Logo
Logo

ज्यान मुद्दाका अभियुक्त एमाले सांसदलाई कानुन लाग्दैन ?


1.8k
Shares

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद लक्ष्मी महतो कर्तव्य ज्यान मुद्दाका अभियुक्त हुन् । पुर्पक्षका लागि थुनामा राखिनुपर्ने यी सांसदलाई संसद भवनभित्रै सपथ खुवाई सकिएको छ । महतो कर्तव्य ज्यान मुद्दामा नेपाल प्रहरीको फरार सूचीमा छन् ।

२०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई हत्या गरेको अभियोगमा महतोविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा छ । शुरुमा धनुषा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतको आदेशअनुसार १ लाख रुपैयाँ धरौटी राखेर तारेखमा रहेका महतोविरुद्ध जिल्ला सरकारी वकीलको कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालतले धरौटी रकम अस्विकार गर्दै थुनामै राखेर मुद्दाको कारबाही गर्न आदेश दिएको छ ।

नेपाल प्रहरीको छानबिन प्रतिवेदनले थमन विक हत्या प्रकरणमा महतोलाई मुख्य योजनाकारका रुपमा किटान गरेको छ । महोत्तरी गौशालाका महतो जनता समाजवादी पार्टी (जसपा) त्यागेर चुनावको मुखमा एमाले प्रवेश गरेका थिए । उनलाई एमालेले महोत्तरी क्षेत्र नम्वर १ बाट उम्मेदवार बनाएको थियो ।

उच्च अदालतको आदेशलाई गुमराहमा राखेर महतो उम्मेदवार बनेका थिए । चुनावमा माओवादी नेता गिरिराजमणी पोखरेललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । प्रतिनिधि सभा निर्वाचनमा समेत महतोले वारेसमार्फत् उम्मेदवारी दिएका थिए । निर्वाचित भएपछि पनि वारेसमार्फत् नै प्रमाणपत्र बुझेका थिए ।

मधेस आन्दोलनको नाममा २०७२ साल भदौ २५ गते थमन विकको बर्बरतापूर्वक हत्या भएको थियो । सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत विक मधेसी मोर्चाका कार्यकर्ताले निकालेको जुलुसका क्रममा सुरक्षामा खटिएका थिए ।

सोहीक्रममा विकलाई नियन्त्रणमा लिएर लाठी, ढुंगा, इटाले हानेर विकलाई गम्भीर घाइते बनाइएको थियो । घाइते विकलाई प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेका थिए ।

तर, त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पतालको एम्बुलेन्समा जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा महोत्तरी–८ सनोखडाको धान खेतमा आन्दोलनकारीले विकलाई घाइते अवस्थामै एम्बुलेन्सबाटै थुतेर पुनः निर्मम ढंगले आक्रमण गरेका थिए । कुटपिटका कारण वेहोस बनेका विकको घटनास्थलमै ज्यान गएको थियो ।

महतोले संसदमा पद तथा गोपनीयताको शपथ लिएपछि कानुनी र नैतिक दुबै हिसावले प्रश्न उठेको छ । हत्या अभियोगमा फरार सूचीमा रहेका महतोलाई सपथ खुवाउन नहुने भन्दै पीडित पक्ष, प्रहरी र मानवअधिकारवादीले प्रश्न उठाएका थिए ।

तर, उनी संलग्न दल र सपथ खुवाउने प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर राणाको कानबतास लागेन । महतोको सपथका कारण यतिवेला कानुनी राजमा राजनीतिको अपराधीकरण हुन थालेको भन्दै सबैतिरबाट आवाज उठिरहेको छ ।

यो हत्या प्रकरण अन्तर्राष्ट्रिय रुपमै मानवताविरुद्धको अपराधमा दर्ज भएको छ । उच्च अदालत जनकपुरले २०७७ साल मंसिर १९ गते पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो ।

२०७७ मंसिर १९ गते उच्च अदालत जनकपुरका तत्कालिन न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासबाट भएको आदेशमा लेखिएको छ, ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नू ।’ महतोका नाममा उच्च अदालतले पक्राउ गरी हाजिर गराउन पूर्जीसमेत जारी गरिएका व्यक्तिसमेत हुन् ।

उनी हालसम्म अदालतको सम्पर्कमा नगएको जनाइएको छ । स्मरण रहोस्, उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका एमाले सांसद महतो संविधान दिवसको अवसरमा प्रबल जनसेवाश्रीबाट विभुषितसमेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्