काठमाडौं । काठमाडौंमा लोकप्रिय बनेको हिमालय जाभा रेष्टुरेन्टको ठगीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । नियमविपरीत उसले १० प्रतिशत सेवा शुल्क लिएको विषयमा उजुरी परेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सो रेष्टुरेन्टमाथि छानबिन थालेको छ । विभागले पटक पटक सूचना निकाली मेनुमा सेवाशुल्क नजोड्न निर्देशन दिदै आएको छ । त्यसपछि धेरै रेष्टुरेन्टले सेवाशुल्क जोड्दैनन् । तर, जाभा लगायत काठमाडौंका केही ठूला रेष्टुरेन्टले भने सेवाशुल्क असुलेर ग्राहकलाई ठगी गर्दै आएका छन् ।
विभागले बिना दबाब छानबिन गरेमा सो रेष्टुरेन्ट कारबाहीमा पर्ने निश्चित छ । तर, विभागका कर्मचारीले ठूला रेष्टुरेन्टलाई तर्साउने तर कारबाही नगरी फाइदा लिने गरेको आरोप लाग्दै आएको छ ।
रेष्टुरेन्टमा कार्यरत कर्मचारीको नाममा यस्तो सेवा शुल्क लिने गरिएको छ । सर्वाेच्च अदालतले पनि यसलाई अवैध भनेको छ । यसरी असुलिएको सेवाशुल्क कर्मचारीले पाउने सिष्टम पनि छैन । तोकेअनुसार तबल मात्र उनीहरुले पाउँछन् । यसरी अवैध रुपमा सेवाशुल्क असुलीको कारण काठमाडौंका केही ठूला रेष्टुरेन्ट बदनाम छन् ।











