ।

नारायणी नदी तटमा रहेको विकासको दृष्टिकोणले प्रशस्त सम्भावना बोेकेको भरतपुर महानगर नेपालको सबैभन्दा तीब्र गतिले विकास भइरहेको शहरहरु मध्ये शीर्ष स्थानको शहर हो ।

नारायणी नदीको तटमा अवस्थित रहेको यो शहर चितवन लगायत नेपलाको केन्द्रीय राजधानी काठमाडौं र मध्य क्षेत्रमा पर्ने गण्डकी र बागमती प्रदेशलाई तराईसंग जोड्ने श्रृखला एवं नेपालको व्यापारिक केन्द्र हो ।

यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ शहरमा मुख्य व्यापारिक पसल र ठूला होटलहरु रहेका छन भने अन्य आवश्यक पूर्वाधारका साधनहरु नगरको अन्य क्षेत्रहरुमा रहेका छन् । कुल २९ वटा वडा रहेको भरतपुरको जनसंख्या अघिल्लो जनगणनामा दुई लाख ८० हजारको हाराहारीमा मात्र थियो ।

कसरी बन्यो महानगर ?
२०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय गरी फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित गरि भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गरिएको हो ।

भरतपुर लाई उपमहानगरपालिका बाट स्तर उन्नती गरि महानगर बनाउन यहाँका राजनीतिक पार्टी नेतृत्वको ठूलो योगदान छ । त्यसमा पनि तत्कालीन प्रधानमन्त्री एवं हाल चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठूलो योगदान छ । उनकै कारण धेरै पूर्वाधार अपुग हुँदा पनि भरतपुर महानगरमा स्तरोन्नती गरिएको थियो ।

महानगर बनाउँदा साविकका भरतपुर उपमहानगरपालिकामा नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाउँ विकास समितिलाई समावेश गरि २९ वडामा विभाजन गरिएको हो ।

यस अघि २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाएर भरतपुर नगर पञ्चायत बनाइएको थियो । सोही नगर पञ्चायतलाई २०४८ सालबाट भरतपुर नगरपालिकाको रुपमा ग्रहण गरिएको थियो ।

त्यस पछि २०७१ साल मंसिर १६गतेको तत्कालीन नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले मंगलपुर, फुलबारी, गीतानगर, शिवनगर र पटिहानी गरि पाँच गाउँपालिकालाई समावेश गरि भरतपुर उप–महानगरपालिका बनाइएको थियो ।

पहिलो स्थानीय तह निर्वाचन २०७४ मा यस महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले महानगर प्रमुख र उपप्रमुखमा गठबन्धन गरि प्रमुख पदमा रेणु दाहाल र उपप्रमुख पदमा पार्वती शाह ठकुरी विजयी भएका थिए ।

नेपालमा ७५ जिल्ला रहेको बखत चितवनलाई ७६ औ जिल्लाको रुपमा चित्रण गरिथ्यो । यहाँको बसोवास र रहनसहनले यतिवेला पनि ७८ औं जिल्लाको रुपमा हेरिन्छ । चितवनको भरतपुर महानगरपालिका समग्र जिल्लाकै पहिचान जस्तै प्रकृतिको छ ।

यस महानगरपालिका क्षेत्रमा नेपालका प्रायः सबै जसो जिल्लाबाट बसाई सराई गरि आएका बासिन्दाहरुको मिश्रित बसोबास छ । त्यही मिश्रित बसोवास यहाँको विकासको आधार हो ।

पाँच वर्ष अन्तरालमा भरतपुर
पाँच वर्ष अगाडिसम्म भरतपुर महानगरपालिका क्षेत्रको बिकास समय गति अनुसार चल्दो थियो । जनघनत्व बढ्ने र नयाँ शहरमा परिणत हुँदा समेत बदलिंदो समयको गतिलाई पक्डिन सकेको थिएन ।

महानगर घोषणा हुँदै गर्दा महानगरमा हुनुपर्ने अधिकाँश प्रावधान पुरा भएका थिएनन् । माथि उल्लेख भइसके जस्तै मात्र चितवनका राजनीतिक दलहरुको पहल त्यसमा पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको पहलकदमी र साथले भरतपुर महानगरपालिकामा परिणत भएको थियो । यहाँको अवस्थाले महानगरलाई गिज्याई रहेको भान हुन्थ्यो ।

उपमहानगरपालिकाबाट महानगरपालिपकामा स्तरोन्नति भए पनि आवश्यक पूर्वाधारको विकास थिएनन् । निर्वाचित जनप्रतिनिधिलाई काम कहाँबाट शुरु गर्ने अन्योल थियो । कांग्रेससँगको सहकार्यमा जितेर आएका महानगर प्रमुख रेणु दाहाललाई प्रतिस्पर्धामा रहेको अर्को पार्टीबाट जितेर आएका जनप्रतिनिधिको साथ थिएन ।

