काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभई आजै बैंकको सञ्चालक समितिको २८०औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त हुनुभएका वहाँलाई मिति २०७९ पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ क्षेत्रमा लामो कार्यानुभव सँगालेका छन् । अध्यक्ष सिटौला नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका थिए । उनले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए ।
उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ सेवा प्रवाह गरिरहेको कृषि विकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो । उक्त अवधिमा नेपालका वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको कार्यसमितिमा रही कार्य गरेका थिए ।
अध्यक्ष सिटौलाले बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर कार्य गरिसकेका छन् । यसअघि प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा रही सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
नेपालको बैंकिङ क्षेत्रमा लामो समयसम्म कार्यरत रहेर बैंकिङ जगत्का विविध क्षेत्रमा अनुभव हासिल गरेका सिटौलाको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक लिमिटेड, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय हो । अध्यक्ष सिटौलाको सबल नेतृत्वबाट प्रभु बैंकको व्यापार व्यवासाय अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।












