विराटनगर । सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री दाबी पेस गरेका नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने बताएका छन् ।
बिहीबार मुख्यमन्त्रीको दाबी पेस गरेपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै संवैधानिक र कानुनी हिसाबले परामर्श गरेर निकास निकाल्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘दुवै पक्षले बहुमत पुर्याएर पेस गरेको स्थिति छ । निकासको निम्ति केही न केही उपाय निकास निस्केला । संवैधानिक र कानुनी हिसाबले प्रदेश प्रमुखले आवश्यक परामर्श गरेर निकास निकाल्ने प्रदेश प्रमुखको हातको कुरा हो ।’
विश्वासिलो आधारमा निकास निकाल्न केही कठिनाइ नभएको पनि बताए । नेता आङ्बोले राजनीति हिसाबले गठन्धनमा जुन असमझदारी देखिएको छ, त्यसलाई केन्द्रीय नेताहरुले निकास निकाल्ने विश्वास व्यक्त गरे ।
उनले संवैधानिक हिसाबले यसको व्यवस्था र नियुक्ति के हुन्छ ? त्यसको समय लिएर अध्ययन गर्न, कानुनविद र संवैधानिकविदसँग परामर्श निकास दिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।