केही समय काम गर्नसमेत निक्कै अप्ठ्यारो परिस्थिति सिर्जना भयोे । तर, पछिल्लो समयमा परिस्थितिले कोल्टे फेर्याे । लगभग पाँच वर्षको यो अवधिमा भरतपुर देशकै नमूना शहरमा परिणत हुँदै छ ।

महानगर प्रमुखको जिम्मेवारी सम्हालेका रेणु भन्छन्– ‘लगभग वितेको पाँच वर्षको पहिलो तीन महिना साउनदेखि असोज सम्मको अवधि प्रतिद्वन्द्वी साथीहरुलाई सम्हाल्दैमा बित्यो । झण्डै दुई वर्ष कोरोनाको कारण भने जति काम गर्न सकिएन । तर पनि यहाँको विकास अन्य स्थानीय तहको भन्दा राम्रै भएको भन्ने ठानेकी छु । मैले मात्र भनेको होइन सबै त्यसै भन्छन । खै सबैको वाहीवाही खाइरहेकी छु ।’

सडक पूर्वाधारमा क्रान्ति
२०७४ पूर्व भरतपुरमा जनसंख्या मात्रै बढेको थियो । पूर्वाधार विकासको कुनै छेकछन्द नै थिएन । सडक पूर्वाधारको अवस्था नाजुक थियो ।

स्थानीय तहको पहिलो निर्वाचनमा धुलाम्मे सडकमा भोट माग्न हिड्दै गरेको अनुभव सुनाउँदै दाहालले भने– ‘त्यसबखत म जहाँ–जहाँ पुग्थे त्यहाँ पहिलो आवश्यकता सडक कालोपत्रे गर्नुप¥यो भन्ने हुन्थ्यो । त्यसैले सडक पूर्र्वाधारलाई पहिलो प्राथमिकतामा राख्यौं । यतिबेला केही ठूला परियोजनाबाहेक सडक संरचनामा हामीले राम्रै उन्नति गरेका छौं । बितेको पाँच वर्षमा ६२२ किलोमिटर कालोपत्रे गरिएको छ । ४५० किलोमिटर सडकस्तरीय ग्राभेल गरिएको छ । आगामी एक वर्षभित्र मुख्य सहरको सडक सौन्दर्य हेर्नलायक हुनेछ ।’
उनले आफुले गरेको विकासमा केन्द्र सरकार, प्रदेश सरकार र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको ठूलो सहयोग रहेकोसमेत बताए ।

संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ कि.मि. महानगरीय रिङ रोड आठ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ४०.५५ किलोमिटर चक्रपथ निर्माण भइसक्ने अवस्थामा छ । भरतपुर–मेघौली सडक जम्मा ३० मिनेटमै पुग्ने गरी पक्की सडक निर्माण भइसकेको छ ।

पुल्चोकदेखि गोन्द्राङसम्मको छ किलोमिटर सडक झण्डै दुई अर्ब रुपियाँको लागतमा हरियाली (व्यूटिफिकेशन) सहितको ६ लेनको बनाउने काम अन्तिम चरणमा पुगेको छ । बाइपास सडक चार लेन बनाउने काम एकाध महिनामा पूरा हुँदैछ । हुलाकी सडकको १९ कि.मि. विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाटको सहायक राजमार्ग खण्डको ८ कि.मि. सडकको काम पनि अन्तिम चरणमा छ ।

गौरवका आयोजनाको थालनी
पाँच वर्ष अगाडिसम्म राष्ट्रिय गौरवका ठूलो आयोजना भरतपुरवासीको कल्पनामा समेतमै थिएनन् । नारायणी नदीको तटबन्धन नाम मात्रको थियो । बालुवामा पानी खन्याए जस्तो । हिउँदमा बनायो बर्खामा छैनको अवस्था थियो । अहिले झण्डै छ अर्बको रुपियाँको लागतमा नारायणी नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ ।

निर्माणाधीन रिङरोडलाई पूर्णता दिने तयारी भइरहेको छ । भरतपुर विमानस्थल विस्तारको कार्य अगाडि बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको हाल रोकिएको काम शुरु गर्ने तयारी गरिएको छ । दुई हजार सिट क्षमताको सिटी हल निर्माणको काम छिट्टै सम्पन्न हुँदैछ । उज्यालो भरतपुर कार्यक्रम अगाडि बढाइएको छ । मुख्य राजमार्ग र सहरमा ट्राफिक लाइटिङको काम हुँदैछ ।

शैक्षिक सुधारमा सफलता
हिजोका दिनहरुमा सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण नगन्य थियो । संस्थागत विद्यालयमा विद्यार्थीको चाप थियो । तर बितेको चार पाँच वर्षको दौरानमा भरतपुर महानगरपालिकाभित्र सात हजारभन्दा बढी विद्यार्थी निजी अर्थात् संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालय जान थालेका छन् ।

