
काठमाडौं । नेपाल वायुसेवा निगमका निलम्वित अध्यक्ष युवराज अधिकारीको गतिविधि शंकास्पद देखिन्छ । अधिकारीको गतिविधि सुक्ष्म ढंगले अनुसन्धान गर्दा उनी खुंखार जासुस हुन् भन्ने कुरा पुष्टि हुन्छ ।
समाचार स्रोतका अनुसार अधिकारीले आफ्नै विभागीय मन्त्री, सचिव, बोर्डका सदस्यहरुसँग भएको गोप्य कुराकानीलाई उनले आफ्नो मोबाइलमा रेकर्ड गरेर ‘सेभ’ गरेको भेटिएको छ । त्यति मात्र होइन ‘फेसबुक म्यासेन्जर’बाट उनले निगमका एक जना महिला कर्मचारीलाई राति राति ‘च्याट’ गरेर यौन दुव्र्यवहार गरेको कुरा समेत उनले आफ्नो मोबाइलमा ‘सेभ’ गरेका छन् ।
स्रोतका अनुसार तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले कब्जामा लिएको उनको मोबाइलमा विभिन्न देशमा रहेको निगमको जिएसए, विमान मर्मत गर्ने कम्पनीहरुका साथै तिनको लोकल एजेन्टसँग गरेको कुराकानी पनि ‘रेकर्ड’ गरेको देखिन्छ । सो स्रोतका अनुसार उनको मोबाइलमा रेकर्ड भएको कुराहरु सार्वजनिक हुने हो भने धेरैको भण्डाफोर हुनेछ ।
नेपालको मुलुकी देवानी (संहिता) ऐन २०७४ भाग १ ले नागरिक अधिकारसम्बन्धी परिच्छेदले कसैको बोली, ध्वनि टेप रेकर्ड गरेमा त्यसलाई अपराध भनिएको छ । देवानी ऐनले प्रतिबन्ध गरेका कुराहरु उनले के प्रयोजनका लागि रकेर्ड गरिएको हो भन्ने खुल्न सकेको छैन । निगम कर्मचारी स्रोतका अनुसार अधिकारीले धेरै वर्ष अगाडिदेखि यस्तो क्रियाकलाप गर्दै आएका छन् । ‘कल रेकर्ड’ गरेर कर्मचारीहरुसँग ‘ब्ल्याकमेल’ गर्ने उनको पुरानो बानी हो । यो बानीले उनी अहिले आफैँ समस्यामा परेका छन् ।
तत्कालीन पर्यटनमन्त्री आलेको कब्जामा रहेको उनको मोबाइल छानबिन समितिमार्फत संसद्मा बुझाउने तयारी आलेले गरेको स्रोतले बताएको छ । उनको मोबाइल संसद्मा पेश भइसकेपछि केही समाजवादी पार्टीका नेताहरु पनि नांगिने उक्त स्रोतको दाबी छ । उनले रेकर्ड गरेको कुरामा उनको नियुक्तिमा पाइलट उद्धव घिमिरेसँग धेरैपटक संवाद भएको छ । उनले घिमिरेमार्फत मन्त्रीलगायत समाजवादीका नेताहरुलाई प्रलोभन दिएको कुरा उनको मोबाइल रेकर्डबाट स्पष्ट हुन्छ ।
सो स्रोतका अनुसार निगममा कार्यकारी अध्यक्ष नियुक्तिका लागि उनले चाहार्ने गरेको ठाउँ कुठाउँको ‘रेकर्ड’ पनि उनले गरेका छन् । त्यसमा उनले आफू नियुक्त हुन समाजवादीका नेताहरुलाई प्रलोभन दिएको कुरासमेत ‘रकेर्ड’ गरेको पाइएको छ । त्यसैले यो गम्भीर विषय बनेको छ ।
सूत्रका अनुसार डिमप्रकाश पौडेल, मदन खरेललाई हटाउन उनले सुवास डाँगीलगायतका कर्मचारीहरुलाई उचालेको संवाद पनि उनको मोबाइलमा सुरक्षित छ । कर्मचारी नेता डाँगीसँग उनको निकट सम्बन्ध भएको ‘कल डिटेल’बाट पनि स्पष्ट हुन्छ ।











