
– समाजमा किन निराशा छाएको छ ?
– दिनहुँ युवा पलायन किन बढ्दो छ ?
– त्यसको प्रमुख कारण के के हुन् ?
यी प्रश्नको जवाफ खोज्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म यात्रा सम्पन्न गरेको छ । यात्राको क्रममा यी प्रश्नको जवाफ एमालेले भेट्यो कि भेटेन त्यो त थाहा भएन । तर, यी प्रश्नको एउटै उत्तर पुस ५ गतेको संसद् विघटन हो ।
हामीले विगतका कुराहरुलाई छिट्टै बिर्सने गर्छौं । विगतमा भएका राम्रा नराम्रा कुराहरुको समीक्षा नगरी हामी अगाडि बढ्न सक्दैनौं । जबसम्म हामीले गरेका कमी कमजोरीहरुलाई सच्याउन सक्दैनौं, तबसम्म समाजमा निराशा बढ्ने मात्र होइन, त्यो निराशाले अराजकता पनि जन्माउँछ । अहिले समाजमा युवापुस्ता सबैभन्दा बढी निराश छन् । त्यसको प्रमुख कारण भनेको रोजगारी नै हो ।
रोजगारीको लागि विदेशिने युवा दुई प्रकारका छन् । पढेलेखेका युवा युरोप, अष्ट्रेलिया, क्यानडा, अमेरिका पलायन भइरहेका छन् भने, गाउँमा गरिबीको चपेटामा परेका युवापुस्ता खाडी, मलेसिया जान बाध्य छन् । देशमा रोजगारीको अवसर नपाउँदासम्म यो क्रम जारी हुनेछ ।
पुस ५ गतेको घटना संविधान समाप्त पार्ने र दुर्घटना निम्त्याउनका लागि थियो भन्ने कुरा आम जनताले नबुझेसम्म नेपालको राजनीतिले बाटो बिराइरहने छ । जनता किन निराश छन् ? ओलीले त्यसको कारण आफैँभित्र खोज्नुपर्छ ।
रोजगारीका लागि उद्योगधन्दा, कलकारखाना खोल्नुपर्छ । भएका उद्योगहरु पनि धमाधम बन्द हुने अवस्थामा पुगेका छन् । अर्थतन्त्रमा आएको मन्दीका कारण मध्यमवर्गीय परिवारलाई समेत हातमुख जोड्न धौधौ पर्न थालेको छ । आफैँले उत्पादन गर्न सकिने वस्तुहरु समेत आयात गर्नुपर्ने अवस्था छ । जसका कारण व्यापारघाटा चुलिँदो छ ।
रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । भ्रष्टाचार दिन दुगुना रात चौगुना बढेको छ । सुशासनको ठाउँ कुशासनले ओगटेको छ । हरेक पार्टीका ठूला नेताहरु कुनै न कुनै काण्डमा जोडिएका छन् । धार्मिक हिंसा, जातीय द्वन्द्वको खतरा बढेको छ ।
यी सबै समस्याको प्रमुख कारण एमाले अध्यक्ष केपी शर्मा ओली हुन् । उनले संसद् विघटन नगरेको भए एमालेको घोषणापत्रअनुसार आजसम्म प्रतिव्यक्ति आय दोब्बर, पाँच हजार मेगावाट विद्युत् उत्पादन, रोजगारीको लागि विदेश जाने बाध्यताको अन्त्य, आधारभूत शिक्षा निःशुल्क, काठमाडौं–मधेस फास्टट्रयाक निर्माण, कृषि उत्पादन दोब्बर, मेची–काली विद्युतीय रेल, केरुङ–काठमाडौं पोखरा लुम्बिनी रेल र कोलकातासम्म पानीजहाज पुगिसक्थ्यो । त्यति मात्र होइन, घरघरमा खाना पकाउने ग्यास पनि पुगिसक्थ्यो । तर, ओलीको साढे तीन वर्ष हावामा बित्यो ।
माओवादीसँग एकता गरेपछि नेपाली जनताले २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टीलाई झण्डै दुईतिहाइ मत दिएका थिए । नेपालको इतिहासमा यो काल भनेको कहिल्यै नफर्कने काल थियो । तर त्यसलाई सदुरुपयोग नगर्दा एमाले घर न घाटको बन्यो
एमालेकै कारण कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो । अब पनि कम्युनिष्ट पार्टीहरू मिल्न नसके मेची–काली त के पृथ्वी परिक्रमा गरे पनि कम्युनिष्टहरूले बहुमत ल्याउन सक्दैनन् । मानिसलाई एकपटक मुर्ख बनाउन सकिन्छ, पटक–पटक सकिँदैन । एमाले अध्यक्ष ओलीले विगतमा जनतासामु आकाशको तारा झार्ने गजेडीगफ दिएकै कारण मुलुक र जनताले यो निराशा र सास्ती खेप्नुपरेको यथार्थ हो ।
कम्युनिष्टहरु इमान्दार हुन्छन् । कम्युनिष्टहरुले घुस खाँदैनन्, भ्रष्टाचार गर्दैनन् । कम्युनिष्ट भनेका गरिब श्रमजीवी जनताका पक्षधर हुन् । कम्युनिष्टहरु राष्ट्रवादी हुन्छन् । आदि,इत्यादि छाप आम जनतामा परेकोले कम्युनिष्ट पार्टीलाई जनताले दुईतिहाइ मत दिएका थिए । यदि, एमाले नेतृत्व आफैँप्रति इमान्दार भइदिएको भए कम्युनिष्ट पार्टीको यो हालत हुने थिएन । देशमा पुनः प्रतिगामी, पुनरउत्र्थानवादीहरुले टाउको उठाउने मौका पाउने थिएन ।
दुर्भाग्य, त्यही एमालेले विगतको निर्वाचनमा प्रतिगामी र पुनरउत्र्थानवादी पार्टीसँग सहकार्य गर्यो । यसको मतलब पुस ५ गतेको घटना संविधान समाप्त पार्ने र दुर्घटना निम्त्याउनका लागि थियो भन्ने कुरा आम जनताले नबुझेसम्म नेपालको राजनीतिले बाटो बिराइरहने छ । जनता किन निराश छन् ? ओलीले त्यसको कारण आफैँभित्र खोज्नुपर्छ ।