शिक्षामा सुधार भएको छ । नमुना विद्यालयहरु स्थापना भएका छन् । शिक्षासँग सिकाइ जोडिएको छ । महानगरको पहलमा भरतपुरमा प्रहरी विद्यालय सञ्चालन शुरु भएको छ ।

‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयसँग सम्बद्ध स्थानीय पाठयक्रम महानगरपालिकाले लागू गरेको छ । महानगरले आफ्नो बजेटको झण्डै १५ प्रतिशत बजेट शिक्षामा खर्च गर्न शुरु गरेको छ ।

महानगरको शिक्षाको स्तर बढेको छ । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६.४७ प्रतिशतबाट वृद्धि भई २०७७ मा आइपुग्दा ६२ प्रतिशत पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रको कुल साक्षरता दर ९८.५ प्रतिशत रहेको छ ।

किसान लक्षित कार्यक्रमको सफलता
भरतपुर महानगरपालिकाले बितेको पाँच वर्षको अवधिमा थुप्रै किसानलक्षित कार्यक्रम सम्पन्न गरेको छ ।

किसानले उत्पादन गरेको दुधमा प्रति लिटर तीन रुपियाँ अनुदान दिन थालिएको छ । कृषिमा यान्त्रीकरणको लागि गरिएका कामले यहाँका किसानको कृषिप्रतिको आकर्षण वृद्धि भएको छ । बितेको पाँच वर्षको अवधिमा महानगर दुध, मासु र मत्स्यमा आत्मनिर्भर बनेको छ ।

यो अवधिमा तीन सय ५० वटा साना सिंचाइ र २१ वटा मझौला सिँचाइका सम्पन्न गरिएका छन् । ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिँचाइको सुनिश्चितता महानगरकै पहलमा सम्पन्न भएको छ ।

आन्तरिक आम्दानीमा वृद्धि
भरतपुर महानगरपालिका स्थापना हुँदाको बखत महानगरको आन्तरिक आम्दानी ४० करोड रुपियाँ मात्र थियो ।

जब कि महानगर बन्नको लागि आन्तरिक आम्दानी कम्तिमा पनि एक अर्ब हुनुपर्ने प्रावधान थियो । तर, यतिबेला महानगरले आफ्नो आन्तरिक आम्दानी एक अर्ब २५ करोड पुुर्याउन सफल भएको छ ।

सुकुम्बासीलाई लालपूर्जा
वर्षौंसम्म जमिनको स्वामित्व ग्रहण गर्न नपाएका सुकुम्वासीका लागि भरतपुर महानगरपालिका प्रमुखका रुपमा रेणु दाहालको उपस्थिति वरदान जस्तै भयो । उनकै कार्यकालमा सुकुम्वासीलाई भोट बैंकको रुपमा प्रयोग गर्ने परिपाटी अन्त्य भएको छ । भरतपुर महानगरपालिका २ का ४७ घरधुरीबाट शुरु भएको लालपूर्जा वितरणले समग्र चितवनमा भूमिहीनमा आशा पलाएको छ ।

भरतपुरबासीको आश
जसको भरोसा हुँन्छ त्यही प्रति मानिसको आशा जागृत हुन्छ । वितेको पाँच वर्षको अवधिमा भरतपुर महानगरले गरेको कामले यहाँको नेतृत्वप्रति आम नगरवासीको आशा पलाएको छ ।

वितेको पाँच वर्षको उपलब्धि र त्यस बखत शुरु गरिएका अधुरा काम पूरा गर्न रेणु दाहालको विकल्प सोच्न नसकिने आम नगरवासीहरु बताउँछन् ।

भरतपुर–२ आँपटारी सुकुम्वासी बस्तीकी रचना लामिछाने भन्छन्– ‘सुुकुम्वासी बस्तीको लागि रेणु दाहालको नेतृत्व अविस्मरणीय हुने देखिएको छ ।’ उनका अनुसार यसअघिका नगर प्रमुखहरु हुन् या संसद जसले पनि हुन्छ हुन्छ भन्दै त्यहाँका बासिन्दालाई झुलाउँदै राखेका थिए ।

‘रेणु दाहालको पहलले लालपूर्जा वितरणको शुरुआत भयो । सयौं माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ भने जस्तै हाम्रो लालपूर्जा पाउने बाटो खुल्यो भन्ने लाग्छ’ उनले भने ।

भरतपुर महानगर क्षेत्रमा पछिल्लो समय जे जति विकास निर्माणका काम शुरु भएका छन् । ती कामको जस पनि महानगरकी निवर्तमान प्रमुख रेणु दाहालकै हो ।

महानगरलाई देशको नमूना बनाउने उनको योजनालाई साकार पार्न पनि उनी फेरि नेतृत्वमा आउनुुपर्ने धारणा राख्छन् भरतपुर ८ का वडाध्यक्ष दामोदर न्यौपाने । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा जितेका न्यौपानेले विकासकी देवी भनेर सम्बोधन गरेका कारण उनलाई उनको पार्टीले स्पष्टिकरण समेत सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्