
काठमाडौं । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।
उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् ।
आमाको बिहीबार बिहान करिब चार बजे निधन भएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न नाम दर्ता गराएका उनी चुनावी अभियानमै व्यस्त रहँदा यस्तो खबर पाएको जानकारी गराए। साथै उनले आज, भोलि र पर्सि रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन नसक्ने समेत जानकारी गराएका छन्।












