काठमाडौं । लुम्बिनी विकास बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन पारित गरी आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै शेयरधनी महानुभावहरुलाई ९ प्रतिशत नगद लाभांश र तीन प्रतिशत बोनस शेयरसहित १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविणकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न १५औं वार्षिक साधारणसभामा आव २०७८/७९ को वार्षिक प्रतिवेदनउपर प्रत्यक्ष सहभागी भएका शेयरधनीले राखेका जिज्ञासाको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले स्पष्ट पारेका थिए ।
साथै, १५औँ वार्षिक साधारणसभाले नयाँ सञ्चालक समितिको निर्विरोध चयन गरेको छ । जसमा संस्थापक शेयरधनीहरु (समूह क) को तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविणकृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु (समूह ख)को तर्फबाट गणेशराज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकका विभिन्न स्थानमा गरी जम्मा ८८ वटा शाखा कार्यालय र एक एक्सटेन्सन काउण्टर स्थापना भएको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि दश गुणासम्म गर्न मिल्नेसमेत विशेष योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।












